रूपेशका नेपाली कविताहरू

5/20/2011

बिथोलिएको गाउँ!

Little knowledge is a dangerous thing

सल्याङमल्याङ-सल्याङमल्याङ
सल्बलाइरहेको छ गाउँ।
मोबाइलको रिङ्ग
बज्छ। यूथहरू आक्रोशित हुन्छन्।
बुझिएन, खाँटी कुरा के हो?
बारीमा फार्टिलाइजर
घोल्दैगरेको पाराङ। अचानक
महामहिमलाई भेट्नुछ, भन्छ।
हस्याङफस्याङ हुँदै
टोक्री बोकेर कमान हिँड़्न लागेकी माइपाराङ,
काम्दारीलाइ फोनमा भन्छे;
आज मेलोमा नआउने, होम्रो जुलुस छ।
सात क्लास पढ़्दा-पढ़्दै
छोड़ेकी माइचाङ, बिघामा
जान पाइनँ भन्दै कोहोलो मचाउछे।
माथ्लो घरको
वाङा, कसको कुरा सुनेछ;
पार्टी गर्न तम्सिरहेको छ। जसको
सिङ छैन उसैको नाम तिखे भनेजस्तो।
छेमा सम्झाउँछे। तर खम्बुको
बुद्धि बाह्र बजे राती नै आउँछ। उसलाई पनि नोटिस आएको छ रे..!
सम्धीको सेलमा म्यासेज आयो...
[तिमी सबै केटाहरूलाई र्‍याडी बनाएर राख,
म यहाँबाट पनि पठाइदिन्छु। यूथहरूलाई कुरा राम्रो सम्झाउनु
यताउता नहोस्, यसपालि चैँ जोरतोड़ जवाफ दिनु पर्छ..] आन्नन् नाम्बर।
झोँकमा सम्धीको राजनीति टुप्पीबाट सल्बलायो...
कुनाबाट तुक्का सुनियो- यो गाउँमा बड़ाइ, तल्लो गाउँमा लड़ाइ र पल्लो गाउँमा पढ़ाइ
गाउँलाई सोध!

बैँस

हिउँदले कक्रिएका झार जङ्गल
र गाउँका गमलामा उम्रँदै गरेका लालुपाते,
शिशिरपछिका बसन्तमा पाक्न थालेका
सिजन फ्लावरहरू कति शोभनीय छ
तिमी चड़्दै गरेको बैँसमा।
कञ्चन्जङ्घाको सिरेटोले
टक्सिएका गुराँसका परिकार,
चाँप, चिमल र डाँड़ाका भवनहरूमा
लालि खेल्दै गरेका हाइब्रिड मेप्पलहरू आकर्सनीय छन्
तिमी चड़्दै गरेको बैँसमा।
पैयुँमा चड़ेको बैँस
जावाकुसुममा चड़ेको बैँस
गाउँभरि नै आरुबगड़ामा चड़ेको बैँस,
पारी कफेरको डाँड़ाबाट फाटेको रविको स्फूर्तिले
स्पर्श गर्दैगरेको मेरो गाउँ
कति लोभनीय छ तिमी चड़्दै गरेको बैँसमा।
तिमी चड़्दै गरेको बैँसमा
कति आकुल छन् नसाहरू
कति व्याकुल छन् दसाहरू
स्निग्ध प्रेम रोमाञ्च हुनलाई
म झर्दै गरेको बैँसमा। एकपाली रमाउनलाई
तिमी चड़दै गरेको बैँसमा।

