रूपेशका नेपाली कविताहरू

1/04/2012

भद्रजनः-(


आगो बलेको गाउँमा
अनुहार जलेको मान्छे।

दुइ औँलाले लिपेर क्यान्भसमा तडपाउ जस्तो।

रिमिक्स बुख्याचाले
मञ्चमा उभिएर ऱ्यापमा भाषण
दिँदा। गर्वले ताली दिने मेरा भद्रजन।

परम्परा सकिसके,
विकास पनि छोडिसके। ग्वार-ग्वारती
हिँडेर कुमान्छेहरू तिम्रा पाइलामा।

तिम्रा आँखाले।
तिम्रा विचारले
सुऱ्याइ ल्याउने माग। आदाबाटोमै
मातेर सुतिरहन्छ हाउडेहरू।

नमस्कारमा चिप्लेर
शब्दहरू फेरि गाउँमै लडीबुडी गर्छ।
पखालिन्छ। पखाल्छ लोकल वोद्‍गामा।
भतुवाहरू।

भद्रजन...
ट्याङ-ट्याङ गर्ने टाउका
गाउँमै ठोकाउछ। गजक्क पार्ने
सम्बोधनमा। तिमीलाई कुमान्छे।

आगो बलेको गाउँमा
अनुहार जलेको मान्छे।

दुइ औँलाले लिपेर क्यान्भसमा तडपाउ जस्तो।

आर्ट ग्यालरीमा
घुमी-घुमी हेर्दा पर्यटकहरू, विश्‍व चर्चा होला...



नेत्र जलले लेखिएका भित्री कुरा।


कहाँबाट सुरू हुन्छ
गाउँ अनि कहाँनेर टुङ्गिन्छ सहर?
बाँदरबाट मान्छे हुनुको कुरा जस्तो।
मलाई विश्‍वासै हुँदैन
मेरै कुरा।

घरमाथिको रमिते डाडामा
गएर, भक्कु लोभारूँ जस्तो लाग्यो
आफ्नै अनुहार। गतिछाडा स्वभावले।

जहिले पनि हारेर
नियास्रो अनुहार बोकी
ग्यिल्टी विचारहरू तैंछाड र मैछाड
गर्दै प्रतिसोधको भावना घुटुक्क-घुटुक्क
निलिदिन्छ लोकल र इम्पोर्टेड
रेस्तुरामा।

गाउँ र सहरको कोकटेल
वासना। देशी अतिथिलयमा मेमोरेन्डम
चडाउँदै जवानीको हस्ताक्षर गरिदिन्छ
विदाउट प्रोटेक्सन अनप्रोफेसनल पोलिटिसीयनहरू।

यो समाजले के दियो र?

गाउँलाई सुटुक्क कान फुक्छ
सहरसम्मको निम्तोले। हजुरहरू
अप्ठ्यारो पनि नमानेको वालछेल कुरा गर्न।

छोरी पाउनु पनि अब
दुर्भाग्य हुन्छ! गान्धी च्यापेर
अहिंसाको गर्भ पतन गराउने
मेरा प्रिय समाज सेवक।
राजनीतिज्ञ, विद्वानहरू!

छाडा व्यवहार
तेर्साएर तिमी नसुर्ताउ ले मसारेर
हर्कत उथुलपुथुल बनाउछ
उसको भित्री मान्छे।
समाजले के पायो ?

बलातकृत आँसु बाहेक!
जति-जति रस चड्दै जान्छ गाउँमा
उति-उति राल झर्दै जान्छ सहरमा।

कानून बन्छ खातामा,
न्याय हुन्छ हातमा।
लागु हुन्छ गाउँमा,
फेसला हुन्छ सहरमा।

एकक्षण झोंक चल्छ नहुँदाको
बिर्सँदै जान्छु थाकेपछि
भूल्दै जान्छु नपाएपछि
यस्तै हुँ नेपाली विश्वले जानेको।
कुनै कुराको टुङ्गो छैन!
कुनै कुराको आधार छैन!
खिचडी स्वभाव मेरो।






11/04/2011

जुत्ता

मेरो बाबाले

जुत्ता ल्याउनुभएको, चार वर्ष भएछ।

हिजोमात्र आमालाई सोधेको।

किन, उसले

नयाँ नकिनेको? पालिश पनि

नलगाएको? कहिँ फाटेको छ।

कहिँ टालेको छ?

