रूपेशका नेपाली कविताहरू

4/29/2014

फोटो ग्यालरी
गाउँमा पहिले साना छँदा ठूलाहरूले राम्रो मार्गदर्शनको लागि भजन, किर्तन अनि सतसङ्गको आयोजना गर्ने गर्थे। त्यही मार्गदर्शनको फल हो यो। बाँयाबाट-रेजीना राई (मेरी दिदी), सेविका मगर(जो यस संसारबाट विदा लिइन्), सुमत गुरुङ अनि निरेन गुरुङ। कालिदासको नाटक प्रस्तुत गर्दै।

फोटो ग्यालरी
यो तस्बिर धेरै पुरानो हो। यो तस्बिरमा भएका मेरा गाउँका बुज्रुकहरू र बराजु हुन्। 
उनीहरूको नाम थाहा नभएर यस्तै लेखिएको छ, जसरी उनीहरूलाई गाउँमा बोलाउने गर्थे।
५८ दिवा-कमानले दिएको नाम, बराजु- म सानो हुँदा बित्नु भयो। उहाँलाई गाउँमा पियन बाजे भनेर पनि जानिने गर्थ्यो। टोकले बाजे-उहाँ धेरै पहिले टोकलबाट आएका हुनाले उहाँलाई यो नामले जानिन्थ्यो। अनि अन्तिम, ४७ दिवा- उहाँको पनि नाम कमनले दिएको हो। गाउँमा प्राय कमानमा काम गर्ने भएकाले यसरी कमनले दिएको नम्बर अनुसार बोलाउने चलन चल्ती भएको आफु भन्दा ठूलाहरूको नाम नै थाहा हुँदैन थियो। अनि फेरि अर्को कुरो प्राय जेठा, माहिला भनेर बोलाउने गर्नाले नाम थाहा हुन गाह्रो पर्थ्यो र अझै पनि पर्छ। यो एउटा शोधको विषय रहेको छ।

4/10/2014

फोटो ग्यालरी

फोटो ग्यालरी
प्राकृतिक भाषा प्रशोधन कार्यशालामा शब्दवर्ग छुट्ट्याउने प्रयास गर्दै विद्यार्थी एवं शिक्षकगण, सिक्किम विश्वविद्यालय, २०१३


विद्यार्थीवर्ग प्र. भा. प्र.  कार्यशालामा शब्दवर्ग छुट्ट्याउँदै, सिक्किम विश्वविद्यालय, २०१३


उपन्यासकार श्री कुशल छेत्री प्र. भा. प्र. कार्यशालामा दिवाभोज सेवन गर्न लागिरहेको तस्बिर, सिक्किम विश्वविद्यालय, २०१३


विद्यार्थीवर्ग दिवाभोज सेवन गर्नेको लागि अनुशासनबद्ध भइ पालो पर्खिरहेको तस्बिर



विद्यार्थीवर्ग र शिक्षकगण


शब्दवर्ग चिनित गर्न प्रयासरत विद्यार्थीवर्ग, सिक्किम विश्वविद्यालय, २०१३


अन्तिम दिनको कार्यक्रमपछि समूहमा तस्बिर लिँदै हामी, सिक्किम विश्वविद्यालय, २०१३


विश्वविद्यालयका प्राध्यापकगण र हामी भारतीय भाषा संस्थानका सदस्यहरू, सिक्किम विश्वविद्यालय, २०१३

4/08/2014

थुक्क ! सपना पनि


लघु कथा

‘एम ए सकिएको ठीक एक वर्ष भएछ।’ कर्मले पारी क्षीतिजतिर हेर्दै प्रयासलाई भन्यो। ‘हो, त्यही एक वर्षको पर्खाइमा हामीले केके झेल्यौँ। केके भोग्यौँ साह्रै मर्मभेदी र पीडादायक छन्। समय कस्तो जटील भइसकेछ, आहा!’ दुवैजना बात गर्दै आज हुने इन्टरभ्युको लागि विप्लवलाई पर्खिरहेछन्।
समय धेरै भइसक्यो विप्लव आइपुगेको छैन। खुब आनन्दसँग दुवैको बात पनि मेल खाइरहेछ। घरिघरि कर्मले घडी पनि हेर्छ। पर्खँदापर्खँदा पनि नभएर कर्मले भन्छ- ‘ऐ विप्लवको घरममा फोन लगा, किन त्यसले ढिलो गर्यो।!’
‘आन्टी म कर्म बोलेको खोइ त्यो विप्लव त अझै पनि यहाँ आइपुगेको छैन। इन्टरभ्युको लागि ढिलो भइसक्यो।’ ‘हँ हन त्यो त अगि गयो त! त्यहाँ आइपुगेको छैन? ‘छैन आन्टी।’ ‘त्यसो भए पर्ख म त्यसको कोठामा हेर्छु।’ ‘हवस!’
विप्लवको कोठामा गएर आमाले हेरे। विप्लव मस्त सुतिरहेको छ। घरिघरि अनुहार मुस्कुराएको जस्तो पनि देखिन्छ। एकक्षण आमाले पनि छक्क परेर हेरेर फतफताउँछे- ‘हन यसलाई के भयो यत्ति बेलासम्म पनि उठ्दैन। पर्खी तेरो....।’ 
विप्लवको चाखमा एक झ्यापट कस्छे। ऊ झोँक्किएर जुरूक्क उठ्छ र आमालाई टूलटूल हेर्दै नुहाउने कोठामा पस्छ। अनुहारमा पानी छेप्छ अनि ऐनामा हेरेर मुसुक्क मुकुराउँछ फेरि भन्छ- ‘थुक्क सपना पनि!’ 