व्याकरणका पन्नाबाट च्यातिएका शब्दहरू

मुसुमुसु हाँस्दै
हुरुरुरु बलेको शब्द वाक्यमा बस्न आयो। छुच्चा वाक्य,
पानी भएर निभाउन खोज्यो। तर शर्नार्थी वाक्यहरू
त्यसै पनि शर्नार्थी हुन्। बस्न दियो आफु अर्थपूर्ण हुनलाई।
व्याकरणका पन्नाबाट च्यातिए शब्दहरू
विन्यासका श्रृङ्खलाबाट छरपस्टिएका वर्णहरू
धुमधाम जुलुस लगाउछन् क्रिड़ा मैदानमा।
वर्ण-वर्ण, शब्द-शब्द, वाक्य-वाक्य कराउँदै जुलुसहरू
विद्यार्थीहरूलाई राजनीतिकरण नगर...भन्छन्।
वर्णहरू आफ्नै देशमा अलपत्र छन्। सबाल्टर्न भएर।
वर्णहरूको बिजोक छ। शब्दहरूले खेलाएर। खेलाउन पनि कत्ति खएलाएको
फ्रायडलाई पनि लाज लाग्यो होला। शिवशुत्रको कुराले। तिमी उत्तेजित छौ।
च्यातिएका शब्दहरूसँग क्रिड़ा गर्ने तिमी वैयाकरण, वर्णहरूको अस्तित्व
विदेशी भ्याकसिनले हराउला जस्तो छ हाम्रै देशमा। हाम्रै दिमागमा बलात्कार
भइसकेका छन् वर्णहरू वाक्यको वारीमा।
व्याकरण पसलमा हेर त! वैयाकरणहरू विरोधाभास छन्। देशी भनौँ या त
इम्पोर्टेड, परिवार नियोजनमा विकारी अविकारीहरूसमेत अझै पनि अनयौल छन्।
रूप आधार साइनो केलाउँदै हेर। सम्बन्धहरू साह्रै गाँजेमाजे छन्।
फलाना यस्ता रे... ढिस्क त्यस्ता रे... स्पष्ट भएन त, के भो?
हाम्रै घरका कुरा हो, हामी मिलाउँन। हुँदैन र?
विकसित देशका वर्णहरू सर्वत्रै डुलेका छन्। अविकसित
देशका वर्णहरू शब्द, वाक्य हुनुभन्दा पहिला नै रित्तिला जस्तो।
निन्याउरो अनुहार लिएर न्याय खोजिरहन्छ स्तापित र सिकारुका चपेटमा।
सुपारी कसले लिएको छ। रेड आलर्ट एरियाको
भित्र बस्ने सौदागरजस्तो मनमोजीमा अघाउनु पर्ने/भोकाउनु पर्ने।
आफुलाइ दाउमा हालेर कहिले खुट्टा काट्नु पर्ने, कहिले मुन्टो उड़ाउनु
पर्ने। कहिले बैठक उड़ाउनु पर्ने। अब यस्तो पनि हुन्छ होला
पेट काटेर छरितो/सुहाउँदो भएर बस्न पर्ने।
अनि त अर्थहरू अन्यौलमा परेर आफ्नै मलामी जान्छन् होला
च्यातिएका शब्दहरूलाई जिस्क्याउँदै ध्वनि मामाको घरमा।
पराधीन छन् वाक्यहरू। च्यातिएका शब्दहरूले के अर्थ बोक्लान्।
आफ्नै देशमा आफै विदेशी। वाक्यहरू पनि च्यातिएका छन्।
अर्थहरू पनि फुटेका छन्। वर्णहरू विचरा कसले न्याय दिने?
तिमी यो वर्गको, तिमी त्यो वर्गको।
तिम्रा यस्ता सहुलियत, उसका त्यस्ता सहुलियत।
चुहुने बनाइसकेका छन् शब्दभण्डार। अनर्थ बनाइसकेका छन् अर्थभण्डार।
वर्णहरू मर्दैछन्। च्यातिएका शब्दहरूसँग ध्वनि मामाको घरमा।
क्रिया यस्तै हो घरि वाक्यको शीरबाट घरि खुट्टाबाट। घरि नाभीबाट
वाक्यको मैथुन गरिरहन्छ। स्खलित भावहरूसँगै पक्षको पनि
च्यातिएका शब्दहरूमा, के अर्थ हुन सक्लान्?
व्यकरणका पन्नाबाट च्यतिएका शब्दहरू
बारम्बार बलात्कार गर्छन् वर्णको, मान्चित्रमा सम्झौता गरेर
भन्छ अस्तित्वको कुरा छ।
छाड़िदेउ अस्तित्वका कुरा घूषखोरहरू!
छाड़िदेउ मानकिकरणका कुरा द्विमुखाहरू!
ओसिएको क्रान्तिले हरेक वर्णको अस्तित्व जोगिँदैन।
ओसिएको क्रान्तिले हरेक जातिको अस्मिता जोगिँदैन।
क्रान्तिले त आमूल परिवर्तन ल्याउनु पर्छ। जसले
आलेचना गर्दा पनि सम्पूर्ण त्याग्न परोस्। जातिको। भाषाको।

