अन्तरे
काका
घडीको
साटो राखेको एउटै मात्र दुमो सेख्खीने भाले बासेपछि अन्तरे काका उठ्छ। ऊ उठ्दा ठिक
३:३० बजेको हुन्छ। उठेर घर धाराको चिसो पानी अनुहारमा तीन पटक छेपेपछि उसले
दैनिक कार्य सुरु गर्छ।
अस्ति
कमान जानु हतारमा भाँच्नु नभ्याएको मकैका ढोँड आज आईतबार मिहिनेत गरेर भाँच्ने
उसले अठोट गरेको छ। त्यसैले बिहानै सुख्खा रोटी र फिक्का चिया खाएर ऊ बारीमा पस्छ।
श्रीपञ्चमीको दिन खेवर गरेको मकैको ढोँड निकै मल पनि पुगेर होला ठँस-ठँस परेका छन्
त्यसैमा सिमी पनि लगाएका थिए। अहिले ती सबै सुकेर उखेल्ने बेला भएको छ।
कमानको
लागि आईतबार भनेको एकदमै महत्त्वपूर्ण दिन हो। त्यही दिन, सबै थोक गर्नै पर्ने
हुन्छ। समाजको मिटिङ्ग, संस्थाको चन्दा, हप्ताभरिको सौदापात जमा गर्नु, बारी
कान्ला समाल्नु, लुगा धुनु, मज्जाले नुहाउनु इत्यादि-इत्यादि। यसैले यो एक दिन
आईतबार पनि नहुनु हो भने कमानका मानिस कस्ता देखिन्छन् होला। अन्तरे काका सोँच्दै
ढोँड भाँचिरहेको छ-‘फेरि पन्ध्रमा पाउने खर्चले यो सब
थेग्नु धौधौ नै पर्छ। तर के गर्ने चियाबारीको हरियाली दृश्य जत्ति नै रमाईलो देखे
पनि कमानेको मन रमाइलो हुन्न। चियाका गाछ जत्ति नै समान देखे पनि कमाने देखिँदैन।
बरु, आइया....जोरले कराउँछ।’
तल्लो
घरे माईला- ‘के भयो अई अन्तरे?’ भन्दै
उसलाई हेर्न आउँछ।
उसको
हत्केला फुटेको ढोँड तान्दा ह्वार्रै भएछ। हतार-हतार तल्लो घरे माईलाले बाँधिदिन्छ
अनि कमानको डिस्पेनसरीमा पठाउँछ।
एक्लो
अन्तरे रातभरि खुब सोच्यो। अब आफुलाई तातो चिसो हेर्ने पनि चाहिएको छ, यसो
दाउ परे भित्र्याउने भयो। कमानका सबै
हुलका केटीहरूको अनुहार स्मरण गर्यो तर उसले रुचाएको जस्तो अनुहार नै आएन। फेरि
कोख्रे पट्टिका सबै स्मरण गर्यो। एउटा अनुहार आएर उसलाई कुत्कुत्यायो। पक्कै
लगन जुरेको रहेछ, भोलिपल्टै उसले घर रमाइलो बनायो।
‘पुल्ठो पनि नठोसी बल्दैन’ भनेर धेरै पटक अन्तरे
काकाले पुल्ठो बाल्ने कोसिस गरे पनि त्यो आखिरमा बलेन नै। महिना दिनमै स्वास्नीले
उसको घर त्याग गरी कता गई कसैलाई पत्तो भएन।
अहिले
पनि दर्पणमा सूचना जारी छ-‘मेरो धर्म पत्नि म एकलो अन्तरेलाई तिम्रो
न्यानो मायाको अभाव रहेको छ। यसैले तिमी जहाँ भए पनि चाँडै घर फर्की आऊ। म तिम्रो
कुराइमा छु।’