रूपेशका नेपाली कविताहरू

12/31/2014

मृत्यु र विकल्प


एइ! यावा के भो भन्न?’ आमोसले सोध्थ्यो हरे लेन्डुपलाई।
चुपचाप बसिरहन्छ हल्लैहल्लाभित्र; सुनसान भएर। सुन् आमोस! यसलाई नचला, कम्ति बोल्ने माथि पनि खै के भएको छ यसलाई- सलिम पनि जिस्काउँदै क्लासरुमबाट निस्कियो हरे। लेन्डुपकै कुरा उसैलाई सुनाउँदै छु, अस्ति श्रेयश्रीले भनेको।
केटाहरूको स्कूल केटीको कुरा नहुने त कुरै छैन। सायद केटीको स्कुलमा पनि त्यस्तै हन्छ कि!’ लेन्डुप भन्छ।
मास्टरमा आको झण्डै एक वर्ष हुन लागेछ। पढाइले गर्दा कसैसँग राम्रो बात भएको छैन। के गर्नु समयले छाडेर गएपछि फेरि ल्याउन आउँदैन। बीचैमा बोल्छु- कष्ट त गर्नै पर्‍यो नि, अँ त्यो अस्ति भनेको तिम्रो फस्ट लवको ट्रेजेडी भनन!’
लेन्डुप टोहोलाउँदै भन्छ- एः... छोड्देऊ त्यो, सुकेको गुहु के कोट्ट्याइ रहनु? बरु एसो उयाँ सुदरसनकामा च्या खाऊँ। लऽ त्याँबाट भन है!’
चिया पिएर हामी विवेकानन्द छात्रवासको नेपाली ब्ल्गमा पस्यौं। माथिल्लो रेलिङबाट एउटाले सुसु गर्दै रहेछ, छिटा मेरो अनुहारमा पर्‍यो। म, झोँकिएर रट् लिइ कुद्नु आँटेको उसले पक्रेर रूमभित्र तान्यो। एकक्षण त्यहाँ हङ्गामै भयो।
केही शान्त भएपछि लेन्डुपले भन्यो- लु सुन त्यो मेरो फस्ट लव् ट्रेजेडी। तर फेरि आज तक हुने होइन है; पहिले नै भन्द्या छु।
असाध्यै मन पराएँ तापनि भन्न नसकेर उत्तर खोजिरहेको बिहान अफ् क्लासमा केटाहरूको गफ, भ्यालेन्टाइन डेबारे सुनें। मन पराएका केटीहरूलाई त्यस दिन प्रपोज गर्दा नाइ भन्दैन हरे। अरे वाह! बेकारको गफ पनि कति उपयुक्त। मनमनै सोचें। सायद विकल्प छैन भने जिउन गाह्रो हुन्छ मान्छेलाई।
अर्को कुरा पनि सुनें मन पराएका केटीलाई धेरै दिन पर्खनु हुँदैन रे...। नत्र अर्काले उँडाइदिइहाल्छ रे...। अनि त हतारको दिमागमा अर्को सुद्धि चल्यो- फरवरी १३ को बेलुका धेरै सोचेँ भोलिको दिन कसरी रमाइलो बनाउने? त्यसबेला मेरामा मोबाइल थिएन अनि उसकै घरमा चियाको निहु गरेर काकाको बैठकमा उसलाई बोलाएँ। ऊ आएपछि झण्डै पाँच मिनटको सुनसान वातावरणलाई मैले तोडिदिएँ- भोलि म तिमीलाई प्रपोज गर्दैछु। उसले नमानेरै ल... भनिई। अनि १४ देखि हामी भेट्न थाल्यौं। बातचित गर्न थाल्यौं। समय-समयमा समयको सदुपयोग हुन्थ्यो। अनि एक दिन कञ्चन हलमा तुम बीन मुभी पनि हेर्न गएका थियोँ। तर पन्ध अगष्टको दिन मलाई मेरो जन्मदिनको उपहार आघात स्वरूप दिएर उसले आफ्नै बाटो रोजी। 
त्यसरी नै दिन बित्दै गए। बाह्रौं क्लासको सेन्टप सकियो। एचएस आयो। सबै आ-आफ्ना लक्ष्यतिर लागे साथै म पनि केही साथिहरूसँग दार्जिलिङ कलेजतिर आएँ। तर पनि मैले उसलाई पर्खिरहेँ। यो गरिबी भनेको पनि कस्तो हो हो! साला एक.. दिन.. कलेजबाट निस्केर उसलाई भेट्ने मौका पनि पाइएन, थुक्का...। झोँक्किन्छ पनि उ बीचबीचमा।
म उसलाई कत्ति याद गर्थें। कतै यता आयो कि! भनेर बजारको मोटर स्ट्याण्डमा हेर्ने गर्थें। तर कलेजको तीन वर्ष उसलाई पर्खेर बित्यो। अँहँ...! उ आएन। केही उपाय लागेन। फेरि यहाँ एम ए जोइन गर्न आए। अनि त झन् के यहाँको पढाइले साह्रै व्यस्त भइयो।
एक दिन लाइब्रेरीबाट निस्केर शिवमन्दिरतिर लागें। त्यहाँ दर्पण किनेर पढ्दै गर्दा कालेबुङ दर्पणको पुछारतिर आँखा पर्‍यो–
छात्राले घरकै पङ्खामा झुण्डेर आत्महत्या गरी
हिजो बेलुकी घरमा कोही नभएको बेला दश माईल निवासी हर्कमानकी छोरी प्रणिताले आफ्नै घरको पङ्खामा झुण्डिएर आत्महत्या गरी। घट्ना स्थलमा त्यहाँका पुलिस प्रभारी ओसी सुनिल शर्मा आएर घटना स्थलको जाँच गर्दै शवलाई पोसमर्टमको निम्ति पठाए।
लगभग बेलुकी चार बजीतिर कलेजकी छात्रा प्रणिताको आत्महत्याको खबरले गाउँमा सनसनी फैलियो। आत्महत्याको कारण ...............................
...............................................................................................................................................................................................................।
यसरी घटनालाई नस्वीकारिकनै स्वीकार्न पर्‍यो केही दिन अघि आएको खबरले।