4/02/2014

कविताका सृजनामा सपना र इच्छा

लेख्दैछु, समाजका विकसित चुनौतीमा पेलिएर सपनाका पथमा सधैँ यथार्थका बाटासम्म डोर्‍याउने इच्छाहरू।
सपना अर्थात् व्यवहारिकतादेखि बाहिर एकक्षण मलाई खुसी राख्ने।
इच्छा अर्थात् भोलि नआउनुको व्याकुलतामा नित्य प्रेरणा दिने।
निसन्देह म हुनुको पछाडि जड बनेर बसेका सपना र इच्छा अर्थयुक्त जीवन जिउनुको प्रेरक तत्त्व; मानिलिएको छु।
त्यस्ता कठिन गोरेटामा; दोबाटो भइ तुर्लुङ तुर्लुङ झुन्डिएका सांसारिक वस्तुहरू-
मेरा सपनालाई बाधा पुर्‍याउन खोज्ने।
इच्छालाई बलात्कार गर्न खोज्ने।
अनि सोझा दृष्टिलाई धोका दिन खोज्ने।
प्रत्येक पाइलापछि आशा र निराशा बरोबर झाँगिन खोज्ने।
हिनताबोधको पछ्यौरी समाएर प्रत्येक सम्झौताका चेपारामा हुर्किएको परिस्थिति; नैतिकताका र्‍यालमा चिप्लिएर आँटिलो आयाम निस्कन खोज्ने।
म र मस्तिष्कमाझ अल्लारेपनका बेजोड अवस्थाले भाँती नपरेका कालाक्षरहरू स्वेत पन्नामा छरिएर मेरै खिल्ली उडाउन खोज्ने।
सायद मैले अक्षर मात्र चिनेको थिएछु। अक्षरले मलाई चिनेको थिएनछ। अक्षर उठाएर शब्दमा हालेपछि चल्न थाल्दोरहेछ र शब्द मिलाएर राखेपछि बोल्न थाल्दोरहेछ। यी सब मूर्त हुन् र अमूर्त भावना ताकत बन्दा रहेछन्।
समेटिएर आउने चोट, पीडा अनि आनन्दका घेराभित्र बस्ने जिन्दगी, ज्ञात भयो। अन्यहरूसमेत भाग्य रेखा खोजाइमा। तर भाग्य रेखासँग अरू पनि रेखा हुँदा रहेछन् भन्ने अनभिज्ञता बाङ्गो टेढो हिँडाइले विस्फारित हत्केलामा धमिलिएर बस्दारहेछन्। जबरजस्ती औँलाहरू टाक्‌साकटुक्‌सुक रगडिएर अनभिज्ञतामै लेखिएका कविताहरू अपूर्णतातिरै सिद्धिने जिन्दगीको साक्खे अनुभूति साक्षात्कार भएको मान्छु पाठकमा सुम्पिएर।

लघु कथा

पागल

बिहानै टनटन घाम लागिरहेको छ। निलो आकासमा। विशेष गरी यो आकासमा घाम लाग्नु भनेको केही घटना घट्नु हो। प्रद्युमले सोच्दै चारैतिर हेरिरहेको छ।

आहा! ७ बजेछ....प्रद्युमले नाडी हेरेर मनमनै भन्यो।

हतार हतार गर्दै सुक्खा रोटी डल्लो पारेर मुखमा हाली चियाले ठेल्यो। अड्केर कक्रक्कै पऱ्यो। बल गरेर निलेपछि फुत्त घरबाट निस्केर बजारतिर लाग्यो।