अब उसले

एक बर्खा भ्याउँला जस्तो छैन,

सिलाउन पनि जग्गा छैन। टाल्न पनि।

आमा... बाबालाई भन्नुहोस्न!!

नयाँ किन्नु भनेर...।

अरूको बाबाले त,

कति टलक्क टल्कने

जुत्ता लगाएको हुन्छ। फेरिफेरि।

टक...टक आवाज

आउने। त्यसै उसको व्यक्तित्व

झल्कन्छ अनुहारमा।

हिजआज, बाबाको

अनुहार हाँसेको देख्दिनँ। चाउरी

पनि थपिएको रहेछ। हिउँदको स्कुस जस्तो।

कस्तो उत्तरदायित्व त्यो?

बाबाको, जुत्ता फाट्दासमेत,

सिलउन नसक्ने। टाल्न नमिल्ने।

जुत्ताभित्रको खुट्टा पनि।

मैले पनि भन्न नसकेको।

लिनुहोस्, यो पैसा, नयाँ जुत्ता किन्नलाई।

पालिश किन्नलाई। दोँजो मिलाउनलाई।

10/01/2011

देखेपछि।

देखेपछि मान्दैन आँखा यो,
को हो? को हो? भनी खोजिरहन्छ यो।

नदेख्नु बरू त्यस्तो कुरो यसले,
बुझ्दै-बुझ्दैन देखेपछि यसले।

हिजोपनि सुत्न मानेन आँखा रातमा,
बेहाल हुन्छ होला शीतझैं पातमा।

बास खोज्छ निद्रा, आँखा वरिपरि
बाउँठिएर यताउता गरिरहन्छ, घरिघरि।

निदाउदा पनि सररर आइरहन्छ सपनामा,
किन हुनसक्दैन तिमी र म एकसाथ विपनामा।

बरू मिलाउँला मै तिम्रो कुण्डली पनि
भित्र्याउन तयार छन् नौमती बाजा र मण्डली पनि।

विज्ञान र प्रकृति।

त्राही-त्राही बने आस्तिक, नास्तिक
मनहरू। विज्ञान र प्रकृतिको चपेटमा।

जब, चुनौती
दिएर गए प्रकृति। विज्ञानको उत्तेजित विकासलाई!
त्यत्ति बेला, आत्मा र कालले
केवल एउटै सम्झौता खोजे। जीवन/मृत्यु।

होड चल्दै गरेको सडकमा। घरमा, हस्पिटलमा। होटलमा। प्रत्येक सन्तुष्टि र असन्तुष्टिको माझमा झ्वाट्ट
अन्धकार बिसाइदियो त्यो साँझ। व्याप्त विज्ञानका कुरा तिमी र मालाई भ्रममा पारेन त? उम्लँदै गरेको जमिन
अनि भित्रबाट अत्तालिएर आएकी युवती। जीवन र मृत्यु लडिरहेजस्तो, मलाई सोध्छे। अब म, भित्र पस्नु
हुन्छ? चिच्च्याहटहरू सुनिए, अनगन्ती मेरो-मेरो, मेरो-मेरोहरू पनि सुनिए। परिवार विर्सिए। साँच्चै, मर्नुदेखि डराएर हैरान भए। पहिलेजस्तै सबै। निस्पट्ट अन्धकारभित्रको डररररररररर...। प्रकृतिको शक्ति सोचिरहेँ। शान्त भएर चर्चा चलिरहेको बेला।

भोलि भयो,
दोषारोपणमा पत्रिकाहरू। टिभी च्यानलहरू। हाय-हाय र चः चःहरू।
विज्ञानले, होइन, यो त प्राकृतिक प्रकोप हो।
व्याप्त भुइँचालोले लथालिङ पारिएका
अस्तित्वहरू...। निरिक्षण गर्दैगरेका तस्विर र लाइभ शोहरू...।