ऊ प्रेग्नेन्ट थिएछ!............प्रेग्नेन्ट!!

शब्दको धुन

वनको मुरलीबाट
सरगम गुञ्जियो;
सा~रे~~~~~नि~
अनि थुरियो   
नि~~~~~ गाउँको कानसम्म,

गाउँ शब्दको धुन खोजिरहेको छ,
अस्तिदेखि खेतमा मुरली बजाउँदै.. तिरिरि...!
आवाज सुनेर,
शब्द टुकुलटुकुल हिँड्छ
गाउँकै पन्नामा कलमको मैथुन गर्ने बानीसँग
वाक्क भएर, फेरि शब्द घुमाइ-घुमाइ खेलाइबस्छ
कलमले गाउँको गर्भमा,

यो अर्को पूर्वाग्रह हो
समय चेतनाको कन्तुरमा बन्द भएर
गुम्सिएको ढुँडिको छाला,
शब्दको जरासम्म टाँसिएर
उखुल्न खोज्ने
गरीब चेतना!

वर्षौँ भयो,
शब्दको धुन गाउँमै अलमलिरहेको छ
मालिङ्गोको एक-एक प्वालबाट
लुकामारी खेल्दै
सहरमा घोर्लिएको
सङ्गीतको नयाँ संस्करण हेर्नलाई!

आह! शब्दले
हरेस खाएपछि, मसिको सहानुभूति पनि
ठर्रा झैँ मातेर कच्याङकच्याङ गरिरहन्छ
गाउँको कानमा,
तेल हाल्नै नपर्ने उसको
मानसिकतालाईठ्याम लगाएर जान्छ
प्रत्येक दिन हुर्कँदै आउने इच्छाले
टक्साएर राखेको जस्तो-
शब्दको धुनले
कहाँ जन्माउन सक्छ
घरिघरि- अरूणा लामा
पोहोर साल खुसी फाट्दा, जतन गरी मनले टालेँ
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो, केले सिउने, केले टाल्ने हो!’


