रूपेशका नेपाली कविताहरू

12/31/2014

सृष्टि


सृजनाको कोखबाट सृजित सृष्टि सन्तानमा एउटै मात्र लक्षिणकी छोरी थिई; धनेको। तीन भाइमध्ये अरू दु छोराका दु-दु छोरा थिए। छोर-छोरको घर। अभाव त थियो नै छोरीको!
उम्रिँदै तीन पाते रहेकी छुनाले खुब माया गर्थ। उमेरले झर्रो रहेकी उसकी छुना काललाई निहु दिन चुकिन। जन्मदै आमाको ममताले पराइ बनाएकी सृष्टिलाई यो दोस्रो चोट छुनाको मृत्युले मनोस्थलमा गहिरो आघात पार्‍यो। चियाबारीको माहौल हो। गाउँले सृष्टि गरेको वातावरणमा सृष्टिको दिमागलाई फस्टाउन दिएन। नभन्दै ऊ जन्मिदा जेठा बाहुनले भनेको ठिक्कै पुग्यो - ‘यस बालकले कि त नाम राख्छे, कि त नाक काट्छे।’
‘एक दिन पेजोक तल्लो गाउँमा धनकुमारको परिवारले एउटै छोरी पनि पाउन सकेको थिएन। डाक्टरको सल्लाह नमान्दा धनकुमारका दु दाज्युले आफ्नी प्राण प्यारी पत्नीहरू गुमाउन परे। त्यसरी त्यो घरमा छोरीको अभावले भाइहरूमा निरास छाइसकेको थियो। जब धने अर्थात् धनकुमार ठूलो भयो उसलाई हतारको साथ केटी मिलाइदिएर बिहे गरिदिए।
एउटा आशा उसैमा अडिएको थियो, सबैको। नभन्दै धनेले पनि छोरीको पापा हुनु पाउँछु भन्ने भित्री मनोकामना राखेको खेर गइहाल्यो भन्न सकियो नै। उसकी पत्नीले आमाझैँ अनुहार भएको छोरलाई जन्म दिई।
यसपालि पनि सबै खिन्न भए। कमानमा सबैको हाँसो भयो। धने र उसका परिवार। ‘अब धनेले पनि छोरी बनाउने चक्करमा आफ्नी पत्नी गुमाउछ होला!’ धनेलाई खुब नराम्रो लाग्यो तर उसले केही नभनी घर फर्के।
फेरि डेढ वर्ष पश्चात् परिवारको करकापमा उसकी पत्नी दु जिउकी भई। ‘यसचोटि त पक्कै भगवानले हाम्रो मन बुझिदिन्छ होला। हे भगवान छोरी भएको घर हाम्रो पनि होस्।’-धनेले आकाशपट्टि फर्केर इच्छा जाहेर गर्‍यो। आखिरमा समयले उनीहरूको घरमा एउटी छोरी दियो। सबै रमाए। हास्नेहरूलाई धारिलो जवाफ भयो। तर समय बित्दै गयो त्यो घरमा सृजनाले सृजित गरेकी सृष्टिको तनाव सृष्टि हुन थाल्यो। किनभने पापाले गरेको इच्छा कमानको खर्चले किन्न सकेन। छोरिलाई दिन पर्ने उचित शिक्षा घर र कमानको आउजाउले भ्याउन सकेन। परिवारको रहरले मात्र छोरीको सपना पुरा हुँदैन भन्ने धनेले बुझ्न थाल्यो। त्यही कुराको ख्याल गर्दै धनेले आफुलाई झन रक्सीमा डुबाउन थाल्यो।
छोरी बढ्दै गई बाहिरको संसार बुझ्दै गई। अनि समयको लहैलहैमा पापाको माया पनि टाढिँदै गयो। पापाको सपना ठूलो थियो तर कमानको कामको दाम सानो। यसो मन नबुझेको बेला सहानुभुति दिने पत्नी समेत नरहेकोले पीडामा झन् पिउन थाल्यो। पिउँदा-पिउँदै उसले छोरीलाई पढाउने र ठूलो मान्छे बनाउने सपना बिस्तारै बिर्सन थाल्यो। ठिक पत्नी मरेको तेह्र वर्ष पुगेको रात दर्कने पानी परिरहेको बेला धनेले पिउनुसम्म पिएर पत्नीको समाधी छेउमा पल्टेर मृत्यु वरण गरेको थियो।
‘आज पनि मलाई याद छ। बिहान पहेँलीएको पापाको लाश मुसार्दै सृष्टि छेउमा बसिरहेकी थिई। तरै पनि मैले आँसु चुहाउन सकिरहेको थिनँ। किनकि जत्ति आँसु बगाउनु थियो; उसको बिहेको दिन नै बगाएकी थिएँ। त्यस दिनदेखि यता सृष्टि स्वतन्त्र भई। मैले पनि उसको दुर्गति देखेर मन नमिठो बनाउन परेको छैन। अर्थात् तँ छेस् छोरी उसको एउटा निसानी।’

चौँध वर्षदेखि लुकाएर राखेको रहस्य आफ्नो प्रेमको उपहार प्रीतिलाई सबै सुनाए र मन हल्का गरे पनि उसलाई मनमा कताकता डर भने लागिरहेकी थिई। 

दलितको त्रासदी

दलित...?
मान्छे हो कि उसको चेतना
या उपाधि हो कि कर्म,

कि भनिदिऊँ ... दमन!