निमिट्यान्न पारेन किन?
किनकि जान्दछ प्रकृतिले समयमा, उमार्न र नउमार्न। जस्तो मलाई लाग्यो।

सुत्दैन,
सधैँ भुसुक्क हुने निद्राहरू रातपरेपछि।
उज्यालो नै हेरिरहन्छ आँखाहरू आपतपरेपछि।

आउँदैन यो,
फेरि फर्केर कसैले, भनेपनि।
मन यो,
भित्र कत्ति लाग्दो रहेछ, शङ्कापनि।

मुटु छामेर,
आफ्नै ढुक्ढुकी यदाकदा बुझेँ।
हल्लीँदै तर्सेर
सडकमा, प्रकृतिबाट टाढिएको त्यत्तिबेला पो बुझेँ। अफवाहहरू...

8/24/2011

अनुकरणका थोपा।

स्वाट्ट पस्छ,

फुत्त निस्कन्छ।

स्वाट्ट पस्छ,

फुत्त निस्कन्छ। शब्द। मेरो मनबाट। फटफट गर्दै।

हुरूक्क पार्छ, घरि फुरूक्क पार्छ। रहरहरू कुनाकाप्चाबाट।

फुत्रुक्क उफ्रेर

कल्पनाको दैलोबाट।

मनगढ़न्ते मैदानमा कक्रक्क पर्छ। माया।

फेरि लितिपिति हुन्छ गिदीमा।

लितिलिति हल्लँदै गरेको प्रेम।

फातफुत्त झर्छ

पसिना। ठूलो आन्दोलन गरेर।

ठ्याप्प-ठ्याप्प

हिर्काउँ जस्तो। त्यो स्फूर्ति, त्यो उत्साह।

पुर्लुक्क-पुर्लुक्क पल्टिन्छन्। वाक्क भएका आशामा।

खर्लप्पै सुकेको छ। गाउँ। ह्वास्स गन्हाउछ पहाड़ेको गिदी।

बुरुकबुरुक उचाल्ने

शब्द, च्वाट्ट चुँड़ाइ

स्वाट्ट ‘चुलि’मा सिउरेको गुलाबझैँ देखिने।

त्यो पनि सर्लक्कै सुकेछ, जस्तो। मिलिक्क हराइ...।

पट्ट फुटेर, लहलह बड़्दै

बारी कान्लामा, घारी भएर सदन पुगेका शब्द।

फनक्क फर्केर बिकासको सिँढीमा, लत्रक्क लत्रिएकोछ।

यो शब्द।

मिरिक्क पर्छ, मुसुक्क मुस्कुराउछ।

अत्तालिएर, ह्वात्त बोली पठाउछ…। .......।
कुर्कुचा।

राजनीति!

राजनीति! राजनीति!

राजनीति! राजनीति! राजनीति!

गरिने कुराहरूमा

यी अधिक गरिँदा रहेछन्। विश्‍वमा।

टुप्पीदेखि

लिएर कुर्कुचासम्मै।

कुर्कुचा!

यसलाई के थाह?

राजनीति! दर्शन! वाद! सामन्ती! अनि अराजकता!

हँ, हँ...

चिप्लाङहरू, ठेलमठेल छन्।

यो गाउँमा। कुर्कुचा उभिनलाई। कालो माटोमा।

हरिनाथ लागेका गाउँ,

हचर्चरिएका कुर्कुचा। गाह्रो छ उभ्न यहाँ।

यसलाई

उभिनु छ। तिमीजस्तै। हिँड्नु छ।

भन्नु छ। सर्वसाधारणलाई, हेर! म उभिएको कुर्कुचा।

तर, नासमझ!

उभिन नपाइ

लड़िहाल्छन् काटिएका कुर्कुचा। मदारीअघि।

वाह... वाह...

वाह... वाह... मदारी!!

खुच्चिङ पनि गरिदिन्छन्। चिप्लाङहरू।