गाउँ विनिर्माण र तिमी

फेसबुकमा तिमी कति चार्मिङ’

कति सारो कामेन्ट पनि आएको...

स्टाटसको नयाँ आप्डेट्स्मा...

फ्रेन्ड्स्हरू पनि थुप्रै रहेछन्...

फेसबुक च्याटमा लेख्दैछु। ...:-) उत्तर आउँछ।

झलस्स, गाउँ याद आयो अनि ऊ पनि, प्यालप्याल

सिङान झार्दै इत्रिएको। भर्खर बैँसमा खेल्दै गरेकी।

फेरि प्रतिउत्तरमा लेख्छु...

तिमी गाउँ नजाने ? गाउँमा सबै कुरिरहेका होलान्

तिमी नहुनुको अभावमा, सबै सोँचिरहेका होलाऩ् तिमी हुनुको

जटिल्तामा।

उफ्... कस्तो सिल्ली कुरा गरेको। :-( उत्तर। केको अभाव, केको जटिल्ता?

छाड़्द्‍यौ गाउँ साउँ... रियल लाइफ त यहाँ छ। सोचुँला।

फेरि जिस्क्याउँछु...

अनि तिम्रा आमा...बाबा...

(प्रिया इज आफ्लाइन, मेसेज यू सेन्ड विल बि डेलिवर्ड व्हेन प्रिया काम्स् आन्लाइन)

ओह... शिट! यति नै बेला...आफ्लाइन

धेरै कुरा गर्नु छ, बेसिकल्ली प्राइवेट।

लेट्स गो फ्रेन...

फ्रेन, अँ लिसन, मेसेज बाक्स्‍मा पठान... प्राइवेट कुरा। भइहाल्छ।

येस गुड आइडिया...

लेख्न थाल्छु..

[प्रिया, तिमी जति सभ्य बन्दैछौ उतिनै गाउँ असभ्य बन्दैछ।

गाउँलाई तिम्रो खाँचो छ, तिमीजस्ती पढ़ेकी अति आवश्यक छ।

यहाँ एड्भान्स क्लिनिक जरूरत छ, एड्भान्स एडुकेसन चाहिएको छ।

एड्भान्स डेभ्लापम्यान्ट चाहिएको छ। यहाँ इकुराहरूको खाँचो छ।

धेरै साइबरको जरूरत छ, ‘-गाउँको खाँचो छ, अर्थात्

गाउँको विनिर्माण चाहिएको छ।

साँच्चै तिमी जति सभ्य बन्दैछौ त्यत्ति नै गाउँ असभ्य बन्दैछ। जसरी

तिमाले ढिँड़ो खाँदाको कुराहरू सायद पिज्जा ख्वाइले बिर्सिँदैछ्यौ,

प्रत्येक गाँसहरूमा परिकारले तिमी बद्लिँदैछ्यौ होला,

तर तिमीलाई ती भन्दा बढ़ी परिवारको स्नेह, गाउँको आदर्श महङ्गो पर्नेछ]

(मेसेज ह्याज बिन सेन्ट....)

येस मेसेज सेन्ट भयो

तर

औ फ्रेन... प्रिया त राक्किङ छे... बुझ्ला...?

काम्पनी, टाक्टाइम मेरो गाउँ

[एक्ससाइटिङ्ग रिचार्ज @११०! गेट

टाक्टाइम आफ् रू.११५(रू.५एक्सट्रा टाक्टाइम

क्रेडिट इन ४८आवर्स), टाक्टाइम व्यालिडिटी ३०डेज.]

