रूपेशका नेपाली कविताहरू

2/26/2012

रोम्यान्टिक फ्याक्ट

जवानीको कामुक्ता,
गाँजाले फुक्दै गरेको धुवा
सचेत समाजको कुनामा,
रुमलिरहेको साधु धारा।

कलकल आवाज आइरहेथ्यो।

छ्याप्छ्याप्ती नसाका
ठुटाहरू, मिउनिसिप्यालटीका कटेरा,
अनि सेतो रूमाल अज्ञान्ताको
पसिना दल्दै, बीजारोपन गर्दैगरेको
डिल पारिका फोगटामा, लाटो बस्ती।

मेनुको मुस्कान छचल्किरहेथ्यो।

सरररररर हावा,
कुत्कुत्याउँथ्यो स्पर्श
अभावहरूमा, लजाउथ्यो जवानी
अटेर संस्कारका चूल्हामा सोते बजाइरहेकी
ओठ, भयका कोठामा मायाका फप्लेटो
च्वाक्क बजार्थी कपोलमा।

हुरूरूरूरूरू सल्केथ्यो रूपेशको बस्ती

चिटचिट शङ्काहरू,
हलक्कै बढेको सम्बन्धमा
आनन्द र भयको खिचडी मस्काउने
ठेकेदार चुकुल लगाउँदै खुजरा समयका
फोक्टा पान प्याच्च-प्याच्च थुक्छ
साँघुरो गल्ली र गोरेटो!

प्रतिबन्ध, निषेधका जब कार्ड बाटोभरि!
ताल नमिलेको शब्द,
लाखेसका चिम्टा डुलाइ सङ्कोच,
सङ्कीर्ण चियाको प्याला कुरिरहेथ्यो
लाटो किराय घर।

आउँछ... जान्छ... आउँछ... जान्छ...!

अस्पष्ट फुटेको
बिब्ल्याँटो मेनुको,
अन्तकरण नपसेको इन्फेचुएसन समय
रूपेश सम्झिरहेछ।

प्रथम प्रेम-प्रमिका र परिभाषा!

डिस्पोजल लाइफ्...
नैतिक विज्ञानमा गोरेटो र दोबाटोको परिभाषा। रूपेशको जीवन शैली कुनै एउटा आधार हो। चः चः चः विचरा। ठिकै पऱ्यो। राम्रै भयो। हैन के हो? समाज विज्ञानको आचरण। निकोटिन नपुगेको वर्ण, पोलियो नहालेको अक्षर, फर्मामा बिग्रेको शब्द। लेप्रोसी चलेको समाज। प्रेम, माया, स्नेह, ममता, आनन्द, लेखिनै गाह्रो छ।

लेखिन्छ... मेटिन्छ... लेखिन्छ... मेटिन्छ...!

रोम्यान्टिक फ्याक्ट
ग्रिटिङ्स् कार्डहरूमा।

क्रान्ति

अब, कस्तो क्रान्ति चाहियो हँ?

प्रश्नै प्रश्न मात्र उम्लिरहन्छ
अरुवा उम्लने गाउँमा। सहरले
छ्वाइँय भुटुन हाल्यो राजमा दाल।

बास्ना चल्दैन गाउँमा
रुगाले प्याल-प्याल सिङान मात्र झारी बस्छ। गाउँ।

शून्यबाट करायो क्रान्ति,
गाउँको दक्षिणा हरायो। सयबाट उफ्र्यो क्रान्ति,
गाउँको अस्तित्व हरायो।

अब, कस्तो क्रान्ति चाहियो हँ?

गाउँलाई विश्वमा खोज्न पर्ने
या त विश्वलाई गाउँमा खोज्न पर्ने!

होइन कि... बरू
डक्युमेन्ट्री बनाएर गाउँलाई
अस्कर विजेता हुन पर्ने।

गाउँले विश्व जान्यो र...!

बरू... विश्वलाई पो
गाउँ जान्न देऊ। क्रान्तिले भाका फेरिहाल्छ नि...

चाहे यो सहरबाटै हिँड्न परोस्
या त गाउँबाटै... तर मेरो
प्रश्न भन्दा बेग्लै क्रान्ति होस्!

केवल शब्द, शब्द रहोस्...!!