रूपेशका नेपाली कविताहरू

8/09/2010

कविताहरू


अझै पनि फुटाउनु छ !!

हिँही..हिँही..
हिँड़ी रहने, खुट्टाहरू
पट्यार लागे पनि, गोजीमा हात
कति न्यानो राखेको हुन्छ,

देख्ने आँखाहरू,
टटाउँदा के भो र ??
'एक्का दुक्की तीर्की'हरू
नमिलेसम्म, घरलाई भोकै लाग्दैन..!!

साचै सोध्नुहोस्..
तपाईको जुवाड़े स्वामीलाई,

भोक भनेको क्या हो ??

तर, होइन नसोध्नुहोस्
यहाँको गणितमा त 'घटाउने' मात्र छ..

'जोड़न' जान्दैनन्
'गुणा' गर्न त झन् आम्मामा..

'भाग्' गर्न अलि-अलि पाराल्याउँछ

हिजो, 'त्यै' क्षेत्रफल विषयमा
फलनाको घर फुटाएर...
वैयक्तिक स्वभिमान हाँस्दा-हाँस्दै

जुलुस कराउँदै थियो..

अझै पनि फुटाउनु छ
'गाड़धन'। 'गोजी'हरू च्यातनु छ
'गोप्य भण्डार'हरू...
विश्व नफुटेसम्म... ।


एउटा गाउँको निर्माण

यो गाउँ
सहरदेखि तल
संघर्ष बाँचेका पसिनाहरू
फलेको हुनपर्छ । जहाँ
म निर्धक्क चबाउन पाउँ
गर्‍याम-गर्‍याम ‘मकै’का दानाहरू
कहिले ‘ढिँड़ो’ ओढ़ालेर न कि
‘सतुवा’ पिसेर छोड़्न पाउँ
स्वादहरू ‘टपरी’मा ।

बेपारीका पत्ताहरूमा
‘कोदो’का रोटीहरू निर्माण गर्न पाउँ ।

समय/परम्परा
माझ ‘फापर’/फुरौलो
खुब चखाउन पाउँ ‘त्यो’हरूलाई ।

गोलाकार परिफनमा
घुमाएर ‘संस्कृति’हरू केराका पत्तामा
स्वादिलो संस्कार बनाउन पाउँ ।

यो गाउँ
शहरदेखि पर
वैँश चढ़ेर लालुपातेहरूमा
वसन्त फुटेको हुनपर्छ । जहाँ
म निर्धक्क उफ्रन पाउँ
फुत्रुक-फुत्रुक ‘मारूनी’का समालाहरूमा
कहिले ‘शशि’का रागहरूमा ‘विरहनि’का भाकाहरूमा ।

‘लहरि’, ‘टप्पा’का धुनहरूमा
खेत सजाएर ‘हलो’, ‘कोदाली’ले
पारम्परिक मञ्च तयार पारेको हुनपर्छ । जहाँ
‘अषाढ़को पन्ध्र’ खेल्दै
‘दाई’ अनि ‘धान नाच’हरूमा
मनोरञ्जन दिलाउन पाउँ ‘त्यो’हरूलाई ।

फेरि
अन्तसँगै ‘भदौरे झरि’को
‘सयपत्री’हरूमा चाड़ फुलेको हुनपर्छ । जहाँ
आगन उफ्रँदै
‘यवा’/ ‘यावा’हरू गाएको
मादलको तालमा ‘देउसी’/ ‘भैली’ सुन्न पाउँ ।

समय क्रमश :
सड़क रोपेर एउटा
साधन सुभिदाको निर्माण गर्दै
बीजहरू छरेर वैज्ञानिक्ताको
भू-मण्डलीकरणले स्वस्थ विचारको
सूत्रपात गरेको हुनपर्छ । जहाँ
म निर्धक्क दिन पाउँ
पुस्तकालयका ‘गोटी’हरू बिहान बेलुकिका
खुरागहरूमा ‘महेशका भक्त’हरूलाई ।।


कहिलेकाहीं त: यो बिहान।

केही परिश्रममा
त्यो साँझ । भक्कुचूर
भुँड़ीलाई आन्नद मिलेपछि
नाइटोले पनि गर्व गरेको पाउँचु ।
तर, त्यो रात आन्नदको
सपनासँग रमाइ नसक्दा ।
भालेहरूको डाकमा,
सम्झौता गर्न
कर्णहरू बाध्य बनेको पाउँछु ।

