रूपेशका नेपाली कविताहरू

3/03/2015

अन्तरे काका

घडीको साटो राखेको एउटै मात्र दुमो सेख्खीने भाले बासेपछि अन्तरे काका उठ्छ। ऊ उठ्दा ठिक ३:३० बजेको हुन्छ। उठेर घर धाराको चिसो पानी अनुहारमा तीन पटक छेपेपछि उसले दैनिक कार्य सुरु गर्छ।
अस्ति कमान जानु हतारमा भाँच्नु नभ्याएको मकैका ढोँड आज आईतबार मिहिनेत गरेर भाँच्ने उसले अठोट गरेको छ। त्यसैले बिहानै सुख्खा रोटी र फिक्का चिया खाएर ऊ बारीमा पस्छ। श्रीपञ्चमीको दिन खेवर गरेको मकैको ढोँड निकै मल पनि पुगेर होला ठँस-ठँस परेका छन् त्यसैमा सिमी पनि लगाएका थिए। अहिले ती सबै सुकेर उखेल्ने बेला भएको छ।
कमानको लागि आईतबार भनेको एकदमै महत्त्वपूर्ण दिन हो। त्यही दिन, सबै थोक गर्नै पर्ने हुन्छ। समाजको मिटिङ्ग, संस्थाको चन्दा, हप्ताभरिको सौदापात जमा गर्नु, बारी कान्ला समाल्नु, लुगा धुनु, मज्जाले नुहाउनु इत्यादि-इत्यादि। यसैले यो एक दिन आईतबार पनि नहुनु हो भने कमानका मानिस कस्ता देखिन्छन् होला। अन्तरे काका सोँच्दै ढोँड भाँचिरहेको छ-‘फेरि पन्ध्रमा पाउने खर्चले यो सब थेग्नु धौधौ नै पर्छ। तर के गर्ने चियाबारीको हरियाली दृश्य जत्ति नै रमाईलो देखे पनि कमानेको मन रमाइलो हुन्न। चियाका गाछ जत्ति नै समान देखे पनि कमाने देखिँदैन। बरु, आइया....जोरले कराउँछ।
तल्लो घरे माईला- के भयो अई अन्तरे?’ भन्दै उसलाई हेर्न आउँछ।
उसको हत्केला फुटेको ढोँड तान्दा ह्वार्रै भएछ। हतार-हतार तल्लो घरे माईलाले बाँधिदिन्छ अनि कमानको डिस्पेनसरीमा पठाउँछ।
एक्लो अन्तरे रातभरि खुब सोच्यो। अब आफुलाई तातो चिसो हेर्ने पनि चाहिएको छ, यसो दाउ  परे भित्र्याउने भयो। कमानका सबै हुलका केटीहरूको अनुहार स्मरण गर्‍यो तर उसले रुचाएको जस्तो अनुहार नै आएन। फेरि कोख्रे पट्टिका सबै स्मरण गर्‍यो। एउटा अनुहार आएर उसलाई कुत्कुत्यायो। पक्कै लगन जुरेको रहेछ, भोलिपल्टै उसले घर रमाइलो बनायो।
पुल्ठो पनि नठोसी बल्दैन भनेर धेरै पटक अन्तरे काकाले पुल्ठो बाल्ने कोसिस गरे पनि त्यो आखिरमा बलेन नै। महिना दिनमै स्वास्नीले उसको घर त्याग गरी कता गई कसैलाई पत्तो भएन।
अहिले पनि दर्पणमा सूचना जारी छ-मेरो धर्म पत्नि म एकलो अन्तरेलाई तिम्रो न्यानो मायाको अभाव रहेको छ। यसैले तिमी जहाँ भए पनि चाँडै घर फर्की आऊ। म तिम्रो कुराइमा छु।





विश्वास

विश्वास, यनसिंह स्कुल सिद्ध्याएर ग्रिफित्स् हाई स्कुल मा छ। दुई साल भयो  जान थालेको।
घरबाट उकालो तीन चुले, डाकबङ्गला हुँदै फेन्तमको दोकान पार गर्न पर्छ। लगभग सत्र बजार माथिहो स्कुल, ९० मिनट लाग्छ। 
हिँडेरै हो। 
त्यो बीचको बाटाछेउ प्रायः हिँड्नेहरू ठूलो ढुङ्गोमाथि ससानो ढुङ्गा अड्काउने गर्छन्। केही मनोकामना गरेर। यदी  त्यो अड्कियो भने मनोकामना पुरा हुन्छ रे भन्ने विश्वास पहिलेदेखि नै चलिआएको सुन्यो। विश्वासले पनि!
तेरो पनि केही मनोकामना होला, ला तैँले पनि अड्का- राकेशले भन्यो। 
विश्वासले मानेन।
एकदिन एक्लै भयो बाटामा। त्यहीँ आइपुगेर टक्क अडियो। ढुङ्गा टिपेर फुत्त हान्यो। अड्किएन। फेरि कोसिस गर्‍यो। भएन।  अनि सुरुसुरु घरतिर लाग्यो। 
भोलिपल्ट लगत्तै फेरि त्यहाँ ढुङ्गा टिपी फुत्त हान्यो। ठ्याक्कै अड्कियो। खुसीले गदगद हुँदै स्कुलतिर लाग्यो।

दिन बित्दै गयो। समयले छोड्दै गयो तर विश्वासको मनोकामना पुरा भएन!
कठैबरा! शब्द !!

