रूपेशका नेपाली कविताहरू

6/20/2011

जेन कविता

१. सबल्टार्न बामे सर्दै गरेको
खेतमा, डायसपोराले हात दिन्छ, डोऱ्याउनलाई।



२. तिमीले बिर्सँदै गरेको संस्कार
सयपत्रीले भोगिरहेछ, गाउँमा।


३. इतिहासमा के नै थियो र..
माछा किराले खायो भन्नु।


४. सार्वनामिक तिम्रो विचारमा
पड़्काउन मन लागिरहेको छ, भ्रमको गोला।



५. ढुङ्गा पुज्ने मेरा पूर्खा
म पनि ढुङ्गा पुजिरहेछु।


६. तिम्रो कथा लेख्न
अगावै तिमी कथा भएछौ।


७. छन्दको घरमा
अनुप्राशको नृत्य।


८. पुच्छर सोज्याउने
ढुङ्ग्रो आफै बाङ्गिएछ।



९. फूल टिपे पनि ओइलाउँछ
नटिपे पनि ओइलाउँछ।


१०. परिवर्तन तिमीमा होइन
तिम्रो मानषिक्तामा हुनुपर्छ।


११. कसैले रोज्न दिएका
रङ्गहरू, मैले रातै रोजिदिएँ।


१२. ईश्वरको घर
तिम्रो व्यवसाय।


१३. ढुङ्गाको विश्वास
मान्छेको अविश्वास।


१४. तिम्रो हँसाइले
प्रताड़ित छु, म।


१५. भित्ताको मर्म
पोस्टरलाई के थाहा?


१६. खुला छ डायास्पोरा
तिम्रो हाम्रो घर।


१७. प्रेमको घरमा
मायाको तानासाही।


१८. उसले खोजी निकाल्यो
मेरै घरको कुरा।


१९. हाम्रै झाँक्री बखान्छ
हजुरहरूका ऱ्याप गीतमा।


२०. गाउँ जाने बाटो
कुरिरहेको छ, विकासलाई।


२१. आज मैले भिन्नै सोचेको
आ...मा... भन्ने, पहिलो
व्यक्ति को होला?


२२. सकिएन दुःख जीवनको
मेटिएन लालच मनको।


२३. होसियार... शब्द
निस्क्यो मुखबाट,
म, पनि होसियारै छु।


२४. यी आँखा साह्रै
तृषित छन्, नयाँ बिहान हेर्नलाई।


२५. इतिहासले कोर्दै छ
मेरो घरको घरेटी।


२६. अनुहारबिहीन मानछे
अनुहार खोजिरहेछ, दर्पणमा।


२७. साबल्टर्नको खेतमा
सामन्तीको हलो।


२८. मान्छे सम्पन्न बन्दै जान्छ
कुकुरसँग आत्मीय बन्दै जान्छ।


२९. खोजिरहेछ उसले अनुहार,
आफ्नै घरको ऐनामा।


३०. नियमको पन्नामा
शरणार्थी अक्षरहरू।

No comments:

Post a Comment