रूपेशका नेपाली कविताहरू

4/02/2014

कविताका सृजनामा सपना र इच्छा

लेख्दैछु, समाजका विकसित चुनौतीमा पेलिएर सपनाका पथमा सधैँ यथार्थका बाटासम्म डोर्‍याउने इच्छाहरू।
सपना अर्थात् व्यवहारिकतादेखि बाहिर एकक्षण मलाई खुसी राख्ने।
इच्छा अर्थात् भोलि नआउनुको व्याकुलतामा नित्य प्रेरणा दिने।
निसन्देह म हुनुको पछाडि जड बनेर बसेका सपना र इच्छा अर्थयुक्त जीवन जिउनुको प्रेरक तत्त्व; मानिलिएको छु।
त्यस्ता कठिन गोरेटामा; दोबाटो भइ तुर्लुङ तुर्लुङ झुन्डिएका सांसारिक वस्तुहरू-
मेरा सपनालाई बाधा पुर्‍याउन खोज्ने।
इच्छालाई बलात्कार गर्न खोज्ने।
अनि सोझा दृष्टिलाई धोका दिन खोज्ने।
प्रत्येक पाइलापछि आशा र निराशा बरोबर झाँगिन खोज्ने।
हिनताबोधको पछ्यौरी समाएर प्रत्येक सम्झौताका चेपारामा हुर्किएको परिस्थिति; नैतिकताका र्‍यालमा चिप्लिएर आँटिलो आयाम निस्कन खोज्ने।
म र मस्तिष्कमाझ अल्लारेपनका बेजोड अवस्थाले भाँती नपरेका कालाक्षरहरू स्वेत पन्नामा छरिएर मेरै खिल्ली उडाउन खोज्ने।
सायद मैले अक्षर मात्र चिनेको थिएछु। अक्षरले मलाई चिनेको थिएनछ। अक्षर उठाएर शब्दमा हालेपछि चल्न थाल्दोरहेछ र शब्द मिलाएर राखेपछि बोल्न थाल्दोरहेछ। यी सब मूर्त हुन् र अमूर्त भावना ताकत बन्दा रहेछन्।
समेटिएर आउने चोट, पीडा अनि आनन्दका घेराभित्र बस्ने जिन्दगी, ज्ञात भयो। अन्यहरूसमेत भाग्य रेखा खोजाइमा। तर भाग्य रेखासँग अरू पनि रेखा हुँदा रहेछन् भन्ने अनभिज्ञता बाङ्गो टेढो हिँडाइले विस्फारित हत्केलामा धमिलिएर बस्दारहेछन्। जबरजस्ती औँलाहरू टाक्‌साकटुक्‌सुक रगडिएर अनभिज्ञतामै लेखिएका कविताहरू अपूर्णतातिरै सिद्धिने जिन्दगीको साक्खे अनुभूति साक्षात्कार भएको मान्छु पाठकमा सुम्पिएर।

No comments:

Post a Comment