रूपेशका नेपाली कविताहरू

4/17/2012

ईश्वरको कथा।


इन्फेचुएसन जस्तै
ईश्वर तिम्रो कथा। प्रेमको।
रिमिक्स छ कथा। पात्रहरूले भोग्न परेको।

मान्छेको आस्था। तिमी वेपर्वाह छौ।

तिम्रो नाटक। विपरित लिङ्गमा।
प्रयोजनीय छ। कार्यकलाप पनि। कथानक होला अलिक फेरबदल।

प्रश्न उठ्छ। शिवलिङ्गमा अङ्गालिएकी युवती,
निउसले बिहानै बजारमा फ्लास गर्दा। कफी पिउँदै हस्बेन्ड- ‘सि डार्लिङ वाट्स दिस!’
प्याच्च बजारी हाल्छ संकुचित विचार पनि! पाप नलागोस्।
पत्नीले ईश्वरलाई ठट्टा गऱ्यो।

ईश्वर तिम्रो लिङ्ग छैन? अन्जान छु म!

सधैं ठोकी रहन्छु आफ्नै मस्तिष्क प्रश्नले।
अरे मलाई म भएर जिउन देऊ। म जसरी चाहन्छु त्यसरी
जिउन देऊ। तिम्रो कथामा म किन अल्झिरहनु। मलाई मेरै कथा लेख्नु छ।

कुनै एउटा गाउँमा। मेरो जन्म हुनु हरे। कुनै अर्को गाउँमा जानु हरे।
कसैको घरमा बस्नु हरे। उसैकी चोरीसँग प्रेम पर्नु हरे। आमाबाबाले चाल नपाउनु हरे।
काका, बहिनी, भाईले मात्र थाहा पाउनु हरे। उसकी मामाकी छोरीले भिलेन रोल गर्नु हरे। साथीहरूले चाक्लुसी गर्नु हरे। समझाउँदा नसम्झनु हरे। अनि छ महिना नपुग्दै उसको र मेरो प्रेम तोडिनु हरे। कस्तो पग्ला कथाकार। मैले धेरै चिट्ठी लेखेर पठाउनु हरे। उसले एउटै पनि उत्तर नदिनु हरे। कुनै दिन बाटोमा भेट्दा बोल्नु नसक्नु हरे। अनि पछि आफैलाई गाली गर्नु हरे। अनि फेरि दोस्रो प्रेम पर्दा उसलाई सबै भन्नु हरे। मेरो यो दोस्रो हो। पहिलेको कारण नबुझी तोडियो। ए... मेरो प्रथम, उसले पनि भन्नु हरे। बितेका कुरा छोडिदेऊ।

कति राम्रो संरचना। ईश्वरको कथा।

3/31/2012

पेन ड्राइव।

ऐ... जताततै नहाल है पेन ड्राइव, भाइरस सर्छ।

सङ्क्रमण काल
सङ्क्रमित कुरा
सोसाइटी पिरोलिएको छ।

ठाकठाक-ठुकठुक पर्छ।
क्यावलमा झुण्डिका गाउँ, बस्ती।

पेन ड्राइवमा भाइरस सर्छ रे...!

गाउँ, बस्तीका खोल्चा-खोल्चीमा
एन्टी भाइरसले नछिचोलेको। रक्त सञ्चालन।
हार्डवेर, सफ्टवेर इन्जिनियरहरू
असमञ्जसमा पर्छन्।

प्रोग्रामरलाई के थाहा यस्ता गडन्ते कुरा?

गडिएर गाडी, घर, कार्यालय
कहीँ पनि लगाउ... यो निष्क्रिय बन्छ।

प्लिज इन्सर्ट द डिस्क...
प्लिज इन्सर्ट द डिस्क...
प्लिज इन्सर्ट द डिस्क...

लेखिन्छ! जस्ताका तस्तै पेन ड्राइव
अस्वीकार हुन्छ। छिः छिः हुन्छ।

चर्चा हुन्छ। गुनासो हुन्छ।
सिलिङबिलिङ हुन्छ ग्राहकहरू...

कुन कम्पनीको हो?





