कठैबरा! शब्द !!
नसुतेर
उठेको सहर
अहिलेघरि खोज्दैछ। निखोज
गाउँको शब्द।
शब्द
गाउँको पन्नामा
निग्राक्षरको टुकीसँग
पल्टिरहेको छ। आलस्यको
गुन्द्री ओढेर।
मसानहरूको भाँडभैलो चलिरहेछ।
बिहान
हुन्छ कल्चौँडेको
स्वरमाधुर्यमा।
फिस्टाको चाल,
चिचिनकोटेको नकल,
भद्रायोको व्यङ्ग्यचित्र,
परेवाको प्रेमालाप,
जुरेलीको कण्ठ,
वाह! ताजुब छ
गाउँ सङ्गीतमय साँझ। क्रमशः
कार्यकलापहरू...।
मेरै
गाउँबाट
उँडेको फिस्टा,
सहरको मिउजियमा
झुन्डिरहेको छ।
मेरै खोलाबाट
हराएको कलचौँडो,
सुदुर वर्ड
सेङ्चुरीमा धुन हालिरहेछ।
मेरै खरीबाट
पर्देशिएको
चिचिनकोटे,
‘विज्ञानका विश्वकोश’ मा
टाँस्सिरहेको छ।
मेरै बारीबाट
बाहिरिएको भद्रायो
पछ्चिमको प्रयोगशालामा कक्टिरहेको छ।
जुरेलीले
मनमोहक कहिले पार्छ त?
सुनिरहेको छु अहिले!
परेवाले
शान्ति कहिले ल्याउँछ त?
पर्खिरहेको छु अहिले!
कठैबरा!
देश सुतिरहेको छ!!
No comments:
Post a Comment