अनि त्यो सपनाको
न्यानो स्पर्श छोड़ी
अ...पु...रा गाँसहरू,
पुरा गर्न । बिहानको प्रतीक्षामा
गरीबिहरू कुरिरहेको पाउँछु ।

कहिलेकाहीं त, यो बिहान,
घनश्यामहरूको घुम्टोमा
पूञ्जीवादहरूको अत्याचारले
बासी रोटीसँग खेल्दै
उदाएको पाउँछु ।

यसरी नै, अंश-अंशहरू
सिङ्गै नभएर, फीका
चियामा एउटा आयाम थप्ने
दूध पनि फाटेको पाउँछु ।
तसर्थ,
कहिलेकाहीं त, यो बिहान
चिनीसमेत सिद्धिए...
कस्तो हुन्छ होला ?


तर… कविता…

फर्केर हेर्छु,
अतीत उभिएको छ,
जसरी वर्तमानमा म उभिएको छु

तै पनि प्रयास, मसँग
भविष्यको अङ्गालोमा बाँधिएको छ
आशा लाग्छ । धेरै भयो
म कुरिरहेछु तिम्रै प्रतीक्षामा
एक तमास दत्तचित्त भएर
तर…
कविता किन आएनौ ?
दैनिक दर्पण हेरिरहन्छु/देखिरहन्छु

भविष्यको मज्बुत पकड़मा
चियाको घुट्कीसँगै/सुरूप्प
मरेकी छैन…
त्यसैले आशाका पृषठ-पृष्ठमा
तिमी पाउन पर्ने/हुनु पर्ने
तर…
लागी परेर सपना
तिमी र म माझ
फीतलो भएर/वेस्वाद
सपना, सपना नभएर
विपना हुनसक्छ/विकल्प
यसर्थ…
आकाशलाई शशि भए
भानु पलायन हुनपर्छ,
अर्कै संसार रोज्न पर्छ,
ह्रदयमा आघातका पत्र-पत्र जमाएर…

कतै कविता फोजिल त भएन ??


गाउँ विउँझेर शहर तर्सियोस् ।

दानाहरू,
लाम्चिलो, डल्लो
केही सानो, ठूलो पनि
प्रयास गर्दैछु, छुट्ट्याउने ।

‘वीरबहादुर’हरू,
गाउँका, गरा बिराउँदैछन्
रोप्नलाई क्रान्ति, भुँड़ि अघाइन्जेल ।
‘वुद्धिमान’,
सुटुक्क, शहर रोप्न भन्छन्
अरू, के...के पनि !

पापा, शहर कसरी बस्यो होला ?

यो, उत्तर दिनु छ
शहरबाट गाउँ चियाएर
गोजिमा ‘न्यानो’ हात घुसारेर ।

म,
आफैलाई हेरदैछु
मान्छे उभिएर
गुन्द्रुकको सुप पनि पिउँदैछु ।
अलिक त....ल देख्दैछु
बगर खोला पटक्क नमिलेको
किन होला ?

उसले धर्ती थुक्यो,
मैले आकाश थुके । अनुहार भिज्यो
सोच्दैछु किन भिज्यो ?
शृङ्खलित विशृङ्खलताले हो कि
साक्षर अशिक्षितताले हो !!
तर..अहो !
पार्थक्य देख्दैछु, गाउँ शहर माझ ।
यसैले त!
गाउँ बिउँझेर शहर तर्सियोस्
विकासले माला उनियोस्
शिक्षाले सन्दुक बनियोस् ।।

(शहर, गाउँतिर पस्दैछ रे)


ढुङ्गामा पलाएका ‘खरूकी' ।

इच्छा नभएको होइन टिप्न
आकाशको त्यो चम्किलो तारा
तर,
जमर्काहरू छरपष्टिँदा
भुँइमा ‘ब्यागुता’को,
उफ्राइमा ताल परेन,

‘रक्त पिपासु’ पल्केर सायद
चुस्न जान्छ ‘गैँड़ा’लाई
तर,
सपनाहरू हाँस्दै गेरेको
वरिपरि ‘मच्छड़’को,
टोकाइमा ताल परेन,

लुछ्न मन नलागेको होइन
तृष्णाले त्यो मान्छेलाई छोप्दा
तर,
चाहनाहरू घुम्दै गरेको
गल्लिमा ‘कुकुर’को,
झम्टाइमा ताल परेन,
तसर्थ,
झ्वाम्म फाल हान्छे ‘चाहना’ले
बग्दै गरेको पानीमा,
सुटुक्क आत्माहत्या गर्छे ‘सपना’ले
हुर्कँदै गरेको रूखमा,
थ्याच्च बसिदिन्छे ‘तृष्णा’ले
सल्कँदै गरेको आगोमा,

आहा... !
अपत्यारिलो विनाश,
चिच्याँउदै ‘पश्चाताप’ले भन्छ..
अहम...हामी !
ढुङ्गामा पलाएका ‘खरू’की !!


