‘एइ! यावा के भो भन्न?’ आमोसले सोध्थ्यो हरे लेन्डुपलाई।
चुपचाप बसिरहन्छ हल्लैहल्लाभित्र; सुनसान भएर। ‘सुन्
आमोस! यसलाई नचला, कम्ति बोल्ने माथि पनि खै के भएको छ यसलाई’- सलिम पनि जिस्काउँदै क्लासरुमबाट निस्कियो हरे। लेन्डुपकै कुरा उसैलाई
सुनाउँदै छु, अस्ति श्रेयश्रीले भनेको।
‘केटाहरूको स्कूल केटीको कुरा नहुने त कुरै
छैन। सायद केटीको स्कुलमा पनि त्यस्तै हन्छ कि!’ लेन्डुप
भन्छ।
‘मास्टरमा आको झण्डै एक वर्ष हुन लागेछ।
पढाइले गर्दा कसैसँग राम्रो बात भएको छैन। के गर्नु समयले छाडेर गएपछि फेरि ल्याउन
आउँदैन।’ बीचैमा बोल्छु- ‘कष्ट त गर्नै
पर्यो नि, अँ त्यो अस्ति भनेको तिम्रो फस्ट लवको ट्रेजेडी भनन!’
लेन्डुप टोहोलाउँदै भन्छ- ‘एः... छोड्देऊ त्यो, सुकेको गुहु के कोट्ट्याइ रहनु?
बरु एसो उयाँ सुदरसनकामा च्या खाऊँ।’ ‘लऽ
त्याँबाट भन है!’
चिया पिएर हामी विवेकानन्द छात्रवासको नेपाली ब्ल्गमा पस्यौं।
माथिल्लो रेलिङबाट एउटाले सुसु गर्दै रहेछ, छिटा मेरो अनुहारमा पर्यो। म, झोँकिएर
रट् लिइ कुद्नु आँटेको उसले पक्रेर रूमभित्र तान्यो। एकक्षण त्यहाँ हङ्गामै भयो।
केही शान्त भएपछि लेन्डुपले भन्यो- ‘लु सुन त्यो मेरो
फस्ट लव् ट्रेजेडी। तर फेरि ‘आज तक’
हुने होइन है; पहिले नै भन्द्या छु।’
असाध्यै मन पराएँ तापनि भन्न नसकेर उत्तर खोजिरहेको बिहान
अफ् क्लासमा केटाहरूको गफ, ‘भ्यालेन्टाइन
डे’बारे सुनें। मन पराएका केटीहरूलाई त्यस दिन प्रपोज गर्दा
नाइ भन्दैन हरे। अरे वाह! बेकारको गफ पनि कति उपयुक्त। मनमनै
सोचें। सायद विकल्प छैन भने जिउन गाह्रो हुन्छ मान्छेलाई।
अर्को कुरा पनि सुनें मन पराएका केटीलाई धेरै दिन पर्खनु
हुँदैन रे...। नत्र अर्काले उँडाइदिइहाल्छ रे...। अनि त हतारको दिमागमा अर्को
सुद्धि चल्यो- फरवरी १३ को बेलुका धेरै सोचेँ भोलिको दिन कसरी रमाइलो बनाउने? त्यसबेला मेरामा मोबाइल थिएन अनि उसकै घरमा
चियाको निहु गरेर काकाको बैठकमा उसलाई बोलाएँ। ऊ आएपछि झण्डै पाँच मिनटको सुनसान
वातावरणलाई मैले तोडिदिएँ- ‘भोलि म तिमीलाई प्रपोज गर्दैछु।’ उसले नमानेरै ल... भनिई। अनि १४ देखि हामी भेट्न थाल्यौं। बातचित गर्न
थाल्यौं। समय-समयमा समयको सदुपयोग हुन्थ्यो। अनि एक दिन कञ्चन हलमा ‘तुम बीन’ मुभी पनि हेर्न गएका थियोँ। तर पन्ध
अगष्टको दिन मलाई मेरो जन्मदिनको उपहार आघात स्वरूप दिएर उसले आफ्नै बाटो रोजी।
त्यसरी नै दिन बित्दै गए। बाह्रौं क्लासको सेन्टप सकियो।
एचएस आयो। सबै आ-आफ्ना लक्ष्यतिर लागे साथै म पनि केही साथिहरूसँग दार्जिलिङ
कलेजतिर आएँ। तर पनि मैले उसलाई पर्खिरहेँ। ‘यो गरिबी भनेको पनि कस्तो हो हो! साला एक.. दिन..
कलेजबाट निस्केर उसलाई भेट्ने मौका पनि पाइएन, थुक्का...।’ झोँक्किन्छ पनि उ बीचबीचमा।
म उसलाई कत्ति याद गर्थें। कतै यता आयो कि! भनेर बजारको मोटर स्ट्याण्डमा हेर्ने
गर्थें। तर कलेजको तीन वर्ष उसलाई पर्खेर बित्यो। अँहँ...! उ
आएन। केही उपाय लागेन। फेरि यहाँ एम ए जोइन गर्न आए। अनि त झन् के यहाँको पढाइले
साह्रै व्यस्त भइयो।
एक दिन लाइब्रेरीबाट निस्केर शिवमन्दिरतिर लागें। त्यहाँ दर्पण
किनेर पढ्दै गर्दा कालेबुङ दर्पणको पुछारतिर आँखा पर्यो–
‘छात्राले घरकै पङ्खामा झुण्डेर आत्महत्या गरी’
हिजो बेलुकी घरमा कोही नभएको बेला दश माईल निवासी हर्कमानकी
छोरी प्रणिताले आफ्नै घरको पङ्खामा झुण्डिएर आत्महत्या गरी। घट्ना स्थलमा त्यहाँका
पुलिस प्रभारी ओसी सुनिल शर्मा आएर घटना स्थलको जाँच गर्दै शवलाई पोसमर्टमको
निम्ति पठाए।
लगभग बेलुकी चार बजीतिर कलेजकी छात्रा प्रणिताको
आत्महत्याको खबरले गाउँमा सनसनी फैलियो। आत्महत्याको कारण
...............................
...............................................................................................................................................................................................................।
यसरी घटनालाई नस्वीकारिकनै स्वीकार्न पर्यो केही दिन अघि
आएको खबरले।
ऊ प्रेग्नेन्ट थिएछ!............प्रेग्नेन्ट!!
No comments:
Post a Comment