3/22/2012

टक्बरको एक रात र चियाबारी

चियाका दानाबाट उम्रेका
सामन्ती गाछहरू अनि विघामा लागेका
मेरा प्रिय श्रमिक।

कमाने म आफै गर्व
गर्छु। मेरो पसिना पुछिदिने तिमी छौ नी!

पसिना झरोस् यहाँ र मलिलो बनोस्
चियाबारीहरू। मैले देख्ने गरी। भन्छु। तर
अझसम्म मेरै पसिनाका रङ्गहरू मलाई थाह छैन...।

लिलाम गरिरहे छौ। पसिना... निर्यातमा तरेली-तरेली।
बासनाका छापहरू। चियाबारीबाट।

नौ औँलाहरूमा तिम्रै हैकम छ
केवल एउटा मात्र चल्छ मेरो।
चाँदमनीदेखि दार्जिलिङका सर्बत्रै चियाबारी हुँदै
टक्बरसम्म। मैले सोचेँ। अलपत्रै परेको उकालो र साँगुरो बाटोमा।
पस्टाउँदैन मेरो सपना। जसरी गाप हाली बस्छन् इच्छहरू पनि।
पौलाउँदै गएपछि गाछहरू सालुने।

निचोरिएर अनुहारबाट पसिनाले
जिब्रो खोज्दै ओँठमा लत्पतिएर। अस्तित्वबोध गराइरहेथ्यो।
रूमाललाई के थाहा? पसिनाको अस्तित्व।
सोहोरिबस्छ केवल सोहोरी बस्छ। टुसाउँदै गरेका
मुस्कानहरू कमानका अनुहारबाट। अन्त कतै
मैले नजानिने गरी। नखोजिने गरी।

‘वाव नाइस पिक्स’ को कमेन्ट पनि सम्झेँ फेसबुकमा!
साथै ‘चियाबारी साहित्य’ का कविताहरू। व्यङ्ग्यात्मक र मर्मस्पर्शी।
प्रतीत गराइ रहेथ्यो। साँच्चै चि... सो पस्छ शब्दहरूमा,
कविताको । दार्जिलिङलाई सिरेटो लागिरहेको छ।

त्यो पिक्स, हेरेर साँच्चै तिमी रमायौ?
व्यङ्ग्यात्मक प्रश्न पनि गर्छु। आफैलाई। अँहँ...।
पनि भन्छु। मनमनै, गोयल छु जस्तो।

तिमी कमानेतर। त्यही चियाबारीमा। एउटा, भ्रामक पोज
हिर्काउँ जस्तो भयो होला। त्यही मुनाहरूमा लुटुपुटिएको;
नकल गर्ने मन भयो होला! अनि कल्पना गर्‍यौ होला
कसले, कतिपल्ट लाइक गरे-
                        ‘नाइस...
                             नाइस पोज!
                                नाइस पिक्....’
अनि के नै छ र...! तिमीलाई फुर्क्याउने शब्द >>सरररररर
कल्पना कुद्यो। जुलुम पारेर।

रात नपरेर निद्राहरू आँखामा,
ओछ्यान टोहोल्याइ रह्यो। बिहानसम्म। फर्लङै उज्यालो
भएछ- ‘इ, यी नै हुन् हाम्रा चियाबारीहरू’ मित्रको
निर्दोष वाक्यमा। टेबलको चियाले रिफ्रेश
भएन हिजोको ओभर डज कल्पना। अझ
बिडम्बना लागिरहेछ। हिजो उसले नधकाइ
भनेकी। आफ्नोवोधका कुरा।

मैले बिडम्बना मानेँ। निर्दोष वाक्यलाई।
हो। तिमीहरू पनि त्यसै भन्छौ?
उसको अज्ञान्तालाई शङ्का नगरी
प्रश्न गरेको तिमीहरू। चियाबारीका मानिस।

हुन त!
तिमीलाई जति नै प्रश्न गरे पनि
कुन उत्तर ठिक, दिएको छौ र...!
अनि अब कस्तो उत्तरको अपेक्षा गर्नु। पनि।

नुन हालेको चिया तिमीलाई मात्र थाहा छ!!
जुवा…।

छ-बाह्रभित्र
कुनी कस्तो मति आउँछ।
एकदिन केटाहरूसँग, हजारे खेल्दै थिएँ।
आमाको स्वाँटले अहिलेसम्म दोहोर्‍याएको छुइनँ।

‘तास, जुवा, मद, पान भुले हात लाउँलास्, लाखेस!’

