रूपेशका नेपाली कविताहरू

3/03/2015

तिम्री नारी

तिमी आउँछौ भन्ने,
त्यो दिनको सपना
मैले अझ भुलेकी छैन, भन्छौ होला तर
त्यही दिनको सपनाले
मेरो आँखामा खोपिल्टो पारेको छ।
जुन खोपिल्टामा
आजकल भने ऐना हेर्दैपछि
खेल्दै रमाउने गरेकी छु। मनभरि
दबिएर बसेका तनावहरू
मेटाउनलाई!

वास्तवमा रमाउनुको विकल्प
केही नरहेपछि
यसले
मेरो साथ दिने गरेको छ,
तिम्रो अनुपस्थितिमा।
तिम्रो अनुपस्थिति भन्दा मिठो
यो खोपिल्टा भएको छ,
मेरो लागि।

र नै त अब
तिमी आउनु र नआउनुमा
मैले समयको पाबन्दी ख्याल गर्न छाडेकी छु।
तिम्रो पर्खाइमा-
मैले मेरो पति गुमाएँ,
घर गुमाएँ,
सारा सम्पती गुमाएँ, भन्ने  
नियास्रोपन बिर्सन थालेकी छु।

अब केवल
यो एउटो सन्तान छ। जसले
ऊ हुनुको सत्य बुझेको छैन।
ऊ हुनुको यथार्थ जानेको छैन।
किनकि उसले
 हिँड्न र बोल्न जानेको छैन।

जुन दिन उसले
हिँड्न र बोल्न जान्नेछ
त्यस दिन उसले
त्यो सत्य जान्नेछ
त्यो यथार्थ बुझ्नेछ अनि
त्यस दिन मैले फेरि
मलाई गुमाउनु पर्ने हुन्छ।

यसैले पनि हो
अब मैले
तिमी नआउनुको पीडालाई
बिस्तारै महत्त्व दिन छाडेकी छु।
निडर एउटा योद्धा जस्तो
रणभूमिमा निष्फिक्रि मर्न तयार छु।

त्यसकारण
अब मेरो हुनुको
केही औचित्य छैन,
जसरी मसँग
ती प्रश्नहरूका उत्तर पनि छैनन्-
पति गुमाउनुको,
घर गुमाउनुको
सारा सम्पती गुमाउनुको अनि
यो बाउबिनाको छोरो जन्माउनुको!’

तिमी नआउनुको पछि
समयले मलाई
निरुत्तर बनाएर गएको छ,
समाजको कठोर कारागारभित्र।
जतासुकै पाईला राख्न
कानुन बनाएको छ।
जुन कानुनले तिम्रो बलिदानको
यही उपहार दिएको छ,
जसमा सधैँ
मन खोलेर हास्नु पनि
मेरो चरित्र खोसिने डर हुन्छ,
कुनै कुनाबाट सधैँ हेरिरहने
ती आँखाहरूदेखि।

लौ! हेर,
मलाई लुकाउनै गाह्रो परेको छ!

यहाँ
 धेरै यस्ता छन्
जसले मेरो पीडाको
 :::
सहानुभूति भनेर
मबाट केही पाउने
 मौका पर्खिरहेका छन्।
जस्बाट प्रत्येक साँझ
 घामको अस्तित्त्वसँगै
मैले मर्दै बाँच्दै गर्नु परिरहेको छ
ममा उनिहरूको विजयलाई
पराजय घोषित गर्न!

अरे!
नारी भएर जन्मनू
एकपल्ट तिमीहरू!
नारीको पीडा सहेर हेर्नू!
नारीत्वसँग खेल्ने मोराहरू-
आन्दोलन गर नारी!
शोषण गर नारी!
अत्याचार गर नारी!
समाजले पनि बुझुन् न
नारीले जिउने गरेको  पीडा?

समयको गतिले
उति नै
ताजा बनाउँदै लगिरहेको छ
मेरो पीडा
भोलि निको होला भन्दै
बाँच्ने गरेको कठोर समाजले
झन्  म नारी खिहिँदै जाँदैछु!
यसैले
मैले दैलो बाहिर पाईला राख्न
म नारी हुँ भन्ने
बिर्सने कोसिस गर्दैछु,

तिम्रो अनुपस्थितिमा।

No comments:

Post a Comment