(स्वर सामाग्री अरूणा लामाकन: समर्पण)

सानुमति


लोग्नेको मृत्युपछि सानुमति उमेर छँदै विधुवा भई!
बर्खाको झरि, हिउँदको खडेरी र कमानको अस्थिरताले उसलाई वाक्कै बनाइसकेको छ। उसले आफ्ना छोरा र छोरीलाई राम्रो शिक्षा दिन केही अरू व्यवसाय गर्ने निधो गरी।
एक दिन कमानबाट नाम कटाइवरी बजारतिर लागी। बेलुका फर्किँदा अनुहारको उज्यालले आफ्ना नानीहरू समेत् उज्यालो भए। अब आफ्नो परिवारलाई सुखसँग पालनपोसन गर्ने विचार उसमा पलायो।
दुई वर्ष घरबाट बजार, बजारबाट घर गरेकी थाहै भएन; सानुमतिलाई। खुई! गरेर मोबाइलको क्यालकुलेटरमा हिसाब गर्न लागी।
दिनदिनै उसले धेरै ठूलो, ठूलो अति ठूलो सपना देख्न थाली। आफ्ना नानीहरूलाई बजारको स्कुलमा पढाउने समेत उसमा आँट आउन थाल्यो। तर फेरि उसलाई एक प्रकारको डर पनि मनमा लागिरहेको छ। ‘अलिक वर्ष विचार गर्नु पर्ला।’ उसले सोची।
गाउँलाई उसको उन्नतिमा धेरै शङ्का लागिसकेको थियो। अनि एकदिन चम्चेले उसको पछि गरेर बजारैसम्म पुगे। सानुमति गाडीबाट उत्रेर सरासर एउटा पसलमा गएर बसी। उसले दिनभरि त्यहीँ बसेरै बिताई। चम्चे पनि छक्क पर्‍यो।
गाउँमा आएर उसले चर्चा गरे। ‘हन कसरी यस्तो हुन्छ ?’- मङ्गलेले झोँक्किँदै भन्यो। मङ्गले पहिले सानुमतिको बिहे हुनुअघि उसका प्रेमी थिए। आज ऊ गाउँको पञ्चायत सदस्य भएको छ।

त्यसरी चियो चर्चा चल्दा-चल्दै एकदिन पेपरमा सानुमति उर्फ गङ्गीको खुलासा   खबरले गाउँलेमा उसको ठूलो घात पुग्यो। 