एस. एम. एस. अलर्ट टोनले गाउँलाई सूचित गर्यो।

सुक्खा रोटी र फिका चिया खाएर जङ्गल हिँड़्न लागेको

गाउँ सल्बलायो। हिजाज साह्रै सुबिस्ता भएको छ मोबाइलले।

ऊ र मोबाइल सँगसँगै हिँड़्छ/डुल्छ। जङ्गलदेखि लिएर सहर, बजारसम्म।

ल्याण्डलाइन त बोकेर हिँड्न सकिँदैन तर ह्याण्डसेट गजबको छ।

बेला-बेलाको आफर गाउँलाई रमट लाग्छ। जेजस्तो भएपनि उसले प्रिती लगाएको छ।

टाढ़ाकै किन नहोस्! आमेजिङ्ग आफर! उसको माया नजिकै भएको भान हुन्छ।

पाँच, दस, पन्ध्र, बीस मिलाइ-मिलाइ रिचार्ज

वाउचर बनाइदिएको छ। सस्तो मोबाइल र लाटो गाउँ। खुब मिलेको छ

रिटिएलर, डिएलर र खुज्रा मेरो गाउँ।

[रिचार्ज @३०, आउट गोइङ्ग काल् १८०० सेकेन्ड्स फ्री]

एस. एम. एस. यसरी नै तिम्रो साइकोलोजी

जाँचिरहन्छ। गाउँलाई ठगिरहन्छ। 'लाइफ्टाइम व्यालिडिटी'

इनकामिङ्ग काल्‍मा दिएर। कस्टामर केयर जगा-जगा

राखिएको छ। गाउँलाई चेक हिर्काउन।

गाउँपनि आतिएको छ। काल्ब्याक गर्नलाई

काम्पनीको चतुरे मिस्डकाल्मा अजानिदो पाराले। तर ब्यालेन्स

सिद्धिएको खबर आउँछ मोबाइलमै>>>सारी यू ह्याभ इनसाफिस्यान्ट ब्यालेन्स,

टु म्याक दिस काल् यू शुड रिजार्ज फार्स्ट, आप के आकाउन्ट मे अपर्याप्त ब्यालेन्स के कारण,

कृपया काल् कर्ने से पहेले आप्ना आकाउन्ट रिचार्ज किजिए<<<

मुर्मुरिन्छ गाउँ, हिजैमात्र फुल् टाक्टाइम हालेको

कसरी पैसा सकियो? कस्टामर केयरलाई डाइल गर्छ....

प्लिज रिचेक् द नम्बर... मोबाइल वाइस् काल्ले आग्र गर्छ

झन् फत्फताउँछ, गाउँ... साला चोर काम्पनी... रिसमा भनिपठाउँछ।

बल्ला-बल्ला लाग्यो काल्....

वेलकम टू द वोडाफोन् कस्टामर केयर सर्भिस्

टू टाक् इन इङ्गलिश डाइल 1, टू टाक् इन हिन्दी डाइल 2,

टू टाक् इन बाङ्गला डाइल 3... यस्तै-यस्तै भनेर झन् गाउँको दिमाग चाट्छ।

काम्पनीलाई यस्तो सबै थाहा भएको....

सुङ्गुरलाई चारो दिँदा, गाईलाई घाँस हाल्दा

खेतालाहरूसँग बारीमा काम गर्दासमेत मोबाइल बोक्छ भन्ने कुरा।

गजक्क छ गाउँ, अलिक फुर्ती पनि चड़ेको छ। मोबाइल हातमा लिएर।

कालरट्युन् सुनाउनलाई कसैको काल् पर्खिरहेको छ, तर थाहा छैन

गाउँलाई, कालरट्युन्ले व्यालेन्स खाएको।

काम्पनी, टाक्टाइम र मेरो गाउँको धन्धा

साह्रै गजबको छ, राजा, प्रजा र चम्चाजस्तो

लड़ाइरहेको, लड़िरहेको र चाप्लुसी गरिरहेको

कता-कताबाट मुनाफाहरू...