रूपेशका नेपाली कविताहरू
11/04/2011
जुत्ता
10/01/2011
विज्ञान र प्रकृति।
8/24/2011
स्वाट्ट पस्छ,
फुत्त निस्कन्छ।
स्वाट्ट पस्छ,
फुत्त निस्कन्छ। शब्द। मेरो मनबाट। फटफट गर्दै।
हुरूक्क पार्छ, घरि फुरूक्क पार्छ। रहरहरू कुनाकाप्चाबाट।
फुत्रुक्क उफ्रेर
कल्पनाको दैलोबाट।
मनगढ़न्ते मैदानमा कक्रक्क पर्छ। माया।
फेरि लितिपिति हुन्छ गिदीमा।
लितिलिति हल्लँदै गरेको प्रेम।
फातफुत्त झर्छ
पसिना। ठूलो आन्दोलन गरेर।
ठ्याप्प-ठ्याप्प
हिर्काउँ जस्तो। त्यो स्फूर्ति, त्यो उत्साह।
पुर्लुक्क-पुर्लुक्क पल्टिन्छन्। वाक्क भएका आशामा।
खर्लप्पै सुकेको छ। गाउँ। ह्वास्स गन्हाउछ पहाड़ेको गिदी।
बुरुकबुरुक उचाल्ने
शब्द, च्वाट्ट चुँड़ाइ
स्वाट्ट ‘चुलि’मा सिउरेको गुलाबझैँ देखिने।
त्यो पनि सर्लक्कै सुकेछ, जस्तो। मिलिक्क हराइ...।
पट्ट फुटेर, लहलह बड़्दै
बारी कान्लामा, घारी भएर सदन पुगेका शब्द।
फनक्क फर्केर बिकासको सिँढीमा, लत्रक्क लत्रिएकोछ।
यो शब्द।
मिरिक्क पर्छ, मुसुक्क मुस्कुराउछ।
अत्तालिएर, ह्वात्त बोली पठाउछ…। .......।
राजनीति!
राजनीति! राजनीति!
राजनीति! राजनीति! राजनीति!
गरिने कुराहरूमा
यी अधिक गरिँदा रहेछन्। विश्वमा।
टुप्पीदेखि
लिएर कुर्कुचासम्मै।
कुर्कुचा!
यसलाई के थाह?
राजनीति! दर्शन! वाद! सामन्ती! अनि अराजकता!
हँ, हँ...
चिप्लाङहरू, ठेलमठेल छन्।
यो गाउँमा। कुर्कुचा उभिनलाई। कालो माटोमा।
हरिनाथ लागेका गाउँ,
हचर्चरिएका कुर्कुचा। गाह्रो छ उभ्न यहाँ।
यसलाई
उभिनु छ। तिमीजस्तै। हिँड्नु छ।
भन्नु छ। सर्वसाधारणलाई, हेर! म उभिएको कुर्कुचा।
तर, नासमझ!
उभिन नपाइ
लड़िहाल्छन् काटिएका कुर्कुचा। मदारीअघि।
वाह... वाह...
वाह... वाह... मदारी!!
खुच्चिङ पनि गरिदिन्छन्। चिप्लाङहरू।
7/22/2011
ऊँsssss
शान्ति...शान्ति...शान्तिssssssss
यो दोस्रो मुद्धा
तिम्रो विरुद्ध अपिल गरेको मैले।
खारेज
गर्छ भने पनि गरोस्
तर पहिले, लाटो नै हुन्छु बरु म...।
ईश्वर, तिमीले यति स्वतन्त्र किन दियौ? मलाई।
तिम्रै बदनाम
गरिहिँड़ छु, म। तिम्रै प्रशंसा
गरिहिँड़्छु, म। तर माध्यम
तिम्रै जिब्रोले खपी नसक्नुे बोल्छु, म।
तिम्रै आँखाले सही नसक्ने हेर्छु, म।
ईश्वर, तिमीले यति आस्था किन दियौ? मलाई।
तिम्रै तस्वीर
पुजी हिँड़्छु, म। तिम्रै मन्दिर
घेरी हिँड़छु, म। तर माध्यम
तिम्रै हातले थापी नसक्ने अर्थ भरी दिन्छु, म।
तिम्रै खुट्टाले हिँड़ी नसक्ने माटो बेची दिन्छु, म।
हे ईश्वर!
