रूपेशका नेपाली कविताहरू

7/22/2011

यी औँलाहरू...।

आज बिहानै

जुरूक्क उठी,

अटालीमा उभिएर

जोडी दुदेलोको बुढो रूख बीचबाट

पारि कालेबुङ हेर्दै थिएँ।

‘औ मान्छे!

के भाको... ट्वाल्ल परेर?

याँ, च्या छ।

ख..वै... म कमान हिडेँ।’

झसङ्ग भएँ। बुढियाको तीखो आवाजले।

हास

पनि उठ्यो।

साला यो प्रकृति

अजीब छ। कतिबेला

आकर्षित हुन्छ। थाहै पाउँदैन।

च्याप्प पक्रिहाल्छ। कलिलो दृश्य।

डाइनिङ टेबुलको

चिया, चुस्की मारेँ। रसिलो!

जेभए पनि

मायालु हात हो...। ट्वाक्क... जिब्रो।

आज

पेपर पनि आएनछ।

के गरूँ। टेबुल बजाउँदै

गरेको हातमा, पऱ्यो। नजर।

यी हातमा

भएका चुलबुले

औँलाहरू साह्रै बाठा छन्। किन

सञ्चोले बस्न नसकेका?

सोच्न थालेँ...

क्रमशः बूढी औँलो, चोर औँलो, माझी औँलो, साहिँली औँलो र कान्छी औँलो।

यी औँलाहरू

नै त हुन्। कहिले दोष्याउने। कहिले निर्दोष्याउने।

सम्बन्ध जोड्ने। विच्छेद गर्ने। कहिले एक भएर घुस्सिउँ कस्ने। कहिले चड्कन लगाउने।

टिको पोत्ने। सिउँदो मेट्ने। स्पर्श गर्ने। प्रताड़न दिने। स्यावासी दिने। लाखेस गर्ने। गोजी भर्ने।

गाँस खोस्ने। इतिहास बद्लाउने। माला लगाउने। फाँसी चडाउने।

यी औँलाहरू

कहिले के कोट्याउन। कहिले के दल्ने। कहिले के सुम्सुम्याउने। कहिले के चाख्ने। कहिले के थिच्ने।

कहिले के छोप्ने। कहिले के नङ्ग्याउने। कहिले मलाई दङ्ग पारेर सर्वस्व लुट्ने। कहिले मलाई

ब्रम्हाण्डमा पुऱ्याउने। कहिले मलाई मृत्युलोकमा पऱ्याउने।

यी औँलाहरू

उत्साहित पनि छन्।

उत्तिकै अनउत्साहित पनि।

बद्मास पनि छन्। उत्तिकै सहनशील पनि।

तर धेरथोर यी औँलाहरू

नजानिँदो रोम्यानटिक पनि छन्।

नमस्कार,

गरेर हेरेँ। कति आदर्श....

हन... औ... फेरि, झसङ्ग बनायो बुढियाले...

अघिनै, कमानबाट आइसकेको रहेछ।

औँलाहरू, अघि बढ्न खोज्यो...।

No comments:

Post a Comment