हाँसोभित्र पश्चाताप !!

चहारी पहाड़ सकेर
तराई लागेका भेड़ाहरू
भुँइ हिड़न नजानेर
आकाश उड़्न खोज्छन् ।

अलिक प...र उभेर
म, तटस्थ विचारको बिउ
ती भेड़ाहरूलाई
ढ्याउ नगरेसम्म कोचार्न खोज्छु
क्रोदित अनुहार विछ्याएर,
संकालु आँखा च्यातेर,
तर लाम लागेर एकोहोरो भेड़ाहरू
ऊनको व्यापारमा तराई फैलिन्छ,

फैलावटमा तराई फैलिएर,
हेप्पिएर घामबाट यता उता
पोथ्राको सियाँल पुग्छ ।

लरतरो त्यो सिँयालमा
असीम सृजनाका पसिनाहरू
व्यर्थ सहिद हुन्छ
जिन्दगीलाई बेरमाइलो ढाँटेर,
तर, सठ भेड़ाहरू
स्याल हुन नसक्दा
दुखी छैन कति पनि ।

अधिक आनन्दानुभूति छ
अनुभवले परिपक्व ।

अफ्सोस, अब तराईमा
जति हेप्पिए पनि घामबाट ।
सिँयालको आवश्यक्ता पर्ने छैन
मानौ, त्य़ो पोथ्रामा कसैलाई ढाट्न पाउने छैन,

बिर्सिएर यदि छरिदिए
त्यो फेरि कोपिला बन्नेछ,
कयौँ आशा नजानेर समय गर्वले फुल्नेछ,
फेरि हारेर कलकलाउँदो वैशमा
प्रकृतिलाई छलेर ओइलाउने छ !!


प्रुफ रिडिङ्ग...

किन हो ?
गुणिलो शब्दहरूको भारी बोकाएर,
प्रशंसाले, थप्प़ड़ कसे... त्यो समय
जहाँ, रूढिको होहरेमा
परम्परावादी बनेर,
उपाधी पाउनलाई आलुको ।

किन हो ?
‘दौरा सुरूवाल’, चटक्क सुहाएको,
वाचन गर्दै रामायण,
तर, व्यङ्ग्यले पहिर्‍यायौ
खादाहरू ‘भानुभक्त’को ।

बुझ्न नसकेर त्यो समय,
डिकीच्याँउ, मार्छु भन्दैमा रणे,
परिबन्दमा परे ।

यो समय,
तनावले ग्रस्त छ, खप्पर मेरो
‘भैरव’को टाउको जे भन्दा नि भो…

चाउरिएको बिहानी खबर ल्याउँछ दर्पण
किसिम-किसिमको/यौवन उत्पिड़नको…
‘सोमदत्त’लाई ‘मनुवा दह’ के थाह ?
सक्रिय छे, ‘विजय’की ‘मिना’
‘सकम्बरी’ भएर अयोग्य…

‘इन्द्रशेखर’ ‘भ्रमर’ बनोस जति
‘अनुराधा’ पर्वाह गर्दिनन् त्यो…

फगत, ‘रणे’ अझ माछाको मोल खोजी हिँड़छ
‘सेन्टिगो’ पहिल्यै धोइसके हात,
‘फिलातोस’ छक्क नपरून किन ?

बकायदा कानून अन्धा छ,
मन्दिरमा ‘फूल’को हत्या भयो किन ?