तिम्रो पापको माध्यम
म, हुनु चाहन्न। हुन परे,
लाटो नै हुन्छु बरु म...।
तिम्रो आस्ताको माध्यम
म, हुनु चाहन्न। हुनु परे,
लाटो नै हुन्छु बरु म...।
यसैले यहाँ
मेरै लिलामी हुँदा समेत,
लिलाम हुइ दिन्छु बरु म।
साह्रै आकर्षित
त्यो आकर्षणमय छोपिएका कुरा।
शङ्कालु म,
नछोपिइएरै यी कुरा ठीक थिए। छोपिइएर
झन् धेर मलाई शङ्कालु बनाउछ।
हुनसक्छ त्यहाँ
बम नै होला तर
त्यो बमसँगै पड़्कन मन लाग्छ।
हुनसक्छ त्यहाँ
डढ़ेलो नै होला तर
त्यो डढ़ेलोसँगै डढ़्न मन लाग्छ।
हुनसक्छ त्यहाँ
तृप्ति होला तर
त्यो तृप्तिसँगै तृप्त हुन मन लाग्छ।
हुनसक्छ त्यहाँ
सुभाष होला तर
त्यो सुभाषसँगै सुभाषित हुन मन लाग्छ।
हुनसक्छ त्यहाँ
गहिराइ होला तर
त्यो गहिराइसँगै गहिरिनु मन लाग्छ।
हुनसक्छ त्यहाँ
शून्य होला तर
त्यो शून्यतासँगै हराउन मन लाग्छ।
त्यो डाँड़ा,
पहरा हुँदै समतल जङ्गलमा,
मलाईपनि हराउनँ मन लाग्छ। अनि हराइको
अनुभुतिहरूमा सोध्न मन लाग्छ
छोपिएक कुरा किन साह्रै कामुक हुन्छ हँ?
साँच्चै त्यो
छोपिएका कुरा रहस्यमय छ। मलाई
रहस्य बुझ्न मन लाग्छ, महसुस गर्न
मन लाग्छ। संसारलाई बताउन मन लाग्छ
छोपिएका कुरा भन्दा आकर्षित अरू के हुन्छ र...।
खुइssssय...
थेत्...
फरुवा फ्याकेर तीन नम्बरले भन्यो-
‘साला हजमले केश काटेजस्तो
गाछको फेद तासेको छ, तासेको छ। चिटिक्क पार्... भन्छ।
खैsss यो चप्रासी भनौदा पनि। आफू कलम काट्न जान्दैन। बाठे...।
ऐ... माइला... खैनी, ल्हे ल्हे। एक फ्वाक नचापी भएन।‘
माइला भन्छ-
‘औ... मामा, कहिले काहीँ त... किन्ने पनि गरन। कति मागेर मात्र खान्छौ।‘
केटाहरू, गलललल हाँस्छ।
उता मुन्सी बऊ,
घुमेर, औरतको
मेलोमै मात्र पुग्छ।
हुन त, सानो
पसलदेखि लिएर
ठूल्ठूला कार्यालयसम्म यस्तै हो।
कान्छीले मुख बङ्ग्याउँदै भन्छे-
‘अमुइsss उयाँ हेरन। आएछै... तम्सिनु लागि।‘
थेबानी भन्छे-
‘नभन्न... नभन्...। बर्खामा पत्ती टिप्न सघाउछ नि...।‘
अँ... तैँले जान्दछस्। नेपतथ्यबाट।
यसरी, जिस्किँदै
ठट्टा गर्दै, बित्छ उनीहरूको दिन। फेरि रातले
अङ्गालोमा थाहै नपाइ भुसुक्क बनाउछ। बिहान
हुन्छ। अव्यवस्थित व्यवस्थाले कप्...टी चाल चल्छ।
क्रमशः हिउँद लाग्छ।
गाछका कलमहरू मिलाएर,
फेदहरू तासेर। स्किप हानेर।
सुखौरो परेकोमा पानी दिएर। मल थपेर।
