रूपेशका नेपाली कविताहरू

12/31/2014

निबमा बन्द शब्दहरू

प्रत्येक वर्ष, महिना, हप्ता, दिन, घण्टा, मिनट र सेकेन्ड
भएर बग्ने पहाडको माटो
तराइले मुठ्ठी कसेर कसरी मेरो भन्न सक्छ?

जीवनको अलग-अलग, एकदमै अलग
अलगअलग अर्थात्
पटक्कै नमिल्ने छाला हुन् यी दुई,
यसलाई पनि लिँडे ढिपी गरेर
एउटै रङ्ग दिन खोज्छ; नक्कली अनुहार!

त्यो दिन पनि उसको
उपनिवेशिक आँखाले मेरो घरको
न्यानोपन खोस्ने सत्प्रयास नगरेको होइन,
घरबाट झङ्गल
जङ्गलबाट घर
घरबाट जङ्गल
जङ्गलबाट घर, गर्दा गर्दा
जङ्गलै प्यारो भइसकेको थियो।

बिरानो झैँ लाग्ने घरले
एकदिन प्रश्न गर्दा मात्र म पुनः बौरिएको बेला
उसले निबको धारले मेरो आगनै रेटिसकेको थियो!

वनले पनि मेरो आँसु पुछेन
छिमेकीले पनि मेरो आवाज सुनेन, 
पुछेन... नपुछोस्      झरेको आँसु
सुनेन... नसुनोस्     दबिएको आवाज
झार्नेहरूलाई...
दबाउनेहरूलाई...!

तर म उभिएको माटालाई
मैलेभन्दा अरूले बुझ्नै सक्दैन
मैलेभन्दा अरूले रुँग्नै सक्दैन
मैलेभन्दा अरूले चिन्नै सक्दैन
यसैले त यो माटाको अधिकार केवल मेरोमा छ।

उसले लुटेर
उसले खोसेर
उसले दबाएर
उसले मुख बन्द गरेर निबमा थुनेपछि
कलमलाई मेरो यही गुनासो रहिआएको छ

यो माटामा मैले मेरै अक्षर लेख्न पाऊँ!!

No comments:

Post a Comment