बजारको चिसो हावामा रुमलिँदै नेहरू पथ भएर चौरास्ता पुग्यो। चौरास्ता, त्यो बजारको खुल्ला मञ्च हो। र त्यहाँ कुनै समय कोही पनि आउन सक्छ। त्यही मञ्चको छेउमा नथमुल छ। ठिक नथमुलको सामु एउटा खुट्टा चोइटिएको चौकीमा बस्यो। नथमुल, दार्जीलिङ चिया बेचबिखन गर्ने दोकान हो। त्यहाँ चियाका परिकार पाइन्छन्।  

ऊ त्यहाँ बसेर सर्वाङ्ग देखिने दृश्यतिर विचरण गर्नथाल्यो। मस्त भएर दृश्यावलोकन गर्दैगर्दा उसकै छेउबाट गनाउने कम्बल ओढेको पागल पार भयो।

उसको दृष्टिले पागललाई पछ्याइरहेको थियो। चिया... भनेर चियावालाले जोरले कराउँदा ऊ झसङ्ग भयो। चियावाला, यहाँको पक्का नागरिक नभए पनि चिया बनाएर खुवाउनु उसको रोजीरोटी हो।

चिया खाँदै प्रद्युमले सोचिरहेको छ......। पागल?............; .....?

सोचिरहेको छ। बस सोचिरहेको छ।
अहिले पनि प्रद्युमले सोचिरहेको छ....... पागल.....?

लघु कथा

मनु अन्ना

कल्पनामा बसिसकेको, दृष्टिमा अडिसकेको भन्दा बेग्लै खालको कालो वर्ण भएको कन्नडियन मान्छे। कालोमा अकालो, उसलाई मनु अन्ना भनेर बोलाउँछन् सबै जनाले।

स्वभाविक मान्छे। वैकल्पिक हाँसो नभएको, प्रगति र समयको उज्यालोले अँध्यारोमा पारेको मान्छे हो मनु अन्ना। यसैले, ऊ हास्नुबित्तिकै उसको मुखबाट सहरको दुर्गन्ध आउँछ। अनुहारमा गाउँको निष्पट अँध्यारो छाउँछ। आँखामा उत्कट इच्छाका तरल छछल्किरहन्छ।

दिनहुँ खाजा खानु जाँदा डोमा र उसको भेट हुन्छ। बिहारी मेसमा। ती भेटहरूले मनोज, सोनु, चाचा, अक्लु अनि अनिल सबैसँग महत्त्व नराखे पनि मनु अन्नासँगको महत्त्व केही अलग छ।

सानो मेस हो बिहारी। कामको अनुभव र योग्यता हेरेर सायद सबैलाई आ-आफ्नो काम दिइएको छ। उसले डोमा र अन्यलाई पानी अनि गिलासको व्यवस्था गरिदिन्छ। अनि फेरि टेबलको पल्लो छेउमा राखिइएको फ्रिजको ऐनासामु उभिन्छ। उसको त्यो स्थायी जगा हो उभिनलाई।

बेलाबेला अरूले नभ्याउँदा उसलाई सब्जी, दाल, रसम अनि दही माग्छ तर उसको अज्ञानताले गाली बाहेक अरू के नै पाउन सक्छ र! के गरोस् ‘दुध दिने गाईको लात पनि त सहन पर्छ।’ त्यस्तो दिनहुँ देखिरहँदा टासीलाई नमिठो लाग्छ।

नमिठो लाग्नु स्वभाविक हो, दया देखाउनु मानवता हो, संस्कार बाँड्नु शिक्षा हो। किनभने मनु र डोमामा यही कुराका फरक छन्।

एक दिन अचानक मनु अन्ना बिहारीमा आएन। अर्को दिन हुँदैहुँदै धेरै दिन बिते तर उसको उपस्थिति त्यहाँ रहेन।

ऊ नआउनुको कारण डोमाले बुझ्न सकेन। कसैले बुझ्न चाहेन, पनि। सायद बुझ्नु भनेको कसैको जिनदगीको वास्ता गर्नु हो अनि त्यो वास्ता भनेको आफ्नो जिन्दगीको समस्या हो। त्यसैले मिलन र बिछोड भइरहने जिन्दगीमा कति जनाले कति जनाको वास्ता गरोस्। मुस्किलै छ! ऊ त्यहाँ नहुनुको प्रश्न होइन, ऊ हुनुको उत्तर पनि होइन। तर उसको सुनसान अनुहारले जन्माइरहने प्रश्नको प्रश्न हो। सधैँ खट्किरहने। डोमामा।