माइला, तीन नम्बर,
कान्छी र थेबानीहरूको समय बिद्छ।
बर्खा लाग्छ।
हरि...यो टुसाएर सबै
परिनत हुन्छ। पहिलो टिपाइ सकिन्छ।
विघावालहरूसमेत् कति व्यस्त देखिन्छन्।
मरत, औरत, छोकड़ा।
काम्दारी, चप्रासी, मुन्सी र मेनेजरहरू पनि।
दोस्रो टिपाइ शुरू हुन्छ।
धुइरो वर्षामा, सर्कारी छाता, घुम ओड़ेर सकिन्छ त्यो पनि।
तेस्रो टिपाइसँगै
दशैँले कुत्कुत्याउछ।
झन् व्यस्त हुन्छन् प्रिय कमानेहरू।
हिसाब गर्नु छैन।
नाफा नोक्सानको डर छैन। रिपोर्ट बुझाउनु छैन।
पन्ध्रको, महिनाको या वर्षको।
क्रमशः हिउँद लाग्छ। बर्खा लाग्छ।
कतै कोठाबाट नारायण गोपालले सुनाउछ-
“मलाई नसोध, कहाँ दुख्छ घाउ।”
आज बिहानै
जुरूक्क उठी,
अटालीमा उभिएर
जोडी दुदेलोको बुढो रूख बीचबाट
पारि कालेबुङ हेर्दै थिएँ।
‘औ मान्छे!
के भाको... ट्वाल्ल परेर?
याँ, च्या छ।
ख..वै... म कमान हिडेँ।’
झसङ्ग भएँ। बुढियाको तीखो आवाजले।
हास
पनि उठ्यो।
साला यो प्रकृति
अजीब छ। कतिबेला
आकर्षित हुन्छ। थाहै पाउँदैन।
च्याप्प पक्रिहाल्छ। कलिलो दृश्य।
डाइनिङ टेबुलको
चिया, चुस्की मारेँ। रसिलो!
जेभए पनि
मायालु हात हो...। ट्वाक्क... जिब्रो।
आज
पेपर पनि आएनछ।
के गरूँ। टेबुल बजाउँदै
गरेको हातमा, पऱ्यो। नजर।
यी हातमा
भएका चुलबुले
औँलाहरू साह्रै बाठा छन्। किन
सञ्चोले बस्न नसकेका?
सोच्न थालेँ...
क्रमशः बूढी औँलो, चोर औँलो, माझी औँलो, साहिँली औँलो र कान्छी औँलो।
यी औँलाहरू
नै त हुन्। कहिले दोष्याउने। कहिले निर्दोष्याउने।
सम्बन्ध जोड्ने। विच्छेद गर्ने। कहिले एक भएर घुस्सिउँ कस्ने। कहिले चड्कन लगाउने।
टिको पोत्ने। सिउँदो मेट्ने। स्पर्श गर्ने। प्रताड़न दिने। स्यावासी दिने। लाखेस गर्ने। गोजी भर्ने।
गाँस खोस्ने। इतिहास बद्लाउने। माला लगाउने। फाँसी चडाउने।
यी औँलाहरू
कहिले के कोट्याउन। कहिले के दल्ने। कहिले के सुम्सुम्याउने। कहिले के चाख्ने। कहिले के थिच्ने।
कहिले के छोप्ने। कहिले के नङ्ग्याउने। कहिले मलाई दङ्ग पारेर सर्वस्व लुट्ने। कहिले मलाई
ब्रम्हाण्डमा पुऱ्याउने। कहिले मलाई मृत्युलोकमा पऱ्याउने।
यी औँलाहरू
उत्साहित पनि छन्।
उत्तिकै अनउत्साहित पनि।
बद्मास पनि छन्। उत्तिकै सहनशील पनि।
तर धेरथोर यी औँलाहरू
नजानिँदो रोम्यानटिक पनि छन्।
नमस्कार,
गरेर हेरेँ। कति आदर्श....