सृष्टि


सृजनाको कोखबाट सृजित सृष्टि सन्तानमा एउटै मात्र लक्षिणकी छोरी थिई; धनेको। तीन भाइमध्ये अरू दु छोराका दु-दु छोरा थिए। छोर-छोरको घर। अभाव त थियो नै छोरीको!
उम्रिँदै तीन पाते रहेकी छुनाले खुब माया गर्थ। उमेरले झर्रो रहेकी उसकी छुना काललाई निहु दिन चुकिन। जन्मदै आमाको ममताले पराइ बनाएकी सृष्टिलाई यो दोस्रो चोट छुनाको मृत्युले मनोस्थलमा गहिरो आघात पार्‍यो। चियाबारीको माहौल हो। गाउँले सृष्टि गरेको वातावरणमा सृष्टिको दिमागलाई फस्टाउन दिएन। नभन्दै ऊ जन्मिदा जेठा बाहुनले भनेको ठिक्कै पुग्यो - ‘यस बालकले कि त नाम राख्छे, कि त नाक काट्छे।’
‘एक दिन पेजोक तल्लो गाउँमा धनकुमारको परिवारले एउटै छोरी पनि पाउन सकेको थिएन। डाक्टरको सल्लाह नमान्दा धनकुमारका दु दाज्युले आफ्नी प्राण प्यारी पत्नीहरू गुमाउन परे। त्यसरी त्यो घरमा छोरीको अभावले भाइहरूमा निरास छाइसकेको थियो। जब धने अर्थात् धनकुमार ठूलो भयो उसलाई हतारको साथ केटी मिलाइदिएर बिहे गरिदिए।
एउटा आशा उसैमा अडिएको थियो, सबैको। नभन्दै धनेले पनि छोरीको पापा हुनु पाउँछु भन्ने भित्री मनोकामना राखेको खेर गइहाल्यो भन्न सकियो नै। उसकी पत्नीले आमाझैँ अनुहार भएको छोरलाई जन्म दिई।
यसपालि पनि सबै खिन्न भए। कमानमा सबैको हाँसो भयो। धने र उसका परिवार। ‘अब धनेले पनि छोरी बनाउने चक्करमा आफ्नी पत्नी गुमाउछ होला!’ धनेलाई खुब नराम्रो लाग्यो तर उसले केही नभनी घर फर्के।
फेरि डेढ वर्ष पश्चात् परिवारको करकापमा उसकी पत्नी दु जिउकी भई। ‘यसचोटि त पक्कै भगवानले हाम्रो मन बुझिदिन्छ होला। हे भगवान छोरी भएको घर हाम्रो पनि होस्।’-धनेले आकाशपट्टि फर्केर इच्छा जाहेर गर्‍यो। आखिरमा समयले उनीहरूको घरमा एउटी छोरी दियो। सबै रमाए। हास्नेहरूलाई धारिलो जवाफ भयो। तर समय बित्दै गयो त्यो घरमा सृजनाले सृजित गरेकी सृष्टिको तनाव सृष्टि हुन थाल्यो। किनभने पापाले गरेको इच्छा कमानको खर्चले किन्न सकेन। छोरिलाई दिन पर्ने उचित शिक्षा घर र कमानको आउजाउले भ्याउन सकेन। परिवारको रहरले मात्र छोरीको सपना पुरा हुँदैन भन्ने धनेले बुझ्न थाल्यो। त्यही कुराको ख्याल गर्दै धनेले आफुलाई झन रक्सीमा डुबाउन थाल्यो।
छोरी बढ्दै गई बाहिरको संसार बुझ्दै गई। अनि समयको लहैलहैमा पापाको माया पनि टाढिँदै गयो। पापाको सपना ठूलो थियो तर कमानको कामको दाम सानो। यसो मन नबुझेको बेला सहानुभुति दिने पत्नी समेत नरहेकोले पीडामा झन् पिउन थाल्यो। पिउँदा-पिउँदै उसले छोरीलाई पढाउने र ठूलो मान्छे बनाउने सपना बिस्तारै बिर्सन थाल्यो। ठिक पत्नी मरेको तेह्र वर्ष पुगेको रात दर्कने पानी परिरहेको बेला धनेले पिउनुसम्म पिएर पत्नीको समाधी छेउमा पल्टेर मृत्यु वरण गरेको थियो।
‘आज पनि मलाई याद छ। बिहान पहेँलीएको पापाको लाश मुसार्दै सृष्टि छेउमा बसिरहेकी थिई। तरै पनि मैले आँसु चुहाउन सकिरहेको थिनँ। किनकि जत्ति आँसु बगाउनु थियो; उसको बिहेको दिन नै बगाएकी थिएँ। त्यस दिनदेखि यता सृष्टि स्वतन्त्र भई। मैले पनि उसको दुर्गति देखेर मन नमिठो बनाउन परेको छैन। अर्थात् तँ छेस् छोरी उसको एउटा निसानी।’

चौँध वर्षदेखि लुकाएर राखेको रहस्य आफ्नो प्रेमको उपहार प्रीतिलाई सबै सुनाए र मन हल्का गरे पनि उसलाई मनमा कताकता डर भने लागिरहेकी थिई। 

दलितको त्रासदी

दलित...?
मान्छे हो कि उसको चेतना
या उपाधि हो कि कर्म,

कि भनिदिऊँ ... दमन!

समाजको  शक्तिले
भागबन्डा गरेर उब्रेको; वस्तु!
थिचिएर
पिसिएर
हेपिएर??

खोसिएको हक
लुटिएको अधिकार
गुमाएको हाँसो
हराएको समान्ताबाट निस्किएको
अमान्छे...
भनौँ दलितको त्रासदी?

