रूपेशका नेपाली कविताहरू

6/20/2011

जेन कविता

१. सबल्टार्न बामे सर्दै गरेको
खेतमा, डायसपोराले हात दिन्छ, डोऱ्याउनलाई।



२. तिमीले बिर्सँदै गरेको संस्कार
सयपत्रीले भोगिरहेछ, गाउँमा।


३. इतिहासमा के नै थियो र..
माछा किराले खायो भन्नु।


४. सार्वनामिक तिम्रो विचारमा
पड़्काउन मन लागिरहेको छ, भ्रमको गोला।



५. ढुङ्गा पुज्ने मेरा पूर्खा
म पनि ढुङ्गा पुजिरहेछु।


६. तिम्रो कथा लेख्न
अगावै तिमी कथा भएछौ।


७. छन्दको घरमा
अनुप्राशको नृत्य।


८. पुच्छर सोज्याउने
ढुङ्ग्रो आफै बाङ्गिएछ।



९. फूल टिपे पनि ओइलाउँछ
नटिपे पनि ओइलाउँछ।


१०. परिवर्तन तिमीमा होइन
तिम्रो मानषिक्तामा हुनुपर्छ।


११. कसैले रोज्न दिएका
रङ्गहरू, मैले रातै रोजिदिएँ।


१२. ईश्वरको घर
तिम्रो व्यवसाय।


१३. ढुङ्गाको विश्वास
मान्छेको अविश्वास।


१४. तिम्रो हँसाइले
प्रताड़ित छु, म।


१५. भित्ताको मर्म
पोस्टरलाई के थाहा?


१६. खुला छ डायास्पोरा
तिम्रो हाम्रो घर।


१७. प्रेमको घरमा
मायाको तानासाही।


१८. उसले खोजी निकाल्यो
मेरै घरको कुरा।


१९. हाम्रै झाँक्री बखान्छ
हजुरहरूका ऱ्याप गीतमा।


२०. गाउँ जाने बाटो
कुरिरहेको छ, विकासलाई।


२१. आज मैले भिन्नै सोचेको
आ...मा... भन्ने, पहिलो
व्यक्ति को होला?


२२. सकिएन दुःख जीवनको
मेटिएन लालच मनको।


२३. होसियार... शब्द
निस्क्यो मुखबाट,
म, पनि होसियारै छु।


२४. यी आँखा साह्रै
तृषित छन्, नयाँ बिहान हेर्नलाई।


२५. इतिहासले कोर्दै छ
मेरो घरको घरेटी।


२६. अनुहारबिहीन मानछे
अनुहार खोजिरहेछ, दर्पणमा।


२७. साबल्टर्नको खेतमा
सामन्तीको हलो।


२८. मान्छे सम्पन्न बन्दै जान्छ
कुकुरसँग आत्मीय बन्दै जान्छ।


२९. खोजिरहेछ उसले अनुहार,
आफ्नै घरको ऐनामा।


३०. नियमको पन्नामा
शरणार्थी अक्षरहरू।
आशा हराएको खबर...!

एक बिहान
मेरा मित्रले भनेका थिए-
‘कवितामा अटाउँदैन कमान, उपन्यास लेख्नपर्छ, उपन्यास।’

हिजो बिहान
दर्पणको अनुहारमा
‘आशा हराएको खबर’ले
मलाई त्यो बिहानको
स्मरण गराइरहेथ्यो।

जुन बिहान पूर्वबाट भानूले
ममताको चूल्हो, छिचोल्दै
गरेको। पावनको कामुक
स्पर्शले उत्साहित बन्दै गरेकी
आशा।

तितेपातीका दाउरामा,
ढिँड़ो हुँडँल्दै गरेकी आमालाई
आफ्नो इच्छा प्रकट गर्छे-
‘आमा, हामी पनि ग्यास चुला ल्याए... हुन्न?’

कति सानो प्रश्‍न, कति ठूलो प्रहार...
आमाको वाक्ये फुटेन। भित्रबाट भक्कानिएर
आएका पीड़ाका लेदाहरू
बल्झफ्ती थुकसँग भित्रै निली पठाएर...