नसुतेर
उठेको सहर
अहिलेघरि खोज्दैछ। निखोज
गाउँको शब्द।

शब्द
गाउँको पन्नामा
निग्राक्षरको टुकीसँग
पल्टिरहेको छ। आलस्यको
गुन्द्री ओढेर।  

मसानहरूको भाँडभैलो चलिरहेछ।

बिहान
हुन्छ कल्चौँडेको
स्वरमाधुर्यमा।

फिस्टाको चाल,
चिचिनकोटेको नकल,
भद्रायोको व्यङ्ग्यचित्र,
परेवाको प्रेमालाप,
जुरेलीको कण्ठ,
वाह! ताजुब छ
गाउँ सङ्गीतमय साँझ। क्रमशः
कार्यकलापहरू...।

मेरै
गाउँबाट
उँडेको फिस्टा,
सहरको मिउजियमा
झुन्डिरहेको छ।
मेरै खोलाबाट
हराएको कलचौँडो,
सुदुर वर्ड
सेङ्चुरीमा धुन हालिरहेछ।

मेरै खरीबाट
पर्देशिएको
चिचिनकोटे,
विज्ञानका विश्वकोशमा
टाँस्सिरहेको छ।

मेरै बारीबाट
बाहिरिएको भद्रायो
पछ्चिमको प्रयोगशालामा कक्टिरहेको छ।


जुरेलीले
मनमोहक कहिले पार्छ त?
सुनिरहेको छु अहिले!
परेवाले
शान्ति कहिले ल्याउँछ त?
पर्खिरहेको छु अहिले!

कठैबरा!
देश सुतिरहेको छ!!






तिम्री नारी

तिमी आउँछौ भन्ने,
त्यो दिनको सपना
मैले अझ भुलेकी छैन, भन्छौ होला तर
त्यही दिनको सपनाले
मेरो आँखामा खोपिल्टो पारेको छ।
जुन खोपिल्टामा
आजकल भने ऐना हेर्दैपछि
खेल्दै रमाउने गरेकी छु। मनभरि
दबिएर बसेका तनावहरू
मेटाउनलाई!

वास्तवमा रमाउनुको विकल्प
केही नरहेपछि
यसले
मेरो साथ दिने गरेको छ,
तिम्रो अनुपस्थितिमा।
तिम्रो अनुपस्थिति भन्दा मिठो
यो खोपिल्टा भएको छ,
मेरो लागि।

र नै त अब
तिमी आउनु र नआउनुमा
मैले समयको पाबन्दी ख्याल गर्न छाडेकी छु।
तिम्रो पर्खाइमा-
मैले मेरो पति गुमाएँ,
घर गुमाएँ,
सारा सम्पती गुमाएँ, भन्ने  
नियास्रोपन बिर्सन थालेकी छु।

अब केवल
यो एउटो सन्तान छ। जसले
ऊ हुनुको सत्य बुझेको छैन।
ऊ हुनुको यथार्थ जानेको छैन।
किनकि उसले
 हिँड्न र बोल्न जानेको छैन।

जुन दिन उसले
हिँड्न र बोल्न जान्नेछ
त्यस दिन उसले
त्यो सत्य जान्नेछ
त्यो यथार्थ बुझ्नेछ अनि
त्यस दिन मैले फेरि
मलाई गुमाउनु पर्ने हुन्छ।

यसैले पनि हो
अब मैले
तिमी नआउनुको पीडालाई
बिस्तारै महत्त्व दिन छाडेकी छु।
निडर एउटा योद्धा जस्तो
रणभूमिमा निष्फिक्रि मर्न तयार छु।

त्यसकारण
अब मेरो हुनुको
केही औचित्य छैन,
जसरी मसँग
ती प्रश्नहरूका उत्तर पनि छैनन्-
पति गुमाउनुको,
घर गुमाउनुको
सारा सम्पती गुमाउनुको अनि
यो बाउबिनाको छोरो जन्माउनुको!’

तिमी नआउनुको पछि
समयले मलाई
निरुत्तर बनाएर गएको छ,
समाजको कठोर कारागारभित्र।
जतासुकै पाईला राख्न
कानुन बनाएको छ।
जुन कानुनले तिम्रो बलिदानको
यही उपहार दिएको छ,
जसमा सधैँ
मन खोलेर हास्नु पनि
मेरो चरित्र खोसिने डर हुन्छ,
कुनै कुनाबाट सधैँ हेरिरहने
ती आँखाहरूदेखि।

लौ! हेर,
मलाई लुकाउनै गाह्रो परेको छ!

यहाँ
 धेरै यस्ता छन्
जसले मेरो पीडाको
 :::
सहानुभूति भनेर
मबाट केही पाउने
 मौका पर्खिरहेका छन्।
जस्बाट प्रत्येक साँझ
 घामको अस्तित्त्वसँगै
मैले मर्दै बाँच्दै गर्नु परिरहेको छ
ममा उनिहरूको विजयलाई
पराजय घोषित गर्न!

अरे!
नारी भएर जन्मनू
एकपल्ट तिमीहरू!
नारीको पीडा सहेर हेर्नू!
नारीत्वसँग खेल्ने मोराहरू-
आन्दोलन गर नारी!
शोषण गर नारी!
अत्याचार गर नारी!
समाजले पनि बुझुन् न
नारीले जिउने गरेको  पीडा?

समयको गतिले
उति नै
ताजा बनाउँदै लगिरहेको छ
मेरो पीडा
भोलि निको होला भन्दै
बाँच्ने गरेको कठोर समाजले
झन्  म नारी खिहिँदै जाँदैछु!
यसैले
मैले दैलो बाहिर पाईला राख्न
म नारी हुँ भन्ने
बिर्सने कोसिस गर्दैछु,

तिम्रो अनुपस्थितिमा।