रूपेशका नेपाली कविताहरू

4/02/2014

लघु कथा

मनु अन्ना

कल्पनामा बसिसकेको, दृष्टिमा अडिसकेको भन्दा बेग्लै खालको कालो वर्ण भएको कन्नडियन मान्छे। कालोमा अकालो, उसलाई मनु अन्ना भनेर बोलाउँछन् सबै जनाले।

स्वभाविक मान्छे। वैकल्पिक हाँसो नभएको, प्रगति र समयको उज्यालोले अँध्यारोमा पारेको मान्छे हो मनु अन्ना। यसैले, ऊ हास्नुबित्तिकै उसको मुखबाट सहरको दुर्गन्ध आउँछ। अनुहारमा गाउँको निष्पट अँध्यारो छाउँछ। आँखामा उत्कट इच्छाका तरल छछल्किरहन्छ।

दिनहुँ खाजा खानु जाँदा डोमा र उसको भेट हुन्छ। बिहारी मेसमा। ती भेटहरूले मनोज, सोनु, चाचा, अक्लु अनि अनिल सबैसँग महत्त्व नराखे पनि मनु अन्नासँगको महत्त्व केही अलग छ।

सानो मेस हो बिहारी। कामको अनुभव र योग्यता हेरेर सायद सबैलाई आ-आफ्नो काम दिइएको छ। उसले डोमा र अन्यलाई पानी अनि गिलासको व्यवस्था गरिदिन्छ। अनि फेरि टेबलको पल्लो छेउमा राखिइएको फ्रिजको ऐनासामु उभिन्छ। उसको त्यो स्थायी जगा हो उभिनलाई।

बेलाबेला अरूले नभ्याउँदा उसलाई सब्जी, दाल, रसम अनि दही माग्छ तर उसको अज्ञानताले गाली बाहेक अरू के नै पाउन सक्छ र! के गरोस् ‘दुध दिने गाईको लात पनि त सहन पर्छ।’ त्यस्तो दिनहुँ देखिरहँदा टासीलाई नमिठो लाग्छ।

नमिठो लाग्नु स्वभाविक हो, दया देखाउनु मानवता हो, संस्कार बाँड्नु शिक्षा हो। किनभने मनु र डोमामा यही कुराका फरक छन्।

एक दिन अचानक मनु अन्ना बिहारीमा आएन। अर्को दिन हुँदैहुँदै धेरै दिन बिते तर उसको उपस्थिति त्यहाँ रहेन।

ऊ नआउनुको कारण डोमाले बुझ्न सकेन। कसैले बुझ्न चाहेन, पनि। सायद बुझ्नु भनेको कसैको जिनदगीको वास्ता गर्नु हो अनि त्यो वास्ता भनेको आफ्नो जिन्दगीको समस्या हो। त्यसैले मिलन र बिछोड भइरहने जिन्दगीमा कति जनाले कति जनाको वास्ता गरोस्। मुस्किलै छ! ऊ त्यहाँ नहुनुको प्रश्न होइन, ऊ हुनुको उत्तर पनि होइन। तर उसको सुनसान अनुहारले जन्माइरहने प्रश्नको प्रश्न हो। सधैँ खट्किरहने। डोमामा।

भोलिपल्ट छुट्टिको दिन बिहानै बिहारीको परोटा खान जाँदै थिइ डोमा। सडकको तल्लो छेउमा रहेको सानो चिया दोकानमा मनु अन्ना ‘स्वामी अइयप्पा, स्वामी अइयप्पा’ गाउँदै अनुहारभरि हाँसो लिएर झाडु लगाउँदै थियो।! कहिले नदेखेको मनु अन्नाको अनुहारमा हाँसो देखेर डोमा पनि खुसी हुँदै उतैतिर लागी।  

No comments:

Post a Comment