गाउँलाई यो सजाइ हो। सभ्यताको कलङ्क।
मान्छे हुनुको विडम्बना। इच्छा गर्नुको श्राप।
यसैले गाउँ मौका हेरिबस्छ तृप्तिको।

सकिनै आँट्दाको आनन्द। तिमीले भोगेको छौ?
सहरलाई मात्र यो सब किन छुट् छ?

व्यायाम गर। अनुहार झरिलो पार।
कट् सार! पोलिसी हाल। केही व्याज
पाऊ। व्याङ्क व्यालेन्स राख, इत्यादि।

छुल्याहा स्किम!
दाउमा, दाउ हाल फेरी-फेरी,
नाफा-मुनाफा, हार-जित पैसाको शैली…।
कता के, कता के, किनबेच हुन्छ,
विश्वासको सेयर बजार।
आजको जीवन शैलीमा
भर पर्दो सूत्र।

यो सब के हो??

पैसा...। जीवन होइन र???

जीवन त जुवा हो! जीवन त जुवा हो!! अहिले सम्मको अनुभव
मलाई यही भन्छ!! एउटा दाउ! अर्को दाउ! जोखिम आनन्दको मिश्रण!!

नेत्र जलले लेखिएका भित्री कुरा।

कहाँबाट सुरू हुन्छ
गाउँ अनि कहाँनेर टुङ्गिन्छ सहर?
बाँदरबाट मान्छे हुनुको कुरा जस्तो।
मलाई विश्‍वासै हुँदैन
मेरै कुरा।

घरमाथिको रमिते डाडामा
गएर, भक्कु लोभारूँ जस्तो लाग्यो
आफ्नै अनुहार। गतिछाडा स्वभावले।

जहिले पनि हारेर
नियास्रो अनुहार बोकी
ग्यिल्टी विचारहरू तैंछाड र मैछाड
गर्दै प्रतिसोधको भावना घुटुक्क-घुटुक्क
निलिदिन्छ लोकल र इम्पोर्टेड
रेस्तुरामा।

गाउँ र सहरको कोकटेल
वासना। देशी अतिथिलयमा मेमोरेन्डम
चडाउँदै जवानीको हस्ताक्षर गरिदिन्छ
विदाउट प्रोटेक्सन अनप्रोफेसनल पोलिटिसीयनहरू।

यो समाजले के दियो र?

गाउँलाई सुटुक्क कान फुक्छ
सहरसम्मको निम्तोले। हजुरहरू
अप्ठ्यारो पनि नमानेको वालछेल कुरा गर्न।

छोरी पाउनु पनि अब
दुर्भाग्य हुन्छ! गान्धी च्यापेर
अहिंसाको गर्भ पतन गराउने
मेरा प्रिय समाज सेवक।
राजनीतिज्ञ, विद्वानहरू!

छाडा व्यवहार
तेर्साएर ल तिमी नसुर्ताउ ले मसारेर
हर्कत उथुलपुथुल बनाउछ
उसको भित्री मान्छे।
समाजले के पायो र?

बलातकृत आँसु बाहेक!
जति-जति रस चड्दै जान्छ गाउँमा
उति-उति राल झर्दै जान्छ सहरमा।

कानून बन्छ खातामा,
न्याय हुन्छ हातमा।
लागु हुन्छ गाउँमा,
फेसला हुन्छ सहरमा।

एकक्षण झोंक चल्छ नहुँदाको
बिर्सँदै जान्छु थाकेपछि
भूल्दै जान्छु नपाएपछि
म यस्तै हुँ नेपाली विश्वले जानेको।
कुनै कुराको टुङ्गो छैन!
कुनै कुराको आधार छैन!
खिचडी स्वभाव मेरो।


