रूपेशका नेपाली कविताहरू

6/20/2011

जेन कविता

१. सबल्टार्न बामे सर्दै गरेको
खेतमा, डायसपोराले हात दिन्छ, डोऱ्याउनलाई।



२. तिमीले बिर्सँदै गरेको संस्कार
सयपत्रीले भोगिरहेछ, गाउँमा।


३. इतिहासमा के नै थियो र..
माछा किराले खायो भन्नु।


४. सार्वनामिक तिम्रो विचारमा
पड़्काउन मन लागिरहेको छ, भ्रमको गोला।



५. ढुङ्गा पुज्ने मेरा पूर्खा
म पनि ढुङ्गा पुजिरहेछु।


६. तिम्रो कथा लेख्न
अगावै तिमी कथा भएछौ।


७. छन्दको घरमा
अनुप्राशको नृत्य।


८. पुच्छर सोज्याउने
ढुङ्ग्रो आफै बाङ्गिएछ।



९. फूल टिपे पनि ओइलाउँछ
नटिपे पनि ओइलाउँछ।


१०. परिवर्तन तिमीमा होइन
तिम्रो मानषिक्तामा हुनुपर्छ।


११. कसैले रोज्न दिएका
रङ्गहरू, मैले रातै रोजिदिएँ।


१२. ईश्वरको घर
तिम्रो व्यवसाय।


१३. ढुङ्गाको विश्वास
मान्छेको अविश्वास।


१४. तिम्रो हँसाइले
प्रताड़ित छु, म।


१५. भित्ताको मर्म
पोस्टरलाई के थाहा?


१६. खुला छ डायास्पोरा
तिम्रो हाम्रो घर।


१७. प्रेमको घरमा
मायाको तानासाही।


१८. उसले खोजी निकाल्यो
मेरै घरको कुरा।


१९. हाम्रै झाँक्री बखान्छ
हजुरहरूका ऱ्याप गीतमा।


२०. गाउँ जाने बाटो
कुरिरहेको छ, विकासलाई।


२१. आज मैले भिन्नै सोचेको
आ...मा... भन्ने, पहिलो
व्यक्ति को होला?


२२. सकिएन दुःख जीवनको
मेटिएन लालच मनको।


२३. होसियार... शब्द
निस्क्यो मुखबाट,
म, पनि होसियारै छु।


२४. यी आँखा साह्रै
तृषित छन्, नयाँ बिहान हेर्नलाई।


२५. इतिहासले कोर्दै छ
मेरो घरको घरेटी।


२६. अनुहारबिहीन मानछे
अनुहार खोजिरहेछ, दर्पणमा।


२७. साबल्टर्नको खेतमा
सामन्तीको हलो।


२८. मान्छे सम्पन्न बन्दै जान्छ
कुकुरसँग आत्मीय बन्दै जान्छ।


२९. खोजिरहेछ उसले अनुहार,
आफ्नै घरको ऐनामा।


३०. नियमको पन्नामा
शरणार्थी अक्षरहरू।
आशा हराएको खबर...!

एक बिहान
मेरा मित्रले भनेका थिए-
‘कवितामा अटाउँदैन कमान, उपन्यास लेख्नपर्छ, उपन्यास।’

हिजो बिहान
दर्पणको अनुहारमा
‘आशा हराएको खबर’ले
मलाई त्यो बिहानको
स्मरण गराइरहेथ्यो।

जुन बिहान पूर्वबाट भानूले
ममताको चूल्हो, छिचोल्दै
गरेको। पावनको कामुक
स्पर्शले उत्साहित बन्दै गरेकी
आशा।

तितेपातीका दाउरामा,
ढिँड़ो हुँडँल्दै गरेकी आमालाई
आफ्नो इच्छा प्रकट गर्छे-
‘आमा, हामी पनि ग्यास चुला ल्याए... हुन्न?’

कति सानो प्रश्‍न, कति ठूलो प्रहार...
आमाको वाक्ये फुटेन। भित्रबाट भक्कानिएर
आएका पीड़ाका लेदाहरू
बल्झफ्ती थुकसँग भित्रै निली पठाएर...