हन... औ... फेरि, झसङ्ग बनायो बुढियाले...
अघिनै, कमानबाट आइसकेको रहेछ।
औँलाहरू, अघि बढ्न खोज्यो...।
6/20/2011
जेन कविता
खेतमा, डायसपोराले हात दिन्छ, डोऱ्याउनलाई।
२. तिमीले बिर्सँदै गरेको संस्कार
सयपत्रीले भोगिरहेछ, गाउँमा।
३. इतिहासमा के नै थियो र..
माछा किराले खायो भन्नु।
४. सार्वनामिक तिम्रो विचारमा
पड़्काउन मन लागिरहेको छ, भ्रमको गोला।
५. ढुङ्गा पुज्ने मेरा पूर्खा
म पनि ढुङ्गा पुजिरहेछु।
६. तिम्रो कथा लेख्न
अगावै तिमी कथा भएछौ।
७. छन्दको घरमा
अनुप्राशको नृत्य।
८. पुच्छर सोज्याउने
ढुङ्ग्रो आफै बाङ्गिएछ।
९. फूल टिपे पनि ओइलाउँछ
नटिपे पनि ओइलाउँछ।
१०. परिवर्तन तिमीमा होइन
तिम्रो मानषिक्तामा हुनुपर्छ।
११. कसैले रोज्न दिएका
रङ्गहरू, मैले रातै रोजिदिएँ।
१२. ईश्वरको घर
तिम्रो व्यवसाय।
१३. ढुङ्गाको विश्वास
मान्छेको अविश्वास।
१४. तिम्रो हँसाइले
प्रताड़ित छु, म।
१५. भित्ताको मर्म
पोस्टरलाई के थाहा?
१६. खुला छ डायास्पोरा
तिम्रो हाम्रो घर।
१७. प्रेमको घरमा
मायाको तानासाही।
१८. उसले खोजी निकाल्यो
मेरै घरको कुरा।
१९. हाम्रै झाँक्री बखान्छ
हजुरहरूका ऱ्याप गीतमा।
२०. गाउँ जाने बाटो
कुरिरहेको छ, विकासलाई।
२१. आज मैले भिन्नै सोचेको
आ...मा... भन्ने, पहिलो
व्यक्ति को होला?
२२. सकिएन दुःख जीवनको
मेटिएन लालच मनको।
२३. होसियार... शब्द
निस्क्यो मुखबाट,
म, पनि होसियारै छु।
२४. यी आँखा साह्रै
तृषित छन्, नयाँ बिहान हेर्नलाई।
२५. इतिहासले कोर्दै छ
मेरो घरको घरेटी।
२६. अनुहारबिहीन मानछे
अनुहार खोजिरहेछ, दर्पणमा।
२७. साबल्टर्नको खेतमा
सामन्तीको हलो।
२८. मान्छे सम्पन्न बन्दै जान्छ
कुकुरसँग आत्मीय बन्दै जान्छ।
२९. खोजिरहेछ उसले अनुहार,
आफ्नै घरको ऐनामा।
३०. नियमको पन्नामा
शरणार्थी अक्षरहरू।
एक बिहान
मेरा मित्रले भनेका थिए-
‘कवितामा अटाउँदैन कमान, उपन्यास लेख्नपर्छ, उपन्यास।’
हिजो बिहान
दर्पणको अनुहारमा
‘आशा हराएको खबर’ले
मलाई त्यो बिहानको
स्मरण गराइरहेथ्यो।
जुन बिहान पूर्वबाट भानूले
ममताको चूल्हो, छिचोल्दै
गरेको। पावनको कामुक
स्पर्शले उत्साहित बन्दै गरेकी
आशा।
तितेपातीका दाउरामा,
ढिँड़ो हुँडँल्दै गरेकी आमालाई
आफ्नो इच्छा प्रकट गर्छे-
‘आमा, हामी पनि ग्यास चुला ल्याए... हुन्न?’
कति सानो प्रश्न, कति ठूलो प्रहार...
आमाको वाक्ये फुटेन। भित्रबाट भक्कानिएर
आएका पीड़ाका लेदाहरू
बल्झफ्ती थुकसँग भित्रै निली पठाएर...