दोसाँधमा हुर्किएका
सिमान्तकृत मुस्कान
दमनको काखमा चेप्टिरहेकै छन्
राजनीतिको खाँटी आवाज भएर...
मेनिफेस्टो!

प्रावधानको अक्षर भएर
पल्टिरहेको छ
दलितको प्राक्कथन
खुलेआम देशको आँगनमा,

हजूर... दलितको भाउ कति छ?

अधिकार बद्लिन्छ
भाउ फेरिन्छ
अनुहार खोसिन्छ??

दलितको त्रासदी
झाडु लगाउँदै
प्रत्येक वस्तुको अनुहारसँग मिल्ने
आफ्नो अनुहार खोज्दै
डुलिबस्छन् शब्दको छाला ओढेर!
क्रान्ति र हल्लासँग
गाउँ,
सदन अनि
मेरै घरको सँघारसम्म!

साइनु गाँस्नु
उसको उचाइले छुदैन,मेरो घरको धुरीलाई,
मित लाउनु
उसको नाताले हुँदैन, मेरो जातको मूलीलाई,

यो दलितको त्रासदी!!

कसरी जिउँछ हँ???

निबमा बन्द शब्दहरू

प्रत्येक वर्ष, महिना, हप्ता, दिन, घण्टा, मिनट र सेकेन्ड
भएर बग्ने पहाडको माटो
तराइले मुठ्ठी कसेर कसरी मेरो भन्न सक्छ?

जीवनको अलग-अलग, एकदमै अलग
अलगअलग अर्थात्
पटक्कै नमिल्ने छाला हुन् यी दुई,
यसलाई पनि लिँडे ढिपी गरेर
एउटै रङ्ग दिन खोज्छ; नक्कली अनुहार!

त्यो दिन पनि उसको
उपनिवेशिक आँखाले मेरो घरको
न्यानोपन खोस्ने सत्प्रयास नगरेको होइन,
घरबाट झङ्गल
जङ्गलबाट घर
घरबाट जङ्गल
जङ्गलबाट घर, गर्दा गर्दा
जङ्गलै प्यारो भइसकेको थियो।

बिरानो झैँ लाग्ने घरले
एकदिन प्रश्न गर्दा मात्र म पुनः बौरिएको बेला
उसले निबको धारले मेरो आगनै रेटिसकेको थियो!

वनले पनि मेरो आँसु पुछेन
छिमेकीले पनि मेरो आवाज सुनेन, 
पुछेन... नपुछोस्      झरेको आँसु
सुनेन... नसुनोस्     दबिएको आवाज
झार्नेहरूलाई...
दबाउनेहरूलाई...!

तर म उभिएको माटालाई
मैलेभन्दा अरूले बुझ्नै सक्दैन
मैलेभन्दा अरूले रुँग्नै सक्दैन
मैलेभन्दा अरूले चिन्नै सक्दैन
यसैले त यो माटाको अधिकार केवल मेरोमा छ।

उसले लुटेर
उसले खोसेर
उसले दबाएर
उसले मुख बन्द गरेर निबमा थुनेपछि
कलमलाई मेरो यही गुनासो रहिआएको छ

यो माटामा मैले मेरै अक्षर लेख्न पाऊँ!!

शब्द : अशब्द

तकदिर लेखिएको छैन
कलमको निब
फुटाएर निस्किएका शब्द: टुहुरा,

कत्तिको मन छुन्छ!
कत्तिको तन छुन्छ!
कत्तिको धन छुन्छ!
कत्तिको केके छुन्छ। तर छुन्छ
शब्दको हुर्किँदै गरेको आकर्षणले
कानुनको कालो पट्टि बाँधेर
आत्मसम्मानको ढोकाभित्र लाजको बलात्कार
भएपछि
एफआईआरको पन्ना अनि
मिडियाको बलात्कारै बलात्कारभित्रशब्द,
कुरूप भाग्यको आँसु बगाउँदै
नाङ्गिन्छ समाजको सामु
अश्लिल उपनामको नेमप्लेट टालेर।

शब्द हो.....
 लेखिदिए हुन्छ,
मेटिदिए हुन्छ।

प्रतीकवादको छाला ओढेर
प्रयोगवादको व्यवाहर गरे हुन्छ!