‘असोक’ पुन: कलिङ्गा लड़न तयार छ
‘बुद्ध’ निर्वाणा प्राप्त गर्नुछ…

महाभारत त भइसके दाज्यू-भाई माझ
अब हुने.... के

‘भिष्म’लाई दिएको पानी ‘अर्जुन’ले
मेरो अनुहारमा,
झस्किए ‘चक्रपाणि’को ‘बुढ्याई’सँग…
तसर्थ,
‘पुष्कर’को शत्रु खोज्दै,
जिन्दगी कविताको प्रुफ रिडिङ्गमा,
हेर्दैछु, पूर्वदिप्ति केवल,
पूर्व प्रशंसाले भुलैभुल
यथार्थको, ‘दोषी चश्मा’मा ।।


प्रेम र प्रेमीहरू ।

प्रेम ‘जिन्दगी’ रहेछ
दुई नाताको अनुभव,
अनि प्रेमीहरू,
‘मुटु’ र ‘कलेजा’ रहेछन् ।

प्रेम ‘रोमान्टिक’ रहेछ
चुम्बन र स्पर्शको समिस्रण,
अनि पेरमीहरू,
‘चखेवा’ र ‘चखेवी’ रहेछन् ।

प्रेम ‘धड़कण’ रहेछ
बेवास्ता र लाचारको घरजम,
अनि प्रेमीहरू,
‘श्रावन’ र ‘ध्वनि’ रहेछन् ।

प्रेम ‘खोला’ रहेछ
एकान्त र आनन्दको सरगम,
अनि प्रेमीहरू,
त्यहाँका ‘बालु’ र ‘शिला’ रहेछन् ।

प्रेम ‘शिखर’ रहेछ
परिश्रम र दृढ़ सङ्कल्पको संगम,
अनि प्रेमीहरू,
‘हिम’ र ‘प्रभात’ रहेछन् ।

प्रेम ‘पत्झड़’ रहेछ
शिशिर र बसन्तको मिलन,
अनि प्रेमीहरू,
‘मुना’ र ‘वृक्ष’ रहेछन् ।

प्रेम ‘नाटक’ रहेछ
दर्शक र रङगमञ्चको समीप,
अनि प्रेमीहरू,
‘नायक’ र ‘नायिका’ रहेछन् ।

प्रेम ‘अन्धो’ रहेछ
घात र प्रतिघातको उद्गम,
अनि प्रेमीहरू,
‘जीवन’ र ‘मृत्यु’ रहेछन् ।

प्रेम ‘शहीद’ रहेछ
निडर र शहासको परिणाम,
अनि प्रेमीहरू,
‘रोमियो’ र ‘जुलियट’ रहेछन् ।।


फेसनका गियरमा कोक्तेल सेल्प ।

कला साँच्चै देखेर
‘भानू’ क्षीतिज भूलेछ,
कला साँच्चै देखेर
‘शशि’ आकाश भूलेछ ।

आकाश टुसाएर बाँस
धर्ती बढ़दैछ
पालुवा मौलाएर इच्छा
हाँगा फैलँदैछ ।
कोपिले चाहना फूल फक्रँदैछ ऊ
टिनेजर सोँच कोक्तेल
हाँक्दैछ ऊ ।

‘कलाकार सजाई बाँसे शरिर ट्याटुले’

तलबाट हुत्तिएर हावा ठेल्दैछ ऊ
गियर बद्लेर धुँवा फेक्दैछ,
‘उकालोमा नतानेर ऊ फोरविल लगाउन पर्‍यो‘
डाड़ा भाटाको त कुरै छैन
पोस/बिम पनि
लथालिङ्ग छ/भताभुङ्ग छ ।
एकशल भाच्चेर अहिले
फीटर रूङ्दैछ ऊ
स्प्रीङ भाँच्चेर अहिले
शरिर थमाउँदैछ ऊ ।

समय ओखर हो
लिभर कम्जोरलाई हँदैन !
समय थ्रिलर हो
मुटु कम्जोरलाई हँदैन !!

त्यसैले,
हीउँ कक्रिएर पाइताला सेकाउँदैछ ऊ
नट् खुस्किएर क्रिपा देखाउँदैछ... ।।


बसेका छन्: ‘गाउँ’मा ‘परम्परा’हरू ।

‘गाउँ’
यस्तै हो,
दु:खी पनि छन्/सुखी पनि
कसैको चुल्हा ‘हुरूरू’ बल्छ/कसैको ‘धुँवा’
कसैको भाँड़ामा ‘नुनिया’ पाक्छ/कसैको ‘अलुवा’
तर
यहाँ बसेका छन् ‘परम्परा’हरू
‘खुट्टा’ तान्ने/ ‘लङ्की’ लाउने

‘गाउँ’
यस्तै हो,
पीड़ित पनि छन्/कुण्ठित पनि
कसैको घर ‘स्वर्ग’ हुन्छ/कसैको ‘नर्क’
कसैको करमा ‘कलम’ हुन्छ/कसैको ‘हतियार’
तर
यहाँ बसेका छन् ‘परम्परा’हरू
‘पोलजस’ गर्ने/ ‘आगो’ लाउने