भोलिपल्ट छुट्टिको दिन बिहानै बिहारीको परोटा खान जाँदै थिइ डोमा। सडकको तल्लो छेउमा रहेको सानो चिया दोकानमा मनु अन्ना ‘स्वामी अइयप्पा, स्वामी अइयप्पा’ गाउँदै अनुहारभरि हाँसो लिएर झाडु लगाउँदै थियो।! कहिले नदेखेको मनु अन्नाको अनुहारमा हाँसो देखेर डोमा पनि खुसी हुँदै उतैतिर लागी।  

लघु कथा

पासिपे

पियाइको निरन्तरताले पासिपेको स्वस्थमा केही विकार आएको थियो। डाक्टरले उसलाई चेताउनी दियो- ‘अब अलिक रक्सीको मात्रा बढे तिमी रहँदैनौ।’

बेलुकी घरमा आएर भात खाइवरी मासिमा र पासिपे सुते। मासिमाको छेउमा सुतेको ऊ लकलक काम्दै थियो। मासिमाले चाल पाई, शरीरमा रक्सीको मात्रा ज्यादा भएर हो। मासिमा डराउँदै फेरि चुपचाप सुती।

बिहान भयो, पासिपे घरमा छैन। मासिमालाई राती भनेको कुरा याद आई- ‘डाक्टरले त मेरो जीवनको अन्तिम दिन तोकिसक्यो अब मेरो लागि भोलि हुनुको केही महत्त्व रहेन।’

मासिमा हतारहतार च्याङ्बाको दोकानतिर लागी।

पासिपेले देख्यो, उसकी मासिमा आउँदैछे। अनुहारमा भय र सङ्कोचका केही रेखाहरू किरिङमिरिङ भइरहेको छ तरै पनि ऊ अलिक नजानिँदो सचेत हुनखोज्यो। स्वास्नी छेउमा आइपुग्दा मुखबाट निस्कन नसकेको भक्कानोले अनुहारको रङ्ग परिवर्तन गर्दै आँखाबाट आँसु खसाल्दा पक्कै भेटेछु भन्ने नमिठोपनले आँखा स्वतः बन्द भयो। केही गल्याङमल्याङ हल्ला मच्चियो। मान्छेहरू हतारपतार गर्दै भेला भए। पुरा खलबल मच्चियो।

अन्ततः मासिमाको ग्लाँग्वाँ रुवाइले तरङ्ग भएर उसले आँखा उघार्योर। वरिपरि मान्छेले घेरेको भीडभित्र हेर्योा। अनि एउटा मुर्दालाई अङ्गालो हाल्दै रोइरहेकी उसले आफ्नी मासिमा देख्यो।

लघु कथा

एमएमएस

सन्तोषले हातको छाला गइन्जेल कमानको सानो बारीमा माटो खेलाएर बहिनी सृष्टिलाई एउटा मोबाइल उपहार दियो। साह्रै खुसी भइ सृष्टि।

धेरै दिनदेखि सुनिरहेका फेसबुकमा अकाउन्ट खोल्ने पल्लो घरे ठाइँलाकी छोरीसँग इच्छा जाहेर गरी। चञ्चली चञ्चलाले चिउँडो मुसार्दै ल, भनी।

गाउँमा एउटै मात्र खुद्रा व्यापारीको दोकान छ। त्यही दोकानबाट रू.२०/- को डेटा कार्डलाई रू.२१/- दिएर सृष्टि चञ्चलाकातिर लागी। चतुर चञ्चलाले चर्तिकला देखाइ सृष्टिको हातमा मोबाइल थमाउँदै फेसबुक प्रयोग गर्न सिकाई।

सृष्टि तिक्ष्ण बुद्धि भएकीले सृष्टि गर्न थाली हाली। फ्रेन्ड लिस्टमा साथीहरू पनि धेरै बनाए।

एकदिन एउटा केटाले साथी हुने अनुरोध गरे। अहँ, अहँ, अहँ भन्दै अन्तमा साथी भइछाड्यो। यसरी साथी भएपछि दुईमाझ दिनहुँ कुरा हुनथाले। हुँदा रहँदा, हुँदा रहँदा दुवैले भेट्ने निर्णय गरे।

भोलिपल्ट दुवै जना भेट भएपछि बातचित गर्दै केटाको वास्थानमा पुगे। धेरै समय बिताएपछि सृष्टि आफ्नो घरतिर लागी।

केही दिनपछि गाउँमा एमएमएस स्केन्डलको चर्चा चल्यो। त्यही दिनदेखि सृष्टिको जिन्दगीले नयाँ मोड सृष्टि गर्‍यो!