भन्छे- ‘छोरी, तिम्रै आशा छ। तिम्रो पापा
पर्देश गएको खबरै छैन। म, एकमात्रको
कमान खर्च, जाउलो धान्नमै सकिन्छ।
‘कड़्सारा’बाट बाँचेको पैसा, तिमीलाई पढ़ाउनु छ।’

आशामा यस्ता इच्छा कयौँ छ्न्
आमामा यस्ता समस्या कयौँ छन्।
तर त्यहाँ
एउटा सम्झौता छ
एउटा वाध्यता, सन्तोक
गर्ने आदत पनि बसेको छ!

कमानलाई
अझै, पूर्वको भानूले
छिचोल्न सकेको छैन। शुखको बतासले
अङ्गाल्न सकेको छैन।

तर कुन बतासले अङ्गाल्दा
आशामा एक इच्छा कम भयो होला?
र आमामा एक समस्या ज्यादा।

म, सोँच्दै छु,
आज मलाई पनि
चित्त दुखेको छ, आमा प्रति।
चः चः चः चः

हो साथी...
‘कवितामा नअटाएर
अटाएको कमान, गरीबको एक
गाँसमा नअटाएर अटाएको कयौँ भोक होला।’ – मैले
भनेको थिएँ।








स्विट हार्ट!

ह्याल्लो डार्लिङ...
उम्वाँ... उम्वाँ... उम.....वाँ।
 
रवीले मोबाइलमै
आफ्नो इच्छा पुरा गर्‍यो।
अर्थात् मायाका कोसेली
टाढ़ामा रहेकी मायालुलाई।

छेउमा बस्नेहरूलाई
कताकता अप्ठ्यारो
लागेजस्तो एकार्कालाई हेरेर
मुसकुराए। अब समयले धेरै यात्रा
गरिसकेका छन्। लजाउँदैन समय। फ्र्याङ्क छ सम्बन्ध।

याहू म्यासेन्जरमा
च्याट हुन्छ। गुगाल टाक् हुन्छ।
लाइभ भिडियो च्याट हुन्छ। अनि
म पनि सुटुक्क क्याफेमा पसेर
एउटा क्राइम गर्छु।

मलाई पनि
स्विट हार्ट भन्न मन लाग्छ।
अङ्गालो दिएर डार्लिङ्ग!
भन्न मन लाग्छ। इङ्गलिश
फिल्ममा जस्तो हनी! भनेर
डाँको छोड़ुँ जस्तो लाग्छ।

तर मेरी प्रिये,
लजालु छे। टक... टक... टक...
क्याट वार्क। हुँदैन उसलाई। रोम्यान्टिक
कुरा आउँदैन उसलाई। एउटा मोबाइल
भए हुन्छ भन्छे। राती सुटुक्कै
स्विट हार्ट भन्नलाई। लाजै नमानी उम्.....वाँ गर्नलाई।
सुन गाउँवासी हो!

“असारमा पर्देश लाग्ने र श्री-पञ्चमी भूल्ने मान्छे काम लाग्दैन”

को हो नि?
यसो भन्ने। मलाई त
गजब लाग्छ उक्त कुरा।
रातको निद्रा
नपरे पनि “हुने विरूवाको चिल्लो पात
नहुने विरूवाको खस्रो पात”ले
झपक्कै छोपी हाल्छ।

सुन गाउँवासी हो!
“ग्यील्टी माइन्ड इज आल्वेज सस्पिस्योस”
भनेर पनि
तिम्रै व्यङ्ग्य गरेजस्तो
लाग्छ। त्यै कुरा तिमीलाई
धेरै वर्षदेखि बुझाउनु
चाहेको तर तिमीले
पढ़्नै छाड़ेछौ। कुरा बुझ्नै छाड़ेछौ।

सुन गाउँवासी हो!
तिम्रा बाले तिमीलाई
उखान सुनाउँछ सुनाउँदैन,
तिम्रा बाले तिमीलाई
तुक्का सुनाउँछ सुनाउँदैन। त्यो
भन्न सक्दिनँ तर मेरा पापाले
मलाई गाली पनि उखानैमा गर्नुहुन्छ।
माया पनि तुक्कामै गर्नुहुन्छ।
सुन गाउँवासी हो!
सायद तिम्रा बाजेका
उखानहरू ढुँड़ी पर्न थाल्यो होला,
तुक्काहरू झ्याउ पर्न थाल्यो होला।
यद्यपि तिमीले उक्त कुरा याद राख्नु
बुढ़ेसकालमा तिमीलाई अवश्य झोँक त चल्ला।

5/20/2011

बिथोलिएको गाउँ!