‘गाउँ’
यस्तै हो,
तिरस्कृत पनि छन्/वञ्चित पनि
कसैको मन ‘अन्धकार’/ कसैको ‘उज्यालो’
कसैको आगनमा ‘उन्नति’/कसैको ‘अवन्नति’
तर
यहाँ बसेका छन् ‘परम्परा’हरू
मान्छे ‘भड़काउने’/ ‘आँखा’ लगाउने

‘गाउँ’
यस्तै हो,
शिक्षित पनि छन्/शाक्षर पनि
कसैको कर्म ‘ज्योतिर्मय’/कसैको ‘खोटो’
कसैको थाप्लोमा ‘गाउँ’ छ/कसैको ‘कर’
तर
यहाँ बसेका छन् ‘परम्परा’हरू
‘डोको’ बोकाउने/ ‘हँसिया’ थमाउने

‘गाउँ’
यस्तै हो,
व्यवस्थित पनि छन्/अव्यवस्थित पनि
कसैको ‘महल’/कसैको ‘झोपड़ी’
कसैको ‘आधुनिक्ता’ जल्छ/कसैको ‘प्राचिन्ता’
तर
यहाँ बसेका छन् ‘परम्परा’हरू
‘गधा’ बनाउने/ ‘गोरू’ बनाउने

‘गाउँ’
यस्तै हो,
आस्तिक पनि छन्/नास्तिक पनि
कसैको ‘आमिष’ पाक्छ/कसैको ‘निरामिष’
कसैको खाटमा ‘धुपौरे’ बस्छ/कसैको ‘मतौरे’
तर
यहाँ बसेका छन् ‘परम्परा’हरू
‘धर्म’ साट्ने/ ‘इमान’ बेच्ने

‘गाउँ’
यस्तै हो, यसै र ! त !!
धुलैधुलो छ/हिलैहिलो
फुस्रैफस्रो/अन्धकारै-अन्धकार !!
धर्सैधर्सा/कोत्रैकोत्रा - विश्रृङ्खलित
तर
यहाँ बसेका छन् ‘परम्परा’हरू
‘कान’ थुन्ने ‘आँखा’ चिम्लने…

(यसै र त ‘गाउँ’ ‘शहर’देखि भिन्न छ)


बाह्य स्मृति दापबाट...

स्वस्थ
तर, अस्वस्थ,
कति रोए ‘दार्जीलिङ’,
ठीक, म बाल्यावस्थामा थिएँ ।
आशा
तर, निराशा,
कति रिक्त भावना,
ठीक, म अक्षरावस्थामा थिएँ ।
‘ख’
तर, ‘भू’
कति खोजे बिकल्प
ठीक, म यौनावस्थामा थिएँ ।
भोक
तर, भोजन
कति यत्न प्रत्याशा
ठीक, म भोगावस्थामा थिएँ ।
विवेक
तर, पिँजड़ा
कति चाहे स्वतन्त्र
ठीक, म बाध्यतामा थिएँ ।
चीर
तर, नग्न
कति लागे कलङ्क
ठिक, म लथालिङ्ग थिएँ ।
पाए
तर, खोसिए
कति लुटे अस्मिता
ठीक, म वेहोशीमा थिएँ ।
मान
तर, अपमान
कति सहे उनले
ठीक, म षड़यन्त्रमा थिएँ ।
देखे
तर, अन्धो
कति भए सहिद
ठीक, म मेचमा थिएँ ।
कलम
तर, हिंसा
कति पढ़े ‘मुर्ख’
ठीक, म सन्धानमा थिएँ ।
सम्झौता
तर, विडम्बना
कति पर्खे ‘दार्जीलिङ’
ठीक, म अन्योलमा थिएँ ।
उन्नति
तर, अवन्नति
कति देखे भ्रष्टचार
ठीक, म महलमा थिएँ ।
सम्झे
तर, बिर्से
कति हतास आत्मा
ठीक, म चिकित्सामा थिएँ ।
यत्न
तर, विफल्
कति फोरे चक्षू
ठीक, म नजरबन्दमा थिएँ ।
विश्वास
तर, घात
कति फिक्सन ‘प्रदेश’
ठीक, म मुट्ठिमा थिएँ ।
विजय
तर, पराजय
कति भए अन्य
ठीक, म स्तिपामा थिएँ ।।