भन्छे- ‘छोरी, तिम्रै आशा छ। तिम्रो पापा
पर्देश गएको खबरै छैन। म, एकमात्रको
कमान खर्च, जाउलो धान्नमै सकिन्छ।
‘कड़्सारा’बाट बाँचेको पैसा, तिमीलाई पढ़ाउनु छ।’
आशामा यस्ता इच्छा कयौँ छ्न्
आमामा यस्ता समस्या कयौँ छन्।
तर त्यहाँ
एउटा सम्झौता छ
एउटा वाध्यता, सन्तोक
गर्ने आदत पनि बसेको छ!
कमानलाई
अझै, पूर्वको भानूले
छिचोल्न सकेको छैन। शुखको बतासले
अङ्गाल्न सकेको छैन।
तर कुन बतासले अङ्गाल्दा
आशामा एक इच्छा कम भयो होला?
र आमामा एक समस्या ज्यादा।
म, सोँच्दै छु,
आज मलाई पनि
चित्त दुखेको छ, आमा प्रति।
चः चः चः चः
हो साथी...
‘कवितामा नअटाएर
अटाएको कमान, गरीबको एक
गाँसमा नअटाएर अटाएको कयौँ भोक होला।’ – मैले
भनेको थिएँ।
स्विट हार्ट!
उम्वाँ... उम्वाँ... उम.....वाँ।
आफ्नो इच्छा पुरा गर्यो।
अर्थात् मायाका कोसेली
टाढ़ामा रहेकी मायालुलाई।
छेउमा बस्नेहरूलाई
कताकता अप्ठ्यारो
लागेजस्तो एकार्कालाई हेरेर
मुसकुराए। अब समयले धेरै यात्रा
गरिसकेका छन्। लजाउँदैन समय। फ्र्याङ्क छ सम्बन्ध।
याहू म्यासेन्जरमा
च्याट हुन्छ। गुगाल टाक् हुन्छ।
लाइभ भिडियो च्याट हुन्छ। अनि
म पनि सुटुक्क क्याफेमा पसेर
एउटा क्राइम गर्छु।
मलाई पनि
स्विट हार्ट भन्न मन लाग्छ।
अङ्गालो दिएर डार्लिङ्ग!
भन्न मन लाग्छ। इङ्गलिश
फिल्ममा जस्तो हनी! भनेर
डाँको छोड़ुँ जस्तो लाग्छ।
तर मेरी प्रिये,
लजालु छे। टक... टक... टक...
क्याट वार्क। हुँदैन उसलाई। रोम्यान्टिक
कुरा आउँदैन उसलाई। एउटा मोबाइल
भए हुन्छ भन्छे। राती सुटुक्कै
स्विट हार्ट भन्नलाई। लाजै नमानी उम्.....वाँ गर्नलाई।
“असारमा पर्देश लाग्ने र श्री-पञ्चमी भूल्ने मान्छे काम लाग्दैन”
को हो नि?
यसो भन्ने। मलाई त
गजब लाग्छ उक्त कुरा।
रातको निद्रा
नपरे पनि “हुने विरूवाको चिल्लो पात
नहुने विरूवाको खस्रो पात”ले
झपक्कै छोपी हाल्छ।
सुन गाउँवासी हो!
“ग्यील्टी माइन्ड इज आल्वेज सस्पिस्योस”
भनेर पनि
तिम्रै व्यङ्ग्य गरेजस्तो
लाग्छ। त्यै कुरा तिमीलाई
धेरै वर्षदेखि बुझाउनु
चाहेको तर तिमीले
पढ़्नै छाड़ेछौ। कुरा बुझ्नै छाड़ेछौ।
सुन गाउँवासी हो!
तिम्रा बाले तिमीलाई
उखान सुनाउँछ सुनाउँदैन,
तिम्रा बाले तिमीलाई
तुक्का सुनाउँछ सुनाउँदैन। त्यो
भन्न सक्दिनँ तर मेरा पापाले
मलाई गाली पनि उखानैमा गर्नुहुन्छ।
माया पनि तुक्कामै गर्नुहुन्छ।
सुन गाउँवासी हो!