बस्...! शब्द हो।
बाऊको
धारिलो स्नेह चाहिएन!
दाजुको
छुकछुके माया चाहिएन!
छिमेकिको
जासूस सम्बन्ध चाहिएन!
समाजको
उपेक्षित सहानुभूति चाहिएन!
कानुनको
लोसे प्रमाण चाहिएन!

आखिर शब्दमा,
पण्डितदेखि लिएर विद्वान हुँदै
भँडुवासम्म पुग्दा पनि त्यही नियती हुँदो हो!

केवल लेखिन्छ अनि मेटिन्छ; शब्द।


सुन्तलीको विवाद

लघुकथा
चतुरे चामेले च्याप्प समाएर सुन्तलीलाई खँदिलो मुक्का कस्यो। सुन्तलीलाई ढिँडको ताकतले लड्नबाट बँचायो। तर सुन्तली रिसले पालो पर्खिरहेकी थिई
बिहानै उठ्नेबितिकै चामेले सुन्तलीलाई भन्यो- ‘आज हामी बिहानै घाँस लिएर खाजा खाइवरी बारीको तेनेमेने सकिहाल्नु पर्छ है।’ ‘अँ... हुन्छ। याँ आफु भने बिसाउने मौकाइ पाउँदैन! घरिघरि बारी-बारी भनेर नभन है।’ आँखा तर्दै सुन्तलीले बेलुकाको रिस पोखी। डोको बोक्नु आँटेको चामे छक्क पर्‍यो। ‘हँन आज यसलाई केको सनक चडिछे र बिहान बिहान निहुँ खोज्छे।’ विचार मात्र गरिरह्यो, चामेले। चुपचाप चामेको मुद्रा देखेर त झन् रिस उठेर सुन्तलीले कुखुरा धपाउने निहुँ गर्दै चामेलाई नै लाग्ने गरी ढुङ्गा टिपेर हिर्काई। रिसले केही नदेखेको बेला चामेको टाउकमा ढुङ्गाले लागिहाल्यो। अर्को ढुङ्गा टिपेर फेरि हिर्काऊँ भन्दा मात्र सुन्तलीले चामे भुइँमा लेडेको देखी। अत्तालिएर कराउँदै चामेलाई उठाउन गई।  रगताम्मे चामेको शरीरलाई सुम्सुम्याउँदै सुन्तलीले घरभित्र लगी अनि कम्पाउडरलाई लिएर आई चामे स्याहार्न बसी।
‘नसुर्ताऊ त्यस्तो गहिरो चोट परेनछ, अहिले घाउ सफा गरेर यो दबाइ खान दिनू।’ कम्पाउडर त्यति भनेर आफ्नो घरतर्फ लाग्यो। सुन्तलीले पश्चताप गर्ने सोची तर उसलाई त्यो मुक्का सम्झँदा फेरि होइन भन्ने पनि भई। त्यति नै बेला चामे टाउको छाम्दै उठ्न खोज्यो तर सुन्तलीले उसलाई उठ्न दिएन। अनि बिस्तारै चामेले सोध्यो-‘मलाई के भएको थियो?’ मुख लर्बराउँदै सुन्तलीले भनी-‘होइन, खासमा हिजो तपाईँको मुक्काको परिणामले तपाईँको टाउको फुट्यो।’ चामेले अचम्म मान्दै भन्यो –‘हिजो मैले कुटेँ? कस्तो कुरा गरेकी! तिमीलाई मेरो मायाको विश्वा छैन रहेछ। जस्तै भए पनि तिमीलाई कुट्ने कुनै विचार ममा पलाउँदैन।’
सुन्तली केही नबोली भित्र पसेर ऐनामा मुक्काको डाम हेर्न खोजी तर त्यहाँ कुनै डाम नै हुँदैन। छक्क परेर मसार्छे, कुनै दुखेको अनुभव पनि छैन। तब सुन्तलीलाई याद भई....।