रूपेशका नेपाली कविताहरू

12/31/2014

दलितको त्रासदी

दलित...?
मान्छे हो कि उसको चेतना
या उपाधि हो कि कर्म,

कि भनिदिऊँ ... दमन!

समाजको  शक्तिले
भागबन्डा गरेर उब्रेको; वस्तु!
थिचिएर
पिसिएर
हेपिएर??

खोसिएको हक
लुटिएको अधिकार
गुमाएको हाँसो
हराएको समान्ताबाट निस्किएको
अमान्छे...
भनौँ दलितको त्रासदी?

दोसाँधमा हुर्किएका
सिमान्तकृत मुस्कान
दमनको काखमा चेप्टिरहेकै छन्
राजनीतिको खाँटी आवाज भएर...
मेनिफेस्टो!

प्रावधानको अक्षर भएर
पल्टिरहेको छ
दलितको प्राक्कथन
खुलेआम देशको आँगनमा,

हजूर... दलितको भाउ कति छ?

अधिकार बद्लिन्छ
भाउ फेरिन्छ
अनुहार खोसिन्छ??

दलितको त्रासदी
झाडु लगाउँदै
प्रत्येक वस्तुको अनुहारसँग मिल्ने
आफ्नो अनुहार खोज्दै
डुलिबस्छन् शब्दको छाला ओढेर!
क्रान्ति र हल्लासँग
गाउँ,
सदन अनि
मेरै घरको सँघारसम्म!

साइनु गाँस्नु
उसको उचाइले छुदैन,मेरो घरको धुरीलाई,
मित लाउनु
उसको नाताले हुँदैन, मेरो जातको मूलीलाई,

यो दलितको त्रासदी!!

कसरी जिउँछ हँ???

No comments:

Post a Comment