2/26/2012

रोम्यान्टिक फ्याक्ट

जवानीको कामुक्ता,
गाँजाले फुक्दै गरेको धुवा
सचेत समाजको कुनामा,
रुमलिरहेको साधु धारा।

कलकल आवाज आइरहेथ्यो।

छ्याप्छ्याप्ती नसाका
ठुटाहरू, मिउनिसिप्यालटीका कटेरा,
अनि सेतो रूमाल अज्ञान्ताको
पसिना दल्दै, बीजारोपन गर्दैगरेको
डिल पारिका फोगटामा, लाटो बस्ती।

मेनुको मुस्कान छचल्किरहेथ्यो।

सरररररर हावा,
कुत्कुत्याउँथ्यो स्पर्श
अभावहरूमा, लजाउथ्यो जवानी
अटेर संस्कारका चूल्हामा सोते बजाइरहेकी
ओठ, भयका कोठामा मायाका फप्लेटो
च्वाक्क बजार्थी कपोलमा।

हुरूरूरूरूरू सल्केथ्यो रूपेशको बस्ती

चिटचिट शङ्काहरू,
हलक्कै बढेको सम्बन्धमा
आनन्द र भयको खिचडी मस्काउने
ठेकेदार चुकुल लगाउँदै खुजरा समयका
फोक्टा पान प्याच्च-प्याच्च थुक्छ
साँघुरो गल्ली र गोरेटो!

प्रतिबन्ध, निषेधका जब कार्ड बाटोभरि!
ताल नमिलेको शब्द,
लाखेसका चिम्टा डुलाइ सङ्कोच,
सङ्कीर्ण चियाको प्याला कुरिरहेथ्यो
लाटो किराय घर।

आउँछ... जान्छ... आउँछ... जान्छ...!

अस्पष्ट फुटेको
बिब्ल्याँटो मेनुको,
अन्तकरण नपसेको इन्फेचुएसन समय
रूपेश सम्झिरहेछ।

प्रथम प्रेम-प्रमिका र परिभाषा!

डिस्पोजल लाइफ्...
नैतिक विज्ञानमा गोरेटो र दोबाटोको परिभाषा। रूपेशको जीवन शैली कुनै एउटा आधार हो। चः चः चः विचरा। ठिकै पऱ्यो। राम्रै भयो। हैन के हो? समाज विज्ञानको आचरण। निकोटिन नपुगेको वर्ण, पोलियो नहालेको अक्षर, फर्मामा बिग्रेको शब्द। लेप्रोसी चलेको समाज। प्रेम, माया, स्नेह, ममता, आनन्द, लेखिनै गाह्रो छ।

लेखिन्छ... मेटिन्छ... लेखिन्छ... मेटिन्छ...!

रोम्यान्टिक फ्याक्ट
ग्रिटिङ्स् कार्डहरूमा।

क्रान्ति

अब, कस्तो क्रान्ति चाहियो हँ?

प्रश्नै प्रश्न मात्र उम्लिरहन्छ
अरुवा उम्लने गाउँमा। सहरले
छ्वाइँय भुटुन हाल्यो राजमा दाल।

बास्ना चल्दैन गाउँमा
रुगाले प्याल-प्याल सिङान मात्र झारी बस्छ। गाउँ।

शून्यबाट करायो क्रान्ति,
गाउँको दक्षिणा हरायो। सयबाट उफ्र्यो क्रान्ति,
गाउँको अस्तित्व हरायो।

अब, कस्तो क्रान्ति चाहियो हँ?

गाउँलाई विश्वमा खोज्न पर्ने
या त विश्वलाई गाउँमा खोज्न पर्ने!

होइन कि... बरू
डक्युमेन्ट्री बनाएर गाउँलाई
अस्कर विजेता हुन पर्ने।

गाउँले विश्व जान्यो र...!

बरू... विश्वलाई पो
गाउँ जान्न देऊ। क्रान्तिले भाका फेरिहाल्छ नि...

चाहे यो सहरबाटै हिँड्न परोस्
या त गाउँबाटै... तर मेरो
प्रश्न भन्दा बेग्लै क्रान्ति होस्!

केवल शब्द, शब्द रहोस्...!!