Little knowledge is a dangerous thing

सल्याङमल्याङ-सल्याङमल्याङ
सल्बलाइरहेको छ गाउँ।
मोबाइलको रिङ्ग
बज्छ। यूथहरू आक्रोशित हुन्छन्।
बुझिएन, खाँटी कुरा के हो?
बारीमा फार्टिलाइजर
घोल्दैगरेको पाराङ। अचानक
महामहिमलाई भेट्नुछ, भन्छ।
हस्याङफस्याङ हुँदै
टोक्री बोकेर कमान हिँड़्न लागेकी माइपाराङ,
काम्दारीलाइ फोनमा भन्छे;
आज मेलोमा नआउने, होम्रो जुलुस छ।
सात क्लास पढ़्दा-पढ़्दै
छोड़ेकी माइचाङ, बिघामा
जान पाइनँ भन्दै कोहोलो मचाउछे।
माथ्लो घरको
वाङा, कसको कुरा सुनेछ;
पार्टी गर्न तम्सिरहेको छ। जसको
सिङ छैन उसैको नाम तिखे भनेजस्तो।
छेमा सम्झाउँछे। तर खम्बुको
बुद्धि बाह्र बजे राती नै आउँछ। उसलाई पनि नोटिस आएको छ रे..!
सम्धीको सेलमा म्यासेज आयो...
[तिमी सबै केटाहरूलाई र्‍याडी बनाएर राख,
म यहाँबाट पनि पठाइदिन्छु। यूथहरूलाई कुरा राम्रो सम्झाउनु
यताउता नहोस्, यसपालि चैँ जोरतोड़ जवाफ दिनु पर्छ..] आन्नन् नाम्बर।
झोँकमा सम्धीको राजनीति टुप्पीबाट सल्बलायो...
कुनाबाट तुक्का सुनियो- यो गाउँमा बड़ाइ, तल्लो गाउँमा लड़ाइ र पल्लो गाउँमा पढ़ाइ
गाउँलाई सोध!

बैँस

हिउँदले कक्रिएका झार जङ्गल
र गाउँका गमलामा उम्रँदै गरेका लालुपाते,
शिशिरपछिका बसन्तमा पाक्न थालेका
सिजन फ्लावरहरू कति शोभनीय छ
तिमी चड़्दै गरेको बैँसमा।
कञ्चन्जङ्घाको सिरेटोले
टक्सिएका गुराँसका परिकार,
चाँप, चिमल र डाँड़ाका भवनहरूमा
लालि खेल्दै गरेका हाइब्रिड मेप्पलहरू आकर्सनीय छन्
तिमी चड़्दै गरेको बैँसमा।
पैयुँमा चड़ेको बैँस
जावाकुसुममा चड़ेको बैँस
गाउँभरि नै आरुबगड़ामा चड़ेको बैँस,
पारी कफेरको डाँड़ाबाट फाटेको रविको स्फूर्तिले
स्पर्श गर्दैगरेको मेरो गाउँ
कति लोभनीय छ तिमी चड़्दै गरेको बैँसमा।
तिमी चड़्दै गरेको बैँसमा
कति आकुल छन् नसाहरू
कति व्याकुल छन् दसाहरू
स्निग्ध प्रेम रोमाञ्च हुनलाई
म झर्दै गरेको बैँसमा। एकपाली रमाउनलाई
तिमी चड़दै गरेको बैँसमा।