भन्छे- ‘छोरी, तिम्रै आशा छ। तिम्रो पापा
पर्देश गएको खबरै छैन। म, एकमात्रको
कमान खर्च, जाउलो धान्नमै सकिन्छ।
‘कड़्सारा’बाट बाँचेको पैसा, तिमीलाई पढ़ाउनु छ।’

आशामा यस्ता इच्छा कयौँ छ्न्
आमामा यस्ता समस्या कयौँ छन्।
तर त्यहाँ
एउटा सम्झौता छ
एउटा वाध्यता, सन्तोक
गर्ने आदत पनि बसेको छ!

कमानलाई
अझै, पूर्वको भानूले
छिचोल्न सकेको छैन। शुखको बतासले
अङ्गाल्न सकेको छैन।

तर कुन बतासले अङ्गाल्दा
आशामा एक इच्छा कम भयो होला?
र आमामा एक समस्या ज्यादा।

म, सोँच्दै छु,
आज मलाई पनि
चित्त दुखेको छ, आमा प्रति।
चः चः चः चः

हो साथी...
‘कवितामा नअटाएर
अटाएको कमान, गरीबको एक
गाँसमा नअटाएर अटाएको कयौँ भोक होला।’ – मैले
भनेको थिएँ।








स्विट हार्ट!

ह्याल्लो डार्लिङ...
उम्वाँ... उम्वाँ... उम.....वाँ।
 
रवीले मोबाइलमै
आफ्नो इच्छा पुरा गर्‍यो।
अर्थात् मायाका कोसेली
टाढ़ामा रहेकी मायालुलाई।

छेउमा बस्नेहरूलाई
कताकता अप्ठ्यारो
लागेजस्तो एकार्कालाई हेरेर
मुसकुराए। अब समयले धेरै यात्रा
गरिसकेका छन्। लजाउँदैन समय। फ्र्याङ्क छ सम्बन्ध।

याहू म्यासेन्जरमा
च्याट हुन्छ। गुगाल टाक् हुन्छ।
लाइभ भिडियो च्याट हुन्छ। अनि
म पनि सुटुक्क क्याफेमा पसेर
एउटा क्राइम गर्छु।

मलाई पनि
स्विट हार्ट भन्न मन लाग्छ।
अङ्गालो दिएर डार्लिङ्ग!
भन्न मन लाग्छ। इङ्गलिश
फिल्ममा जस्तो हनी! भनेर
डाँको छोड़ुँ जस्तो लाग्छ।

तर मेरी प्रिये,
लजालु छे। टक... टक... टक...
क्याट वार्क। हुँदैन उसलाई। रोम्यान्टिक
कुरा आउँदैन उसलाई। एउटा मोबाइल
भए हुन्छ भन्छे। राती सुटुक्कै
स्विट हार्ट भन्नलाई। लाजै नमानी उम्.....वाँ गर्नलाई।
सुन गाउँवासी हो!

“असारमा पर्देश लाग्ने र श्री-पञ्चमी भूल्ने मान्छे काम लाग्दैन”

को हो नि?
यसो भन्ने। मलाई त
गजब लाग्छ उक्त कुरा।
रातको निद्रा
नपरे पनि “हुने विरूवाको चिल्लो पात
नहुने विरूवाको खस्रो पात”ले
झपक्कै छोपी हाल्छ।

सुन गाउँवासी हो!
“ग्यील्टी माइन्ड इज आल्वेज सस्पिस्योस”
भनेर पनि
तिम्रै व्यङ्ग्य गरेजस्तो
लाग्छ। त्यै कुरा तिमीलाई
धेरै वर्षदेखि बुझाउनु
चाहेको तर तिमीले
पढ़्नै छाड़ेछौ। कुरा बुझ्नै छाड़ेछौ।

सुन गाउँवासी हो!
तिम्रा बाले तिमीलाई
उखान सुनाउँछ सुनाउँदैन,
तिम्रा बाले तिमीलाई
तुक्का सुनाउँछ सुनाउँदैन। त्यो
भन्न सक्दिनँ तर मेरा पापाले
मलाई गाली पनि उखानैमा गर्नुहुन्छ।
माया पनि तुक्कामै गर्नुहुन्छ।
सुन गाउँवासी हो!
सायद तिम्रा बाजेका
उखानहरू ढुँड़ी पर्न थाल्यो होला,
तुक्काहरू झ्याउ पर्न थाल्यो होला।
यद्यपि तिमीले उक्त कुरा याद राख्नु
बुढ़ेसकालमा तिमीलाई अवश्य झोँक त चल्ला।