रूपेशका नेपाली कविताहरू

5/20/2011

व्याकरणका पन्नाबाट च्यातिएका शब्दहरू

मुसुमुसु हाँस्दै
हुरुरुरु बलेको शब्द वाक्यमा बस्न आयो। छुच्चा वाक्य,
पानी भएर निभाउन खोज्यो। तर शर्नार्थी वाक्यहरू
त्यसै पनि शर्नार्थी हुन्। बस्न दियो आफु अर्थपूर्ण हुनलाई।
व्याकरणका पन्नाबाट च्यातिए शब्दहरू
विन्यासका श्रृङ्खलाबाट छरपस्टिएका वर्णहरू
धुमधाम जुलुस लगाउछन् क्रिड़ा मैदानमा।
वर्ण-वर्ण, शब्द-शब्द, वाक्य-वाक्य कराउँदै जुलुसहरू
विद्यार्थीहरूलाई राजनीतिकरण नगर...भन्छन्।
वर्णहरू आफ्नै देशमा अलपत्र छन्। सबाल्टर्न भएर।
वर्णहरूको बिजोक छ। शब्दहरूले खेलाएर। खेलाउन पनि कत्ति खएलाएको
फ्रायडलाई पनि लाज लाग्यो होला। शिवशुत्रको कुराले। तिमी उत्तेजित छौ।
च्यातिएका शब्दहरूसँग क्रिड़ा गर्ने तिमी वैयाकरण, वर्णहरूको अस्तित्व
विदेशी भ्याकसिनले हराउला जस्तो छ हाम्रै देशमा। हाम्रै दिमागमा बलात्कार
भइसकेका छन् वर्णहरू वाक्यको वारीमा।
व्याकरण पसलमा हेर त! वैयाकरणहरू विरोधाभास छन्। देशी भनौँ या त
इम्पोर्टेड, परिवार नियोजनमा विकारी अविकारीहरूसमेत अझै पनि अनयौल छन्।
रूप आधार साइनो केलाउँदै हेर। सम्बन्धहरू साह्रै गाँजेमाजे छन्।
फलाना यस्ता रे... ढिस्क त्यस्ता रे... स्पष्ट भएन त, के भो?
हाम्रै घरका कुरा हो, हामी मिलाउँन। हुँदैन र?
विकसित देशका वर्णहरू सर्वत्रै डुलेका छन्। अविकसित
देशका वर्णहरू शब्द, वाक्य हुनुभन्दा पहिला नै रित्तिला जस्तो।
निन्याउरो अनुहार लिएर न्याय खोजिरहन्छ स्तापित र सिकारुका चपेटमा।
सुपारी कसले लिएको छ। रेड आलर्ट एरियाको
भित्र बस्ने सौदागरजस्तो मनमोजीमा अघाउनु पर्ने/भोकाउनु पर्ने।
आफुलाइ दाउमा हालेर कहिले खुट्टा काट्नु पर्ने, कहिले मुन्टो उड़ाउनु
पर्ने। कहिले बैठक उड़ाउनु पर्ने। अब यस्तो पनि हुन्छ होला
पेट काटेर छरितो/सुहाउँदो भएर बस्न पर्ने।
अनि त अर्थहरू अन्यौलमा परेर आफ्नै मलामी जान्छन् होला
च्यातिएका शब्दहरूलाई जिस्क्याउँदै ध्वनि मामाको घरमा।
पराधीन छन् वाक्यहरू। च्यातिएका शब्दहरूले के अर्थ बोक्लान्।
आफ्नै देशमा आफै विदेशी। वाक्यहरू पनि च्यातिएका छन्।
अर्थहरू पनि फुटेका छन्। वर्णहरू विचरा कसले न्याय दिने?
तिमी यो वर्गको, तिमी त्यो वर्गको।
तिम्रा यस्ता सहुलियत, उसका त्यस्ता सहुलियत।
चुहुने बनाइसकेका छन् शब्दभण्डार। अनर्थ बनाइसकेका छन् अर्थभण्डार।
वर्णहरू मर्दैछन्। च्यातिएका शब्दहरूसँग ध्वनि मामाको घरमा।
क्रिया यस्तै हो घरि वाक्यको शीरबाट घरि खुट्टाबाट। घरि नाभीबाट
वाक्यको मैथुन गरिरहन्छ। स्खलित भावहरूसँगै पक्षको पनि
च्यातिएका शब्दहरूमा, के अर्थ हुन सक्लान्?
व्यकरणका पन्नाबाट च्यतिएका शब्दहरू
बारम्बार बलात्कार गर्छन् वर्णको, मान्चित्रमा सम्झौता गरेर
भन्छ अस्तित्वको कुरा छ।
छाड़िदेउ अस्तित्वका कुरा घूषखोरहरू!
छाड़िदेउ मानकिकरणका कुरा द्विमुखाहरू!
ओसिएको क्रान्तिले हरेक वर्णको अस्तित्व जोगिँदैन।
ओसिएको क्रान्तिले हरेक जातिको अस्मिता जोगिँदैन।
क्रान्तिले त आमूल परिवर्तन ल्याउनु पर्छ। जसले
आलेचना गर्दा पनि सम्पूर्ण त्याग्न परोस्। जातिको। भाषाको।

No comments:

Post a Comment