व्याकरणका पन्नाबाट च्यातिएका शब्दहरू

मुसुमुसु हाँस्दै
हुरुरुरु बलेको शब्द वाक्यमा बस्न आयो। छुच्चा वाक्य,
पानी भएर निभाउन खोज्यो। तर शर्नार्थी वाक्यहरू
त्यसै पनि शर्नार्थी हुन्। बस्न दियो आफु अर्थपूर्ण हुनलाई।
व्याकरणका पन्नाबाट च्यातिए शब्दहरू
विन्यासका श्रृङ्खलाबाट छरपस्टिएका वर्णहरू
धुमधाम जुलुस लगाउछन् क्रिड़ा मैदानमा।
वर्ण-वर्ण, शब्द-शब्द, वाक्य-वाक्य कराउँदै जुलुसहरू
विद्यार्थीहरूलाई राजनीतिकरण नगर...भन्छन्।
वर्णहरू आफ्नै देशमा अलपत्र छन्। सबाल्टर्न भएर।
वर्णहरूको बिजोक छ। शब्दहरूले खेलाएर। खेलाउन पनि कत्ति खएलाएको
फ्रायडलाई पनि लाज लाग्यो होला। शिवशुत्रको कुराले। तिमी उत्तेजित छौ।
च्यातिएका शब्दहरूसँग क्रिड़ा गर्ने तिमी वैयाकरण, वर्णहरूको अस्तित्व
विदेशी भ्याकसिनले हराउला जस्तो छ हाम्रै देशमा। हाम्रै दिमागमा बलात्कार
भइसकेका छन् वर्णहरू वाक्यको वारीमा।
व्याकरण पसलमा हेर त! वैयाकरणहरू विरोधाभास छन्। देशी भनौँ या त
इम्पोर्टेड, परिवार नियोजनमा विकारी अविकारीहरूसमेत अझै पनि अनयौल छन्।
रूप आधार साइनो केलाउँदै हेर। सम्बन्धहरू साह्रै गाँजेमाजे छन्।
फलाना यस्ता रे... ढिस्क त्यस्ता रे... स्पष्ट भएन त, के भो?
हाम्रै घरका कुरा हो, हामी मिलाउँन। हुँदैन र?
विकसित देशका वर्णहरू सर्वत्रै डुलेका छन्। अविकसित
देशका वर्णहरू शब्द, वाक्य हुनुभन्दा पहिला नै रित्तिला जस्तो।
निन्याउरो अनुहार लिएर न्याय खोजिरहन्छ स्तापित र सिकारुका चपेटमा।
सुपारी कसले लिएको छ। रेड आलर्ट एरियाको
भित्र बस्ने सौदागरजस्तो मनमोजीमा अघाउनु पर्ने/भोकाउनु पर्ने।
आफुलाइ दाउमा हालेर कहिले खुट्टा काट्नु पर्ने, कहिले मुन्टो उड़ाउनु
पर्ने। कहिले बैठक उड़ाउनु पर्ने। अब यस्तो पनि हुन्छ होला
पेट काटेर छरितो/सुहाउँदो भएर बस्न पर्ने।
अनि त अर्थहरू अन्यौलमा परेर आफ्नै मलामी जान्छन् होला
च्यातिएका शब्दहरूलाई जिस्क्याउँदै ध्वनि मामाको घरमा।
पराधीन छन् वाक्यहरू। च्यातिएका शब्दहरूले के अर्थ बोक्लान्।
आफ्नै देशमा आफै विदेशी। वाक्यहरू पनि च्यातिएका छन्।
अर्थहरू पनि फुटेका छन्। वर्णहरू विचरा कसले न्याय दिने?
तिमी यो वर्गको, तिमी त्यो वर्गको।
तिम्रा यस्ता सहुलियत, उसका त्यस्ता सहुलियत।
चुहुने बनाइसकेका छन् शब्दभण्डार। अनर्थ बनाइसकेका छन् अर्थभण्डार।
वर्णहरू मर्दैछन्। च्यातिएका शब्दहरूसँग ध्वनि मामाको घरमा।
क्रिया यस्तै हो घरि वाक्यको शीरबाट घरि खुट्टाबाट। घरि नाभीबाट
वाक्यको मैथुन गरिरहन्छ। स्खलित भावहरूसँगै पक्षको पनि
च्यातिएका शब्दहरूमा, के अर्थ हुन सक्लान्?
व्यकरणका पन्नाबाट च्यतिएका शब्दहरू
बारम्बार बलात्कार गर्छन् वर्णको, मान्चित्रमा सम्झौता गरेर
भन्छ अस्तित्वको कुरा छ।
छाड़िदेउ अस्तित्वका कुरा घूषखोरहरू!
छाड़िदेउ मानकिकरणका कुरा द्विमुखाहरू!
ओसिएको क्रान्तिले हरेक वर्णको अस्तित्व जोगिँदैन।
ओसिएको क्रान्तिले हरेक जातिको अस्मिता जोगिँदैन।
क्रान्तिले त आमूल परिवर्तन ल्याउनु पर्छ। जसले
आलेचना गर्दा पनि सम्पूर्ण त्याग्न परोस्। जातिको। भाषाको।