भूत... ।

स्मृति काँड़ादार,
अन्तरालमा पारो चड़्छ,
डर, त्रास, शान्तिको प्रस्थान,
आँट बटुल्छु ।
गाजेर लछार पछार गर्दै
भूतको विम्बले, शरीरै शिथिल,
सारा जिन्दगीनै शिथिल,
निशाको काखमा फालिएको म,
छट्पटाएँ केही क्षण,
प्रकाश कहाँ छौ ?
प्रश्न गरे,
तर,
निशाको आलिङ्गनमा
बेहोश...बेहोश...म,
स्मृतिपटमा केवल भूतको भय
चिच्याँउछु, असन्तुलित झैं
म कहाँ छु ? किन छु ?
मौन...
अत्तो पत्तो छैन,
भूलेछु तीनै समय
‘जिउँदो लाश’ सरह,
मैले जिउने गरेको...
सहारा खोज्छन्, पलाएका यी हातहरू
सायद केही गर्नलाई,
जान्न खोज्छन्, जमेका यी मस्तिष्क
केही भन्नलाई, तर
प्यारालाइज झैं लम्पसार
दोक्चाएर वेहोश...

न्या...नो स्पर्श विपनाले
तान्दै गरेको मलाई
वर्तमान र भविष्यले ।।



रिपेरिङ जिन्दगीको ।

कलाले सायद
सृजन गरेका,
कल्कलाउँदा जिन्दगीहरू,
स्तनपान भूलेर
‘सेरलेक्स’ चुसिरहेछ ।

यूरिया डेफीले हलक्कै बढ़ेका
‘लेक्टोजन वेवी’हरू
ब्ल्याकमा तेल हालिरहेछ ।

मृत्यु बाँचेका जिन्दगीहरू
‘बगड़ा’, ‘अलुवा’ जोह नगरेर
तम्सिन्दै प्रतियोगिताहरू
हवा चुस्न थालिरहेछ ।

पुन: स्केनिङ जाँच,
कम्प्यूटर ‘कारबेटर’ खोतलिरहेछ
‘फिटर’ ग्यारेजमा ।

अथाह,
‘रिपेरिङ जिन्दगी’को लागी परेर
फेसन गोटीमा,
आरोह ~ औरोह
जिन्दगीको सेल्प नलाग्दा,
पार्टसहरू घुमाउन
छाड़ेछन् ‘डायनामा’ले ।

अन्वरत, कम्पनिका ‘ब्राण्ड वाहन’
ब्ल्याकका तेल गोटीले...
अथाह, ‘रिपेरिङ जिन्दगीको’
भइदिएछ मुल्य ‘पत्रू’ को ।।



...शताब्दी कैदी

बामे सर्दै खुट्टाले
उभिन खोज्दा बालकलाई,
आभास हुन्छ, चक्कर
लगाएका पृथ्वीले वरिपरि सूर्यका ।

जिज्ञासाले समयसँगै उभिएर
आधुनिक/उत्तर-आधुनिक्ताका
उपजहरू कैद गरेर आदिमताको बट्टाभित्र
तय गरेकोछ ‘एकजोटिक’ संसार ।

पढ़कन आँटेको छ, ऊ
फुट्न आँटेको छ । किनकि
उसले तय गरेको संसार
उसलाई त्यहीँ सर्बस्व छ । ठिक्क छ ।

यसैले त ‘निलो संसार’मा
आदिमता चियाउने गरेको छ
‘हरियो संसार’ नङ्ग्याएर ।

उसलाई त्यहाँ
ऐश...आराम छ,
यद्यपि संकुचित हुने गरेको छ
ऊ। अस्मिता कोत्र्याएर !
अब,
विश्व सोच्न स्कदैन ऊ
‘ख’बाट ‘भू’ सोच्न सक्दैन !

विज्ञानको खेलाउना/कम्प्यूटरको कैदी
माउस असको प्राण !
वेबसाइट उसको आदिम्ता !!


समय बोल्दैछ ...