समाजको  शक्तिले
भागबन्डा गरेर उब्रेको; वस्तु!
थिचिएर
पिसिएर
हेपिएर??

खोसिएको हक
लुटिएको अधिकार
गुमाएको हाँसो
हराएको समान्ताबाट निस्किएको
अमान्छे...
भनौँ दलितको त्रासदी?

दोसाँधमा हुर्किएका
सिमान्तकृत मुस्कान
दमनको काखमा चेप्टिरहेकै छन्
राजनीतिको खाँटी आवाज भएर...
मेनिफेस्टो!

प्रावधानको अक्षर भएर
पल्टिरहेको छ
दलितको प्राक्कथन
खुलेआम देशको आँगनमा,

हजूर... दलितको भाउ कति छ?

अधिकार बद्लिन्छ
भाउ फेरिन्छ
अनुहार खोसिन्छ??

दलितको त्रासदी
झाडु लगाउँदै
प्रत्येक वस्तुको अनुहारसँग मिल्ने
आफ्नो अनुहार खोज्दै
डुलिबस्छन् शब्दको छाला ओढेर!
क्रान्ति र हल्लासँग
गाउँ,
सदन अनि
मेरै घरको सँघारसम्म!

साइनु गाँस्नु
उसको उचाइले छुदैन,मेरो घरको धुरीलाई,
मित लाउनु
उसको नाताले हुँदैन, मेरो जातको मूलीलाई,

यो दलितको त्रासदी!!

कसरी जिउँछ हँ???

निबमा बन्द शब्दहरू

प्रत्येक वर्ष, महिना, हप्ता, दिन, घण्टा, मिनट र सेकेन्ड
भएर बग्ने पहाडको माटो
तराइले मुठ्ठी कसेर कसरी मेरो भन्न सक्छ?

जीवनको अलग-अलग, एकदमै अलग
अलगअलग अर्थात्
पटक्कै नमिल्ने छाला हुन् यी दुई,
यसलाई पनि लिँडे ढिपी गरेर
एउटै रङ्ग दिन खोज्छ; नक्कली अनुहार!

त्यो दिन पनि उसको
उपनिवेशिक आँखाले मेरो घरको
न्यानोपन खोस्ने सत्प्रयास नगरेको होइन,
घरबाट झङ्गल
जङ्गलबाट घर
घरबाट जङ्गल
जङ्गलबाट घर, गर्दा गर्दा
जङ्गलै प्यारो भइसकेको थियो।

बिरानो झैँ लाग्ने घरले
एकदिन प्रश्न गर्दा मात्र म पुनः बौरिएको बेला
उसले निबको धारले मेरो आगनै रेटिसकेको थियो!

वनले पनि मेरो आँसु पुछेन
छिमेकीले पनि मेरो आवाज सुनेन, 
पुछेन... नपुछोस्      झरेको आँसु
सुनेन... नसुनोस्     दबिएको आवाज
झार्नेहरूलाई...
दबाउनेहरूलाई...!

तर म उभिएको माटालाई
मैलेभन्दा अरूले बुझ्नै सक्दैन
मैलेभन्दा अरूले रुँग्नै सक्दैन
मैलेभन्दा अरूले चिन्नै सक्दैन
यसैले त यो माटाको अधिकार केवल मेरोमा छ।

उसले लुटेर
उसले खोसेर
उसले दबाएर
उसले मुख बन्द गरेर निबमा थुनेपछि
कलमलाई मेरो यही गुनासो रहिआएको छ

यो माटामा मैले मेरै अक्षर लेख्न पाऊँ!!

शब्द : अशब्द

तकदिर लेखिएको छैन
कलमको निब
फुटाएर निस्किएका शब्द: टुहुरा,

कत्तिको मन छुन्छ!
कत्तिको तन छुन्छ!
कत्तिको धन छुन्छ!
कत्तिको केके छुन्छ। तर छुन्छ
शब्दको हुर्किँदै गरेको आकर्षणले
कानुनको कालो पट्टि बाँधेर
आत्मसम्मानको ढोकाभित्र लाजको बलात्कार
भएपछि
एफआईआरको पन्ना अनि
मिडियाको बलात्कारै बलात्कारभित्रशब्द,
कुरूप भाग्यको आँसु बगाउँदै
नाङ्गिन्छ समाजको सामु
अश्लिल उपनामको नेमप्लेट टालेर।

शब्द हो.....
 लेखिदिए हुन्छ,
मेटिदिए हुन्छ।

प्रतीकवादको छाला ओढेर
प्रयोगवादको व्यवाहर गरे हुन्छ!