सायद तिम्रा बाजेका
उखानहरू ढुँड़ी पर्न थाल्यो होला,
तुक्काहरू झ्याउ पर्न थाल्यो होला।
यद्यपि तिमीले उक्त कुरा याद राख्नु
बुढ़ेसकालमा तिमीलाई अवश्य झोँक त चल्ला।
5/20/2011
बिथोलिएको गाउँ!
बैँस
व्याकरणका पन्नाबाट च्यातिएका शब्दहरू
गाउँ विनिर्माण र तिमी
‘फेसबुकमा तिमी कति चार्मिङ’
कति सारो कामेन्ट पनि आएको...
स्टाटसको नयाँ आप्डेट्स्मा...
फ्रेन्ड्स्हरू पनि थुप्रै रहेछन्...
फेसबुक च्याटमा लेख्दैछु। ...:-) उत्तर आउँछ।
झलस्स, गाउँ याद आयो अनि ऊ पनि, प्यालप्याल
सिङान झार्दै इत्रिएको। भर्खर बैँसमा खेल्दै गरेकी।
फेरि प्रतिउत्तरमा लेख्छु...
तिमी गाउँ नजाने ? गाउँमा सबै कुरिरहेका होलान्
तिमी नहुनुको अभावमा, सबै सोँचिरहेका होलाऩ् तिमी हुनुको
जटिल्तामा।
उफ्... कस्तो सिल्ली कुरा गरेको। :-( उत्तर। केको अभाव, केको जटिल्ता?
छाड़्द्यौ गाउँ साउँ... रियल लाइफ त यहाँ छ। सोचुँला।
फेरि जिस्क्याउँछु...
अनि तिम्रा आमा...बाबा...
(प्रिया इज आफ्लाइन, मेसेज यू सेन्ड विल बि डेलिवर्ड व्हेन प्रिया काम्स् आन्लाइन)
ओह... शिट! यति नै बेला...आफ्लाइन
धेरै कुरा गर्नु छ, बेसिकल्ली प्राइवेट।
लेट्स गो फ्रेन...
फ्रेन, अँ लिसन, मेसेज बाक्स्मा पठान... प्राइवेट कुरा। भइहाल्छ।
येस गुड आइडिया...
लेख्न थाल्छु..
[प्रिया, तिमी जति सभ्य बन्दैछौ उतिनै गाउँ असभ्य बन्दैछ।
गाउँलाई तिम्रो खाँचो छ, तिमीजस्ती पढ़ेकी अति आवश्यक छ।
यहाँ एड्भान्स क्लिनिक जरूरत छ, एड्भान्स एडुकेसन चाहिएको छ।
एड्भान्स डेभ्लापम्यान्ट चाहिएको छ। यहाँ इकुराहरूको खाँचो छ।
धेरै साइबरको जरूरत छ, ‘इ-गाउँ’को खाँचो छ, अर्थात्
गाउँको विनिर्माण चाहिएको छ।
साँच्चै तिमी जति सभ्य बन्दैछौ त्यत्ति नै गाउँ असभ्य बन्दैछ। जसरी
तिमाले ढिँड़ो खाँदाको कुराहरू सायद पिज्जा ख्वाइले बिर्सिँदैछ्यौ,
प्रत्येक गाँसहरूमा परिकारले तिमी बद्लिँदैछ्यौ होला,
तर तिमीलाई ती भन्दा बढ़ी परिवारको स्नेह, गाउँको आदर्श महङ्गो पर्नेछ]
(मेसेज ह्याज बिन सेन्ट....)
येस मेसेज सेन्ट भयो
तर
औ फ्रेन... प्रिया त राक्किङ छे... बुझ्ला...?
काम्पनी, टाक्टाइम र मेरो गाउँ
[एक्ससाइटिङ्ग रिचार्ज @११०! गेट
टाक्टाइम आफ् रू.११५(रू.५एक्सट्रा टाक्टाइम
क्रेडिट इन ४८आवर्स), टाक्टाइम व्यालिडिटी ३०डेज.]