नहुनु पर्ने
तर, भइदियो ।
नसोच्नु पर्ने
तर, सोचिदियो ।।
त्यस समय,
साह्रै दुख्यो होला ‘पीड़ा’ !
त्यस समय,
साह्रै दुख्यो होला ‘बीड़ा’ !
त्यस समय,
चुपचाप सहिरह्यो असहाय
लुटिसकेर अगावै ।
त्यस समय,
आमुक सहिरह्यो आर्तनाद
फुटिसकेर दर्दनाद ।
तदपि, ‘अमेरिका’ थर्कियो
आफ्नै अहमले
‘चायना’ ठुस्कियो
आफ्नै घुर्कीले ।

समय बोल्दैछ शान्ति कायम राखौँ,
बुझेर नीति ‘गान्धी’को
अस्मिता खोजौँ ‘जाति’को ।।


प्रतियोगिता ।

भाग-दौड़को जिन्दगी
अन्त-कतै,
टुङ्गिने पो, हो कि !
समस्या-समाधानको जिन्दगी
अन्त-कतै,
लहसिने पो, हो कि !

‘अपङ्ग’ सड़क,
‘लाचार’ पाइलाहरू,
अल्मलिरहेछन्
शहरको सागुरोपन,

यसो ! सोचु त
जिन्दगी, ‘रहस्यमय’ रहेछ
रङगी-चङ्गीको घेराईमा,
यसो ! सोचु त
जिन्दगी, ‘प्रतिस्पर्धा’ रहेछ,
प्रतियोगीको हेराईमा ।।


‘अथाह’

सहारा दियौ
आश्रित बने,
माया दियौ
लाभान्वित बने

यस्तै ‘हृदयहीन’ म
स्वच्छन्दमा झस्के ।

प्रेरणा दियौ
प्रेरित बने,
हौसला दियौ
जागृत बने

यस्तै ‘अस्तित्वहीन’ म
यथार्थमा झस्के ।।


चित्त बुझ्दैन किन ??

कुन्निकिन,
बालक छँदा ‘देवता’ले
सुनाएका उखानहरू,
‘ममा’ले दिएका उपदेशहरू,
काँड़ा उमारेर शरीरमा
कुत्कुत्याउँथ्यो इच्छाहरू। इच्छाहरू,
सुप्त होइन,
सन्निपातजस्तो। अनाम वेस्वाद।

वेस्वाद पास्नी गरेर इच्छाले मनको
चित्त बुझाउन सकिएन। सकिएन सनतुष्टी पाउन
अखानो पारेर छोड़ेको ‘वच्चा’जस्तो
सड़कमा चित्त बुझाउन व्यस्त दुनियालाई
‘ममा’ भनेर/ ‘देवता’ भनेर।

भनेर कसैलाई,
चित्त बुझ्दैन। बुझोस् पनि किन!!
‘वाद’हरू आआफ्ना झोलामा
‘कपट’ बनेर ठह्रै भइसके ‘तेस्रो ववश्व।


विश्वभा अब चित्त कस्को बुझ्ला र ???
यै चित्त बुझाउन,
‘सुङ्गुर’ले जून चियाउन थालेको छ। ‘सम्बन्ध/साइनो’
लजाउन छोड़ेको छ। गाउँघरमा सहरमा, कुनै एउटा
‘अँध्यारो कोठा’देखि ‘उज्यालो आगन’सम्म।

आगनसम्म साँगुरिएर
डल्लिएको छ व्यवहारिक्ता,
खस्किएको छ सौहार्दता, सभ्य समाजमा। समाजमा,
कर्के आँखा’हरू इर्ष्या च्यापेर,
हाँक्छन् फुर्सदका गफहरू
प्रदुषित चित्त बुझाउन,
खल्लो मानदै मानवता।

मानवता, कहिले मलामी भएर,
कहिले जन्ती भएर
सामाजिक बनेजस्तो गरी,
नाली ओह्रालो बारी र कान्ला हुँदै
बहुलट्टी भएर, स्वास-प्रस्वासमा बहिरहन्छ !!


विचार उक्लेन तर...

हिजै जस्तो लाग्छ,
सन्तोष स्नातक सिद्ध्याएर
स्नातकोत्तरमा भर्ना भएको।

आज समस्या भयो रे...
घरको, गाउँको अनि समाजको।

यो समाज कसले बनायो??
यो नियम?