बस्...! शब्द हो।
बाऊको
धारिलो स्नेह चाहिएन!
दाजुको
छुकछुके माया चाहिएन!
छिमेकिको
जासूस सम्बन्ध चाहिएन!
समाजको
उपेक्षित सहानुभूति चाहिएन!
कानुनको
लोसे प्रमाण चाहिएन!

आखिर शब्दमा,
पण्डितदेखि लिएर विद्वान हुँदै
भँडुवासम्म पुग्दा पनि त्यही नियती हुँदो हो!

केवल लेखिन्छ अनि मेटिन्छ; शब्द।


सुन्तलीको विवाद

लघुकथा
चतुरे चामेले च्याप्प समाएर सुन्तलीलाई खँदिलो मुक्का कस्यो। सुन्तलीलाई ढिँडको ताकतले लड्नबाट बँचायो। तर सुन्तली रिसले पालो पर्खिरहेकी थिई
बिहानै उठ्नेबितिकै चामेले सुन्तलीलाई भन्यो- ‘आज हामी बिहानै घाँस लिएर खाजा खाइवरी बारीको तेनेमेने सकिहाल्नु पर्छ है।’ ‘अँ... हुन्छ। याँ आफु भने बिसाउने मौकाइ पाउँदैन! घरिघरि बारी-बारी भनेर नभन है।’ आँखा तर्दै सुन्तलीले बेलुकाको रिस पोखी। डोको बोक्नु आँटेको चामे छक्क पर्‍यो। ‘हँन आज यसलाई केको सनक चडिछे र बिहान बिहान निहुँ खोज्छे।’ विचार मात्र गरिरह्यो, चामेले। चुपचाप चामेको मुद्रा देखेर त झन् रिस उठेर सुन्तलीले कुखुरा धपाउने निहुँ गर्दै चामेलाई नै लाग्ने गरी ढुङ्गा टिपेर हिर्काई। रिसले केही नदेखेको बेला चामेको टाउकमा ढुङ्गाले लागिहाल्यो। अर्को ढुङ्गा टिपेर फेरि हिर्काऊँ भन्दा मात्र सुन्तलीले चामे भुइँमा लेडेको देखी। अत्तालिएर कराउँदै चामेलाई उठाउन गई।  रगताम्मे चामेको शरीरलाई सुम्सुम्याउँदै सुन्तलीले घरभित्र लगी अनि कम्पाउडरलाई लिएर आई चामे स्याहार्न बसी।
‘नसुर्ताऊ त्यस्तो गहिरो चोट परेनछ, अहिले घाउ सफा गरेर यो दबाइ खान दिनू।’ कम्पाउडर त्यति भनेर आफ्नो घरतर्फ लाग्यो। सुन्तलीले पश्चताप गर्ने सोची तर उसलाई त्यो मुक्का सम्झँदा फेरि होइन भन्ने पनि भई। त्यति नै बेला चामे टाउको छाम्दै उठ्न खोज्यो तर सुन्तलीले उसलाई उठ्न दिएन। अनि बिस्तारै चामेले सोध्यो-‘मलाई के भएको थियो?’ मुख लर्बराउँदै सुन्तलीले भनी-‘होइन, खासमा हिजो तपाईँको मुक्काको परिणामले तपाईँको टाउको फुट्यो।’ चामेले अचम्म मान्दै भन्यो –‘हिजो मैले कुटेँ? कस्तो कुरा गरेकी! तिमीलाई मेरो मायाको विश्वा छैन रहेछ। जस्तै भए पनि तिमीलाई कुट्ने कुनै विचार ममा पलाउँदैन।’
सुन्तली केही नबोली भित्र पसेर ऐनामा मुक्काको डाम हेर्न खोजी तर त्यहाँ कुनै डाम नै हुँदैन। छक्क परेर मसार्छे, कुनै दुखेको अनुभव पनि छैन। तब सुन्तलीलाई याद भई....। 

5/08/2014

१० दिने प्राकृतिक भाषा प्रशोधन कार्यशाला-२०१२


फोटो ग्यालरी
कार्यशालाको पहिलो दिन एल. डी. सी. आई. एल.का प्रमुख डा. राममुर्तीलाई 
जातीय खादा र शीरमा टोपी पहिराउँदै महाविद्यालयको छात्र।

कार्यशालाको पहिलो दिनमा  मुख्य अतिथि
 श्री निशान्त लोहागुनलाई शीरमा जातीय टोपी पहिराउँदै 
विद्यार्थीवर्ग।

१० दिने प्राकृतिक भाषा प्रशोधन कार्यशाला-२०१२

फोटो ग्यालरी
कार्यशालाको पहिलो दिन दीप जलाउँदै अङ्ग्रेजी विभागका प्रमुख डा. ईर्शाद अहमद 
अनि डा. गकुल सिन्हा अनि साथमा प्रा. कबिर बस्नेत, 
प्रा. सुजता रानी राई, डा. ललीता अहमद राई, 
डा. राममुर्ती 
अनि पश्चिम बङ्गाल शिक्षा विभागका सचिव दार्जिलिङ सरकारी महाविद्यालय

कार्यशालाका मुख्य अतिथि निशान्त लोहागुन, जे. एन. यू. दिल्ली