एस. एम. एस. अलर्ट टोनले गाउँलाई सूचित गर्यो।
सुक्खा रोटी र फिका चिया खाएर जङ्गल हिँड़्न लागेको
गाउँ सल्बलायो। हिजाज साह्रै सुबिस्ता भएको छ मोबाइलले।
ऊ र मोबाइल सँगसँगै हिँड़्छ/डुल्छ। जङ्गलदेखि लिएर सहर, बजारसम्म।
ल्याण्डलाइन त बोकेर हिँड्न सकिँदैन तर ह्याण्डसेट गजबको छ।
बेला-बेलाको आफर गाउँलाई रमट लाग्छ। जेजस्तो भएपनि उसले प्रिती लगाएको छ।
टाढ़ाकै किन नहोस्! आमेजिङ्ग आफर! उसको माया नजिकै भएको भान हुन्छ।
पाँच, दस, पन्ध्र, बीस मिलाइ-मिलाइ रिचार्ज
वाउचर बनाइदिएको छ। सस्तो मोबाइल र लाटो गाउँ। खुब मिलेको छ
रिटिएलर, डिएलर र खुज्रा मेरो गाउँ।
[रिचार्ज @३०, आउट गोइङ्ग काल् १८०० सेकेन्ड्स फ्री]
एस. एम. एस. यसरी नै तिम्रो साइकोलोजी
जाँचिरहन्छ। गाउँलाई ठगिरहन्छ। 'लाइफ्टाइम व्यालिडिटी'
इनकामिङ्ग काल्मा दिएर। कस्टामर केयर जगा-जगा
राखिएको छ। गाउँलाई चेक हिर्काउन।
गाउँपनि आतिएको छ। काल्ब्याक गर्नलाई
काम्पनीको चतुरे मिस्डकाल्मा अजानिदो पाराले। तर ब्यालेन्स
सिद्धिएको खबर आउँछ मोबाइलमै>>>सारी यू ह्याभ इनसाफिस्यान्ट ब्यालेन्स,
टु म्याक दिस काल् यू शुड रिजार्ज फार्स्ट, आप के आकाउन्ट मे अपर्याप्त ब्यालेन्स के कारण,
कृपया काल् कर्ने से पहेले आप्ना आकाउन्ट रिचार्ज किजिए<<<
मुर्मुरिन्छ गाउँ, हिजैमात्र फुल् टाक्टाइम हालेको
कसरी पैसा सकियो? कस्टामर केयरलाई डाइल गर्छ....
प्लिज रिचेक् द नम्बर... मोबाइल वाइस् काल्ले आग्र गर्छ
झन् फत्फताउँछ, गाउँ... साला चोर काम्पनी... रिसमा भनिपठाउँछ।
बल्ला-बल्ला लाग्यो काल्....
वेलकम टू द वोडाफोन् कस्टामर केयर सर्भिस्
टू टाक् इन इङ्गलिश डाइल 1, टू टाक् इन हिन्दी डाइल 2,
टू टाक् इन बाङ्गला डाइल 3... यस्तै-यस्तै भनेर झन् गाउँको दिमाग चाट्छ।
काम्पनीलाई यस्तो सबै थाहा भएको....
सुङ्गुरलाई चारो दिँदा, गाईलाई घाँस हाल्दा
खेतालाहरूसँग बारीमा काम गर्दासमेत मोबाइल बोक्छ भन्ने कुरा।
गजक्क छ गाउँ, अलिक फुर्ती पनि चड़ेको छ। मोबाइल हातमा लिएर।
कालरट्युन् सुनाउनलाई कसैको काल् पर्खिरहेको छ, तर थाहा छैन
गाउँलाई, कालरट्युन्ले व्यालेन्स खाएको।
काम्पनी, टाक्टाइम र मेरो गाउँको धन्धा
साह्रै गजबको छ, राजा, प्रजा र चम्चाजस्तो
लड़ाइरहेको, लड़िरहेको र चाप्लुसी गरिरहेको
कता-कताबाट मुनाफाहरू...।