सोँच्न वाध्य परेको छ
एउटा नया समाज अविष्कार गर्नलाई
एउटा नया नियम,

जसमा बठ्याँइहरू उफ्रने छैन
सङ्किर्णताहरू चिच्याउने छैन।

सहरकाहरू भित्ता च्यातेर
मृत्यु रोप्दैछ रे...
अहममा फुलिएर काल।

(प्रत्येक भवनहरूमा उक्लन्छन्/ ओर्लन्छन्
खुट्टा हिँड़न नजानेर/ चप्पल बिर्सेर)

विचार उक्लँदैन तर...
भवनहरूको छतमा
प्राचिन्ता/ आधुनिक्ताको सँघार टेकेर।

सोँच्दैछ ऊ
असन्तुष्ट भएर, विद्याको सिरान लाएर...
"यहाँ स्वच्छ समालोचना हुर्काउन सके,
यहाँ स्वच्छ विचार पड़काउन सके,
निर्मूल हुनेथियो होला खरावीहरू",

अनि, अक्षरहरू प्रयोगशालामा
टेस्ट ट्यव खेलाउँदै गरेको हुनेछ
गाअँको बीज घोल्नलाई/ अनुहारभरि हाँसेर।।


घोषणा पत्र ।

'मान्छे'को एउटा देशमा
'मानवता' पलायन नहोस्
'मानवता'को एउटा देशमा
'समान्ता' पलायन नहोस्,

किनकि यो,
'लिङ्कन' जन्मेको देश,
'गान्धी', 'तुङ्', 'ग्वेभारा', 'नेहरू', 'मार्कस',
'ग्यालिल्यो', 'कावावाता', 'रविन्द्र', जन्मेको देश

यी जन्मेका देशमा,
'उत्तराधुनिक शब्दहरू'
ताण्डव मचाउँदैछन्

'मार्कस्'को खिल्ली उड़ाउँदैछन्,

'रविन्द्र'को त! के कुरा
'तुङ्', 'ग्वेभारा' झुटा बने
'राजाराम', 'लिङ्कन' मिथ्या बने,

कुवुद्धिमा सुत्र, सत्रु बन्दैछ
षड़यन्त्रले होसियार भन्दैछ
आक्रोशले पड़कने ठाउँ खोज्दैछ

तब
'गान्धी' के गर्ने??



मेरो गाउँको बाटो...

बर्खा लाग्छ... फेरि हिउँद...
क्रमशः फुल्ने, फल्ने, फक्रने अनि फलाउने
क्रमहरू अन्योलमा पर्छ, प्रकृति।

मेरो गाउँको बाटो...
हिलै छ, कताकता चुहेको छ। कहीँकहीँ फाटोको छ।

दर्जी अचेल गाउँमा छैन। फाटेको सिउनलाई।
एमसी अचेल दोकानमा छैन। चुहेको टाल्नलाई।

अनि...
यो बाटो उहिले पनि यस्तै थियो रे...
अहिले पनि यस्तै छ। परिचयहीन। परिचय खोज्दा खोज्दा
यो बाटोले त्यही खिही सकेको चप्पल
त्यही गम्बुट र पानी जुत्ताको आवाज सुनाउछ
आधारातमा, कहिले बिहानै ठिहीमा।

कहिले त्यही आवाज हिस्सी परेर
गन्गनाउदै डोको बिसाउछ, बिड़ी खानलाई
गरीबि डड़ाएर। तरै पनि त्यो बाटोको
खोकन्दी साह्रै गन्हाउछ, पर्फ्युम नपाएर
डेनिमहरूमा घोलिनु नपाएर।

यसै र यो बाटोको पनि कति
इच्छा होला! नाम्लोमै तुहेर गए...
कति सपना होला! डोकोमै रित्तिएर गए...

यो मेरो गाउँको बाटो...!!


स्थगित कुरा...!!

गाउँलाई थाहा छैन

आज विहानै शहरले पढ़ेको खबर।

खबर पढ़ेर शहरले

गाउँतिर हेऱ्यो, गाउँ साह्रै आदर्शवादी।

गाउँ साह्रै पारम्परिक।

घरदेखि बारी, बारीदेखि घर...


हँसाइको आयाम जोड़्न सकेको छैन गाउँ

बसाइको आयाम थप्न सकेको छैन गाउँ

कस्तो जिवन उसको, एकोहोरो?

वरदेखि पर, परदेखि वर...


गाउँलाई थाहा छैन

आफ्नो खबर...। खबर बेखबर छ।

खबरमा कुरा स्थगित छ

गाउँको, यस्तै अरू के... के... पनि

जुन तिमी हामीलाई थाहा हुँदैन


कुरा स्थगितको। तरै पनि गाउँले

सोँचेको होला आयाम थप्नलाई हँसाइहरूको।

खेतमा, उसको जन्मभूमीमा।।









1 comment: